|

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको आकाशेपुुलमा लिफ्ट जडान गर्ने भएको छ। महानगरपालिकाले अपांग तथा वृद्धवृद्धामैत्री पुल बनाउन उक्त पुलमा लिफ्ट जडान गर्न लागेको हो।

महानगरपालिको सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाका अनुसार लिफ्ट जडानको लागि सडक विभागले पनि स्वीकृति दिने भएको छ। ‘नयाँ बानेश्वरको आकाशेपुलमा लिफ्ट हाल्ने हाम्रो योजना छ, यसका लागि सडक विभागसँग पनि छलफल गरेका थियौँ। विभागले स्वीकृति पनि दिने भएको छ,’ उनले भने।

निर्माण कहिले थालिन्छ भन्ने प्रश्नमा अहिले डिजाइनलगायत प्राविधिक कुराहरूमा छलफल भइरहेको जानकारी उनले दिए।

‘अब निर्माण गर्नलाई डिजाइन बनाउनुपर्छ,’ उनले भने, ‘डिजाइन बनेपछि काम सुरु हुन्छ।’ उनले लागतको विषयमा पहिला डिजाइन बनाइसकेपछि मात्रै थाहा हुने जानकारी दिए। 

महानगरपालिकाले चाबहिल, विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको अगाडि र माइतीघर मण्डलामा पनि आकाशेपुल बनाएको छ। तर नयाँ बानेश्वरबाहेक अन्य ठाउँहरुमा ठाउँ नभएकाले लिफ्ट जडान नगरिने उनको भनाइ छ। 

‘अरु ठाउँको आकाशेपुलमा स्पेस नै छैन, जडान गर्ने ठाउँ भएको भनेको नयाँ बानेश्वरमा मात्रै हो,’ उनले भने। लिफ्ट बनाएपछि अपांग, बालबालिका र वृद्धवृद्धाहरुलाई सहज हुने उनको भनाइ छ।

उक्त पुल २०७८ जेठमा निर्माण सम्पन्न भएको थियो। आकाशेपुल निर्माण गर्न सडक डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक/पवन/जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौताअनुसार ४ करोड रुपैयाँमा निर्माण थालिएको यो आकाशेपुल २०७६ पुस मसान्तसम्ममा ठडिइसक्नुपर्ने भए पनि समयमा काम सकिएको थिएन। 

आर्क ब्रिज रंगियो, टिकटक बनाउनेको भीड

काठमाडौं महानगरपालिकाले बिजुलीबजारमा नयाँ प्रविधि प्रयोग गरी निर्माण गरेको पुल (आर्क एण्ड ब्रिज)मा पनि रङ्गिन बत्ती जडान गरेको छ। राति झिलिमिली देखिने हुँदा सहरी सौन्दर्य थप बढाएको छ।

महानगरपालिकाले सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भागमा सुन्दर बत्ती धेरै वटा जडान गरेको छ।

बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिएको छ। राति झिलिमिली देखिएकाले पछिल्लो समय त्यस ठाउँमा टिकटक बनाउनेको भीड नै बढेको छ।

महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गत असारमै उक्त पुलमा विभिन्न थरिका फूल र बिरुवाहरू रोपेका गमलाहरू राखेको थियो। महानगरपालिकाले बिजुलीबजार, प्रदर्शनीमार्ग र शंकरदेव क्षेत्रका सडकमा राखिएका गमलाहरूले सडकको सौन्दर्य बढाएको छ।

कुसुन्तीमा लिफ्ट र शौचालयसहितको पुल बन्दै 

ललितपुर महानगरपालिकाले पनि कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशेपुल निर्माण गर्ने योजना बनाएको छ।

महानगरपालिका पूर्वाधार विकास महाशाखाका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले सडक विभागबाट स्वीकृति पाएर निर्माण प्रकृया अगाडि बढाइसकेको जानकारी दिए।

उनका अनुसार आकाशेपुल अपांगमैत्री हुनेछ भने शौचालयको पनि व्यवस्था गरिनेछ। यसको लागत ४ करोड अनुमान गरिएको उनले बताए। उनले निर्माणको लागि दशैंअगाडि नै टेण्डर आह्वान गर्ने पनि बताए।

उनका अनुसार ललितपुर महानगरपालिकाले एक वर्षअगाडि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको आकाशेपुल निर्माण गर्न सहमति माग्दै पत्राचार गरेको थियो। ‘यो पहिलादेखिकै हाम्रो प्रोजेक्ट हो, अहिले आएर बल्ल निर्माण गर्ने बाटो खुलेको छ,’ उनले भने।

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.