|

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो। आजको पेशी न्यायाधीशहरु कुमार चुडाल, नहकुल सुवेदी र सपना मल्ल प्रधानको इजलासमा  तोकिएको छ। पूर्ण इजलासमा एउटा मात्र मुद्दा रहेको छ। 

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

सभामुखको भूमिकामा रहेका व्यक्तिले बराबर भएको अवस्थामा बाहेक अन्य अवस्थामा मतदान गर्न नमिल्ने दाबी कार्कीले रिटमा गरेका छन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ४६ सांसदमात्र हुने भएपछि ४७ सदस्य पुर्याउन प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्‍राइल मन्सुरीले मतदान गरेका थिए।  भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।

विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान भइरहेका बेला मन्सुरीले सभाको अध्यक्षता गरेका थिए।  मतदान र मत सच्याउने समय पनि सकिएपछि मन्सुरीले सभाको अध्यक्षता गर्न तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए।

त्यही मतका आधारमा मुख्यमन्त्रीले ९३ सदस्यीय प्रदेशसभामा बहुमत अर्थात ४७ जनाको समर्थन पाएको घोषणा गरिएको थियो। 

रिटमा गत भदौ ७ गते प्रारम्भिक सुनुवाइ गर्दै अदालतले प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले विश्वासको मत दिनु संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र सर्वोच्चले यसअघि प्रतिपादन गरेको सिद्धान्त विपरीत भएको ठहर गरेको थियो।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिटको अन्तिम टुंगो नलागुन्जेलसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश पनि दिएको थियो। जसका कारण अहिले कोशी सरकारमा बजेट होलिडे छ। 

एमाले सरकारले ल्याएको बजेट अध्यादेश निश्कृय भएको सर्वोच्चको आदेशका कारण अर्को अध्यादेश ल्याउन नपाउँदा सरकार बजेट शून्यतामा गएको हो। सर्वोच्चले दिने फैसलाले थापा नेतृत्वको सरकारको भविष्य निर्धारण गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.