|

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्साबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन्।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले संसद्‌बाट पारित भएको लिपुलेक‚ लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्सा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताएका हुन्। उनले अन्तरराष्ट्रिय समुदायलाई नेपालको नक्साबारे जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै त्यसो गरे, नगरेको सम्बन्धमा सरकारलाई प्रश्न समेत गरे।

उनले यदि अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रूपमा, कसरी गराइएको हो तत्कालीन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए।

उनले भने, ‘नेपाल सरकारका तर्फबाट पूर्वपरराष्ट्रमन्त्रीले जानकारी गराउनुभएको हो? हो भने परराष्ट्र मन्त्रालयबाट कसै न कसैको उपस्थिति भएको हुनुपर्छ। त्यसको रेकर्ड राख्ने गरेको चलन छ कि छैन? के के कुरा भयो भन्ने राखिन्छ कि राखिँदैन? मौखिक जानकारी गराएको हो कि होइन भन्ने वर्तमान परराष्ट्रमन्त्रीले सोध्नुभएको भए राम्रो हुन्थ्यो। त्यो वेला चिठी पठाउने काम भयो, भएन? यस्ता कमजोरी भएका हुन् भने आउने दिनमा त्यस्ता कमजोरी नदोहोरिऊन्।’

उनले परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्‍याउन नसकेको बताए। अध्यक्ष नेपालले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीको समीक्षा गर्दै आगामी दिनमा दोहोरिन दिन नहुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.