|

ललितपुर : १९ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता आउन अब दुई साता बाँकी छ। आगामी असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङझाउमा एसियाली खेलकुदको महाकुम्भ मेला लाग्दैछ।

भारतबाट शुरु भएको एसियाली खेलकुद केही दिनमा चीनमा हुन गइरहेको छ। करिब दुई सातासम्म चल्ने प्रतियोगितामा एसियाका ४५ देशका १२ हजार ५०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। विभिन्न ४० खेलका ४८२ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

२०२२ मै हुने भनिए पनि कोभिड–१९ का कारण  एक वर्ष पछि १९ औँ एसियाड चीनमा हुन लागेको हो। 

छिमेकी राष्ट्र भारतबाट बिजारोपण भएको एसियाली खेलकुद प्रतियोगिताको इतिहास ७२ वर्ष पुरानो भइसक्यो। शुरुवाती समयमा केही सिमित देशले मात्र भाग लिने एसियाड अहिले विस्तार भएर एसियाका सबैजसो राष्ट्र यो महाकुम्भमा होमिने गरेका छन्। 

हाङझाउ एसियाडसँगै चीनले तेस्रो पटक एसियाली खेलकुद आयोजनाको बागडोर सम्हाल्दैछ। यसअघि सन् १९९० मा चीनको बेइजिङ र सन्  २०१० मा चीनको ग्वान्झाओमा एसियाड सम्पन्न भइसकेको छ। 

सबैभन्दा धेरैपटक थाइल्याण्डको बैंककमा एसियाली खेलकुद आयोजना भएको छ। त्यहाँ चारपटक प्रतियोगिता सम्पन्न भइसकेको छ। चीनसरह दक्षिण कोरियाले पनि ३ पटक एसियाली खेलकुद आयोजना गरेको छ।

७२ वर्ष लामो एसियाली खेलकुदको इतिहासमा दुई देश चीन र जापानले धेरै पदक जितेका छन्। शुरुका आठ संस्करणमा जापानले सबैभन्दा बढी स्वर्ण पदक जितेको छ भने त्यसपछिका नवौँ एसियाडदेखि १८ औँ एसियाडसम्म चीनकै दबदबा कायमै छ। 

१ देखि १८औँ एसियाडमा  चीनले अहिलेसम्म एक हजार ४७३ स्वर्ण, ९९४ रजत र ७२० कास्यसहित तीन हजार १८७ पदक जितेको छ। यस्तै जापानले एक हजार ३२ स्वर्ण, एक हजार ३७ रजत र ९८५ कास्यसहित तीन हजार ५५ पदक जितेको छ।

त्यसपछि तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ७४५ स्वर्ण, ६६३ रजत र ८२७ कास्यसहित दुई हजार २३५ पदक जितेको छ। त्यसपछि धेरै पदक जित्नेमा इरान १७९ स्वर्ण, भारत र  काजखस्तानले समान १५५ स्वर्ण  जित्दा, थाइल्याण्डले १३२ स्वर्ण, उत्तर कोरियाले ११० स्वर्ण पदक जितेको छ।

यसैगरी चाइनिज ताइपेईले ९९ स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इण्डोनेसियाले ९१ स्वर्ण पदक जितेको छ। सागमा प्रतिस्पर्धा गर्ने राष्ट्र पाकिस्तानले अहिलेसम्म ४४ स्वर्ण पदक जित्दा श्रीलंकाले ११ स्वर्ण जितेको छ।

बंगलादेशले समेत १ स्वर्ण जितिसक्दा अफगानिस्तान ४ रजत भन्दा माथि जान सकेको छैन। 

दिल्ली एसियाड 

ओलम्पिक्स गेम हरेक ४–४ वर्षमा भइरहँदा आफ्नो छुट्टै खेलकुद महोत्सव गर्ने उद्देश्यसहित सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो पटक एसियाली खेलकुद आयोजना भयो।

भारतीय राष्ट्रपति राजेन्द्रप्रसादले उद्घाटन गरेको पहिलो एसियाली खेलकुदमा ११ राष्ट्रका ४८९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

६ खेलका ५७ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो। यसमा २४ स्वर्ण पदकसहित जापान पहिलो भयो। यो खेलकुदमा  जापानले सर्वाधिक २४ स्वर्ण जित्दा आयोजक भारत १५ स्वर्णसहित दोस्रो भएको थियो।

मनिला एसियाड 

दोस्रो संस्करणको एसियन गेम्स १९५४ मे १ देखि ९ सम्म फिलिपिन्सको मनिलामा भएको थियो। दोस्रो एसियाडमा आएर १८ देशले भाग लिँदा ९७० खेलाडीले प्रतिस्पर्धा गरे।

त्यहाँका राष्ट्रपति रामोन मागसेसेले मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा उदघाटन गरेको यो संस्करणमा ८ खेलका ७६ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो।

२२९ पदक वितरण गरिएको एसियाडमा जापानले सर्वाधिक ३८ स्वर्ण पदक जितेको थियो भने आयोजक फिलिपिन्स १८ स्वर्णसहित दोस्रो भयो।

टोकियो एसियाड 

तेस्रो संस्करणको एसियाली खेलकुद सन् १९५८ मे २४ देखि जुन १ सम्म जापानको राजधानी टोकियोमा आयोजना भयो।

सो एसियाडको इम्पेरियल सोवाले ओलम्पिक स्टेडियममा उद्घाटन गरेका थिए। १६ देशका एक हजार ८२० खेलाडीले भाग लिएको एसियाली खेलकुदमा १३ खेल समावेश थियो।

९७ इभेन्ट्समा कुल ३५० पदक वितरण भएको थियो। आयोजक जापान सर्वाधिक ६७ स्वर्ण जित्दै लगातार तेस्रो पटक पहिलो स्थानमा रह्यो।

जाकार्ता एसियाड 
सन् १९६२ अगष्ट २४ देखि सेप्टेम्वर ४ सम्म इण्डोनेसियाको जाकार्तामा चौथो संस्करणको एसियाली खेलकुद सम्पन्न भयो।

१३ खेलका ८८ इभेन्ट्समा प्रतिस्पर्धा थियो। ३७२ पदक वितरण गरिएको एसियाडलाई राष्ट्रपति सुकार्नोले बुङ कामो स्टेडियममा उद्घाटन गरेका थिए।

यस पटक १७ देशका एक हजार ४६० खेलाडी सहभागी थिए। यो संस्करणमा जापानले सर्वाधिक ७३ स्वर्ण जित्दै लगातार चौथो पटक पहिलो स्थान ओगट्यो। दोस्रो भएको आयोजक इन्डोनेसियाले ११ स्वर्ण जितेको थियो।

थाइल्याण्ड एसियाड 

सन् १९६६ डिसेम्बर ९ देखि २० सम्म बैंककमा पाँचौँ संस्करणको एसियाली खेलकुद भएको थियो।

थाइ राजा भुमिबोल अदुलभाजेजले सुफाचालासी स्टेडियममा उद्घाटन गरेको एसियाडमा १८ देशका १९४५ खेलाडी सहभागी थिए।

१४ खेल समावेश प्रतियोगितामा ४६० पदक वितरण भएको थियो। जापान ७८ स्वर्ण जित्दै लगातार पाँचौँपटक पहिलो स्थानमा रह्यो। दक्षिण कोरिया १२ स्वर्णसहित दोस्रो हुँदा १२ स्वर्ण नै जितेको आयोजक थाइल्याण्ड तेस्रो भयो।

छैटौँ एसियाड बैंकक 

एसियाली खेलकुदको इतिहासमा सन् १९७० मा आएर दुई पटक एसियाड आयोजनाको जिम्मा पहिलोपल्ट थाइल्याण्डले पायो।

पाँचौँ संस्करण आयोजना गरेकै शहर बैंककमा छैटौँ संस्करण पनि आयोजना भएको थियो। 

१५ खेल समावेश एसियाडमा ४२३ पदक वितरण गरिएको थियो। यस्तै १८ देशका २४०० खेलाडी सहाभागि एसियाडको उद्घाटन थाइ राजा भुमिबलले गरेका थिए।

यो एसियाडमा फेरी एक पल्ट जापान शिर्ष स्थानमा रह्यो। जापान ७४ स्वर्ण जित्दै शीर्ष स्थानमा रह्यो।

तेहरानमा सातौँ एसियाली खेलकुद

सातौँ एसियाली खेलकुद प्रतियोगिता सन् १९७४ सेप्टेम्बर १ देखि १६ सम्म तेहरानमा आयोजना भयो।  

२५ देशका ३ हजार १० खेलाडीले भाग लिएको एसियाडलाई इरानी लिडर शाह श्याम मोहम्मद रेजाले अर्यामेहर स्टेडियममा उघाटन गरे।

१८ खेल समावेश यो एसियाडमा  ६०९ पदक वितरण गरिएको थियो। जापान ७५ स्वर्ण जित्दै पहिलो भयो। ३६ स्वर्ण जितेको आयोजक इरान दोस्रो स्थानमा रह्यो।

बैंकक एसियाड 

आठौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता पुन: थाइल्याण्डको बैंककमै आयोजना भयो।

१९७८ डिसेम्बर ९ देखि २० सम्म आयोजना भएको यो एसियाड थाइल्याण्डका लागि तेस्रो पटक थियो। शुरुमा सिंगापुरले आयोजना गर्ने भनिए पनि आर्थिक कारण तेर्साउँदै पन्छिएपछि बैंकक फेरि आयोजक बन्यो।

यो एसियाडको थाइ नरेश भुमिबोलले नै उद्घाटन गरे। १९ खेल समावेश यस संस्करणमा २५ देशका तीन हजार ८४२ खेलाडीले सहभागिता जनाएका थिए।

यस्तै ६२६ पदक वितरण गरिएको थियो। जापान ७० स्वर्ण जित्दै शीर्ष स्थानमै रह्यो। जापान अन्तिम पटक एसियाली खेलकुद शीर्ष स्थानमा रहेको यही संस्करण हो। 

दिल्लीमै दाोहोरियो                                           

३१ वर्षपछि एसियाडको नवौँ संस्करण भारतमा आयोजना भयो। सन् १९८२ नोभेम्बर १९ देखि डिसेम्बर ४ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भएको यही एसियाली खेलकुदबाट पहिलो पटक एसियन ओलम्पिक काउन्सिल (ओसीए) को मातहतमा रहेर प्रतियोगिता चलेको थियो।

२१ खेल समावेश दिल्ली एसियाडमा ३३ राष्ट्रका कुल चारहजार ५९५ खेलाडीले पदकका लागि परीक्षा थिए। भारतीय राष्ट्रपति जियानी जैल सिंहले जवाहरलाल नेहरु रंगशालामा एसियाडको उद्घाटन गरेका थिए।

पदक तालिकामा जापान आठ संस्करणसम्मको बलियो इतिहासलाई भंग गर्दै चीन पदक तालिकाको पहिलो स्थानमा रह्यो। उसले ६१ स्वर्णसहित आफूलाई पहिलो स्थानमा उभ्यायो। ५७ स्वर्ण जितेका जापान दोस्रो स्थानमा झर्‍यो।

सियोल एसियाली खेलकुद 

१० औँ संस्करणको एसियाली खेलकुद सन् १९८६ को सेप्टेम्बर २० देखि अक्टोबर ५ सम्म दक्षिण कोरियाको सियोलमा भयो।

२७ देशका  ४ हजार ८३९ खेलाडीले  भाग लिएको एसियाडमा २४ खेल समावेश भएको थियो।  

८४८  पदक वितरण भएको एसियाडलाई दक्षिण कोरियाका राष्ट्रपति चुन दो ह्वाङले सियोलस्थित ओलम्पिक स्टेडियममा उद्घाटन गरेका थिए।

आयोजक कोरिया मात्र १ स्वर्णले पछि पर्दै दोस्रो भयो।  एक स्वर्ण बढी जितेको चीनले ९४ स्वर्ण जित्दा कोरियाले ९३ स्वर्ण ल्याएको थियो। 

बेइजिङ एसियाड 
११औं एसियाली खेलकुद सेप्टेम्बर २२ देखि अक्टोबर ७ सम्म चीनको बेइजिङमा आयोजना भयो। कुल २७ खेल समावेश एसियाडको बेइजिङको वर्कर्स स्टेडियममा उद्घाटन भएको थियो।

चिनियाँ राष्ट्रपति थाङ साङकुनले उद्घाटन गरेको प्रतियोगितामा ३६ देशका ६ हजार ११२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। आयोजक चीन सर्वाधिक १ सय ८३ स्वर्ण जित्दै लगातार तेस्रो पटक शीर्ष स्थानमा रह्यो।

हिरोसिमा एसियाड 

१२औँ एसियाली खेलकुद प्रतियोगिता सन् १९९४ को  अक्टोबर २ देखि १६ सम्म जापानको हिरोसिमामा आयोजना भयो।

सन् १९४५ को दोस्रो विश्वयुद्धमा यो  आयोजक सहर हिरोसिमालाई ध्वस्त पारिएको थियो। जापानका इम्पेरर आकिहितोेले यो एसियाडको उद्घाटन गरे।

४२ देशका ६ हजार ८२८ खेलाडीले भाग लिएको एसियाडमा ३४ खेल समावेश थियो।

कुल एक हजार ७९ पदक वितरण गरिएको यो प्रतियोगितामा चीन १२६ स्वर्णसहित शीर्ष स्थानमा रह्यो। 

१३ औँ संस्करण बैंककमा 

१३औं संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बागडोर फेरि एक पटक थाइल्याण्डले नै लियो। योसँगै थाइल्याण्डले सर्वाधिक चार पटक एसियाड आयोजना गर्ने पहिलो राष्ट्रको कीर्तिमान पनि बनायो।

१९९८ डिसेम्बर ६ देखि २० सम्म बैंककमा आयोजना भएको एसियाडको उद्घाटन थाइ नरेश भुमिबोलले गरे। उनले रामामांगालमा नेशनल स्टेडियममा उद्घाटन गरेका थिए।

४१ देशका ६ हजार ५५४ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ३६ खेल समावेश थियो चीन १२९ स्वर्ण जित्दै शीर्ष स्थानमा रह्यो।

बुसान एसियाड

१४औँ संस्करणको एसियाली खेलकुद सन् २००२ सेप्टेम्वर २९ देखि अक्टोबर १४ सम्म दक्षिण कोरियाको बुसान आयोजना भयो।

दक्षिण कोरियामा सियोल पछि बुसानमा एसियाड भएको थियो। ३८ खेलको ४१९ इभेन्ट समावेश बुसान एसियाडमा ४४ देशका सात हजार ७११ खेलाडीले सहभागिता जनाएका थिए।

१३ सय ५० पदक वितरण गरिएको प्रतियोगितामा चीनले सर्वाधिक १५० स्वर्ण आफ्नो पोल्टामा पार्‍यो। एसियाडको उद्घाटन कोरियाली राष्ट्रपति किम देई जङले गरेका थिए। 


दोहा एसियाड 

१५औं एसियाली खेलकुद प्रतियोगिता सन् २००६को डिसेम्बर १ देखि १६ सम्म कतारको दोहामा आयोजना भएको थियो।

दोहा एसियाडमा पहिलोपटक एसियाका सबै ४५ वटै देशले सहभागिता जनाएका थिए।​ कीर्तिमानी ९ हजार ५२० खेलाडी सहभागी एसियाली प्रतियोगितामा ३९ खेल समावेश थियो।  १३ सय ९३ पदक वितरण गरिएको थियो। चीनले बलियो दाबेदारी प्रस्तुत गर्दै १६५ स्वर्णसहित पहिलो भयो।

ग्वाङझाउ एसियाड

१६औं एसियाली खेलकुद प्रतियोगिता चीनको ग्वाङझाउमा सन् २०१० नोभेम्बर २ देखि ११ सम्म भएको थियो। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वेन जियावाओले ग्वाङझाउ ओलम्पिक स्टेडियममा गरे।

४२ खेल समावेश एसियाडमा १५ सय ७७ पदक वितरण भएको थियो। जसमा ४५ देशका ९ हजार ७०४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। आयोजक चीन सर्वाधिक १९९ स्वर्ण जित्दै पहिलो भएको थियो।

इन्चोन एसियाड 

१७औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता सन् २०१४ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म दक्षिण कोरियाको इन्चोनमा भएको थियो।

इन्चोन एसियाडमा ४५ देशका ९ हजार ५०१ खेलाडीले सहभागिता जनाएका थिए। राष्ट्रपति पार्क जियोन हिले एसियाड स्टेडियममा उद्घाटन गरेका थिए।

३६ खेल समावेश यो एसियाडमा एक हजार ४५४ पदक वितरण गरियो। चीन १५१ स्वर्ण जितेर १७औँ एसियन गेम्सको शीर्ष स्थानमा रहेको थियो।

जाकार्ता/पालेम्बुङ एसियाड 

१८औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियाको राजधानी जाकार्ता र अर्को शहर पालेम्बुङमा  आयोजना भएको थियो।

सो एसियाडको उद्घाटन त्यहाँका राष्ट्रपति जोको विडोमेले  गरेका थिए। ४० खेलका कुल ४६५ इभेन्ट समावेश एसियाडमा चीनले सर्वाधिक १३२ स्वर्ण जितेर पहिलो स्थान ओगट्यो। जापान र दक्षिण कोरिया क्रमशः दोस्रो र तेस्रो भए भने आयोजक इण्डोनेसिया ३१ स्वर्ण जितेर चौथौ भयो। 

एजेन्सीको सहयोगमा 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.