|

काठमाडौं : कालिकोटवासीले गाउँमाथिको आकाशमा हवाईजहाज उडेको देख्न नपाएको ३८ वर्ष भयो। 

जहाज आउला भनेर बाटो हेर्दाहेर्दै कति बुढा भए त कतिले त्यहाँबाट नभएर काठमाडौंबाट जहाज नै चढेर देशै छाडेर विदेशिए। तर करिब चार दशकयता कालिकोटको आकाशमा कुनै जहाज उडेको छैन। 

कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थलको निर्माण वि.सं २०४२ सालमा शुरु भएको हो। ३८ वर्ष लगाएर विमानस्थल त बन्यो तर धावनमार्गमा अहिलेसम्म कुनै पनि हवाईजहाज उत्रिएको छैन। 

सडक सञ्जाल पनि अति विकट रहेको कालिकोटका बासिन्दा विमानस्थलमा उडानसमेत सुरु नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यतामा अझै छन्। 

उक्त विमानस्थल निर्माणका क्रममा ३६ जना कामदारको एउटै चिहान बनेको थियो। विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोपमा सेनाले आक्रमण गरेको थियो। सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाए। उनीहरू सबैको चिहानमाथि यो विमानस्थल बनेको छ। 

भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाई सेवा एकमात्र भरपर्दो विकल्प हो। तर हवाई उडान सुरु नहुँदा स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन्। निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसके पनि नियमित उडान भने हालसम्म हुन सकेको छैन। 

हिमाली जिल्ला मनाङमा एक दशकअघि बनेको विमानस्थल विश्वकै अग्लो स्थानमा अवस्थितमध्ये एक मानिन्छ। समुद्री सतहबाट ११ हजार फिट उचाइमा रहेको उक्त विमानस्थलको ६ सय ५० मिटर लामो धावनमार्गले जहाजको टेकअफ र ल्याण्डिङ कुरेको वर्षौँ भयो। 

तर मनाङ विमानस्थलको धावनमार्गले हालसम्म हातको औंलामा गन्न सकिने गरि मात्रै विमानलाई छुने मौका पायो। नेपालको पर्यटकीय स्थलको नाममा चर्चा पाएको मनाङले विमानस्थल पाएको त वर्षौं भयो तर विमान अवतरण र उडान नहुँदा विमानस्थल घाँसे मैदानमा परिणत भएको छ। 

यी दुई उदाहरण मात्रै हो। देशको अधिकांश दुर्गम क्षेत्रको विमानस्थलहरूको अवस्था यस्तै छ। विमानस्थल भए पनि विमान नउड्दा दुर्गमका बासिन्दा आकाशतिर हेर्दै पैदल हिँड्न बाध्य छन्। 

वर्षायाममा बाढी र पहिरोले सडक बिग्रने र विमानस्थलमा पनि विमान नआउने समस्याले गर्दा दुर्गमका बासिन्दा समयमा अस्पतालसम्म पुग्न सक्दैनन्। जसले गर्दा बर्सेनि कैयौंको ज्यानसमेत जाने गरेको छ। 

२१ विमानस्थल अलपत्र

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशमा कुल ५५ वटा विमानस्थल छन् तर तीमध्ये हाल ३४ विमानस्थल नियमित सञ्चालनमा छ भने २१ विमानस्थल सञ्चालनमा छैन। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सञ्चालनमा नआएर प्रयोगविहीन रहेका विमानस्थलमा लामीडाँडा विमानस्थल, रुम्जाटार विमानस्थल, कांगेलडाँडा विमानस्थल, रुकुम चौरजहारी विमानस्थल, मेघौली विमानस्थल, डोल्पा मसिने चौर विमानस्थल, डोटी विमानस्थल, बैतडी विमानस्थल, महेन्द्रनगर विमानस्थल र दार्चुला विमानस्थल रहेका छन्। 

त्यसैगरी मनाङ विमानस्थल, बलेवा विमानस्थल, जिरी विमानस्थल, स्याङबोचे विमानस्थल, ढोरपाटन विमानस्थल, टीकापुर विमानस्थल र पालुङटार विमानस्थल पनि बर्सौंदेखि ठप्प छन्। 

बाग्लुङ विमानस्थल, लाङटाङ विमानस्थल, रोल्पा विमानस्थल, खिजी चन्द्रेश्वरी विमानस्थल र गोरखा विमानस्थल पनि सञ्चालन नहुँदा गौचरनमा परिणत भएका छन्।  

‘दुर्गममा उडान गर्न उपयुक्त जहाज नै छैनन्’

प्राधिकरणका प्रवक्ता निरौला पर्याप्त र उपयुक्त हवाईजहाज नहुँदा दुर्गममा उडान हुन नसकेको बताउँछन्। 

दुर्गममा उडान गर्न नेपालमै छुट्टै किसिमको हवाई व्यवस्था छ तर पर्याप्त संख्यामा हवाईजहाज नहुँदा नियमित उडान हुन सकेको छैन। 

निरौलाका अनुसार दुर्गम जिल्लामा रहेका विमानस्थल ५० वर्षभन्दा पुराना छन्। त्यतिबेला नेपालमा दुर्गम जिल्लाका ती विमानस्थलमा अवतरण र उडान गर्न उपयुक्त हुने करिब ११ वटा हवाईजहाज थिए। तर हाल नेपालमा त्यस्ता हवाईजहाज ८ वटा मात्रै छन्। 

हवाईजहाजकै अभावका कारण दुर्गम जिल्लामा नियमित उडान गर्न नसकिएको निरौलाले बताए। उनले केही विमानस्थलमा उडान गर्न मिल्ने हवाईजहाज नै नभएको समेत बताए। 

नेपालको जिरी विमानस्थल, स्याङबोचे र ढोरपाटन विमानस्थलको धावनमार्ग साढे २ सयदेखि ३ सय मिटरको मात्रै छ। सामान्यतया हाल नेपालमा भएको विमान उडानको लागि ४ सयभन्दा धेरै मिटरको धावनमार्ग चाहिन्छ।

तर ती विमानस्थलको धावनमार्ग छोटो भएको र ती धावनमार्गमा सञ्चालन गर्ने विमान अभाव रहेकोले उडान गर्न सम्भव नरहेको निरौलाले बताए। 

‘जिरी,स्याङबोचे र ढोरपाटन विमानस्थलको धावनमार्ग सानो छ। नेपालमा साना धावनमार्गमा उतार्न र उडाउन सकिने विमान नै छैनन्’, निरौलाले भने।

उनले टीकापुर विमानस्थल र पालुङटार विमानस्थलको स्तरोन्नति नै गर्नुपर्ने अवस्था भइसकेको बताए। ती विमानस्थलमा उडान नभएको लामो समय भइसकेकोले स्तरोन्नति नगरी पुनः उडान सम्भव नरहेको उनको भनाई छ।

हवाईजहाजको अभावसँगै मौसमका कारण पनि दुर्गममा नियमित उडान सम्भव नभएको उनको भनाई छ। नेपालका दुर्गम जिल्लाहरुको मौसम वर्षामा सामान्यतः सधैँ खराब नै हुने हुँदा उडान सम्भव नहुने गरेको उनले बताए। 

नेपालका सबै दुर्गम जिल्लाको विमानस्थलमा नियमित उडान गर्न २० वटा विमान आवश्यक रहेको निरौलाले जानकारी दिए। उनले प्राधिकरणले सरकारलाई दुर्गममा उड्ने विमान खरिद गरेर नियमित उडान गर्न पटक पटक अनुरोध गरे पनि सरकारले नसुनेको बताए। 

‘नेपालको दुर्गम जिल्लाको विमानस्थलमा नियमित उडान गर्न करिब २० वटा विमान चाहिन्छ तर हामीसँग ८ वटा मात्रै छ। प्लेनको अभावको कारण नियमित उडान हुने स्थानमा पनि कतिबेला हवाईजहाज उड्छ भन्ने टुंगो नै हुँदैन’, उनले भने। 

सरकारले नै विमान खरिद गर्न चासो नदिँदा दुर्गम जिल्लामा विमानस्थल भए पनि उडान हुन सकेको छैन। प्राधिकरणले निजी क्षेत्रलाई पनि विमान खरिद गरी दुर्गममा उडान गर्न प्रोत्साहन गर्ने योजना बनाएको उनले बताए। 

उनका अनुसार दुर्गम जिल्लामा नियमित उडान गर्दा यात्रु अपुग हुने र घाटामा जाने भन्दै निजी क्षेत्रले उडान गर्न मानेका छैनन्। त्यसैले प्राधिकरणले त्यस्तो अवस्था सिर्जना हुन नदिन अनुदान दिने योजनासमेत बनाएको छ। जसका लागि प्राधिकरणले नियमावली नै बनाएको निरौलाले बताए। 

अन्योलमा निजगढ विमानस्थल 

३ दशकदेखि चर्चा चल्दै आएको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण अझै अन्योलमा छ। 

नेपालमा त्रिभुवन विमानस्थल एकमात्र अन्तरराष्ट्रिय विमानस्थल हो। एउटा मात्रै अन्तरराष्ट्रिय विमानस्थल अपुग भएको भन्दै ३ दशकअघि नै निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने चर्चा चले पनि सरकारले २०७१ चैत ३० गते  राजपत्रमा प्रकाशित गरेर वर्षेनि बजेट विनियोजन गर्दै आएको थियो। 

हालसम्म उक्त विमानस्थलका लागि सरकारले १ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। उक्त विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काट्नुपर्ने अवस्था छ। यसरी रुख काट्नु उपयुक्त नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो। 

सर्वोच्चको फैसलाले उक्त विमानस्थलको निर्माण गत वर्ष नै रोकेको थियो। उक्त विमानस्थल निर्माणका विषयमा नागरिक र राजनीतिक दलहरुको धारणा पनि विभाजित छ। यसले गर्दा विमानस्थल निर्माण हुने कि नहुने अझै अन्योल छ। 

प्राधिकरणका प्रवक्ता निरौला निजगढ विमानस्थल नेपालका लागि अपरिहार्य रहेको बताउँछन्। उक्त विमानस्थलका लागि चाहिने ११० बिघामध्ये ७० बिघा जग्गाको मुआब्जा वितरणसमेत भइसकेको छ।

तर विमानस्थल निर्माणको विषयमा सरकारबाट ठोस निर्णय नआउँदा प्राधिकरणले निजगढ विमानस्थललाई निर्माणाधीन विमानस्थलको योजनामा समेटेको छैन। 

निर्माणाधीन दुई विमानस्थल

प्राधिकरणका अनुसार हाल नेपालमा दुईवटा विमानस्थल निर्माणाधीन अवस्थामा छन्। 

उदयपुरको सगरमाथा विमानस्थल र अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणाधीन अवस्थामा रहेका छन्। यी दुवै विमानस्थल निर्माणका लागि विगत केही वर्षदेखि संघीय सरकारले बजेट विनियोजन गर्दै आएको थियो। 

तर चालू आर्थिक वर्षमा भने सरकारले यी विमानस्थलको लागि बजेट विनियोजन नगरेको प्रवक्ता निरौलाले बताए। सरकारले बजेट विनियोजन नगरे पनि प्राधिकरणले आफ्नै आन्तरिक स्रोतबाट विमानस्थल निर्माणलाई निरन्तरता दिइरहेको निरौलाले बताए। 

उनका अनुसार अर्घाभगवती विमानस्थल निर्माणको लागि रुख कटान सकिएर माटो पुर्ने काम भइरहेको छ भने सगरमाथा विमानस्थलको रुख कटान सकिने चरणमा छ। यी विमानस्थल निर्माणका लागि यो वर्ष प्राधिकरणले ३/३ करोड रुपैयाँ बजेट छुट्याएको छ। 

भएकै प्रयोगमा छैनन्, नयाँ थप्ने चटारो

नेपालमा स्थापना भएर पनि वर्षौँदेखि करिब दुई दर्जन विमानस्थल अलपत्र परेका छन्। ती विमानस्थल सञ्चालनका लागि आवश्यक विमान थप्ने र स्तरोन्नति गर्नेतर्फ सरकारको ध्यान छैन। 

तर नयाँ विमानस्थल थप्न भने सरकार र निजी क्षेत्रबाट प्रस्ताव आउने गरेको छ। भएका विमानस्थल प्रयोगविहीन भइरहँदा नयाँ विमानस्थल निर्माण गर्न प्राधिकरणमा प्रस्ताव आउने गरेका हुन्। 

प्रवक्ता निरौलाका अनुसार तेह्रथुम चुहानडाँडा, डडेल्धुरा र धनकुटालगायत स्थानमा नयाँ विमानस्थल बनाउन प्राधिकरणमा प्रस्ताव आएका छन्।

अलपत्र विमानस्थल सञ्चालनमा ल्याउने र नभएका ठाउँमा नयाँ विमानस्थल बनाउने अधिकांश राजनीतिक दलका नेताहरुको पुरानै चुनावी एजेण्डा हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.