मन्त्रालय भन्छ : गोठाटारमा भवन बनेपछि समस्या हट्छ

|

काठमाडौं : सरकारद्वारा सञ्चालित एकमात्रै वृद्धाश्रम हो‚ समाज कल्याण केन्द्र, वृद्धाश्रम। विसं १९३८ सालमा श्री ५ सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाकशाला रूपमा स्थापना भई सञ्चालित भएको थियो। २०३४ सालदेखि समाजकल्याण केन्द्र वृद्धाश्रम पशुपतिका नामले सञ्चालन हुँदै आएको छ।

त्यही वृद्धाश्रम अहिले कन्तबिजोग अवस्थामा सञ्चालित छन्। शुक्रबारथाहाखबरकर्मी पुग्दा वृद्धवृद्धा बाहिर बसिरहेका थिए। उनीहरू आफ्नो वासस्थानमा उडुसका कारण सधैं बस्न सक्दैनन्। ‘भित्र सुतौँ भने उडुसले बस्नै सकिँदैन, यी टोकेर घावै घाउ बनाइसक्यो, राति पनि मजाले सुत्न पाउँदैनौँ। त्यही बाहिरै डुलेर बस्नुपर्छ’, त्यहाँकी एक वृद्धाले समस्या सुनाइन्।

समाज कल्याण केन्द्र, वृद्धाश्रमका अनुसार विभिन्न जिल्लाका उक्त वृद्धाश्रममा अहिले ८० जना वृद्धवृद्धा बस्दै आएका छन्। उनीहरू अहिले सकसपूर्ण जीवन बिताइरहेका छन्। 

ज्येष्ठ नागरिकमैत्री छैन भवन 

कोही आफन्त नभएका व्यक्तिका लागि सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने हो तर भवन ज्येष्ठनागरिकमैत्री छैन। वृद्धावृद्धा साँघुरो ठाउँमा  बस्न बाध्य छन्। त्यही आश्रमबीचमा तीनवटा पञ्चदेवल मन्दिर छन्।

ती सबै मन्दिर २०७२ सालको भूकम्पले जीर्ण बनाएको छ। कुनै भत्किन लागेका छन्। तैपनि ठाउँ अभावले ज्यान जोखिम मोलेर त्यहीँ वरपर बस्न बाध्य छन् वृद्धवृद्धाहरू। सरकारले यसको व्यवस्थापनमा कहिले ध्यान दिएको पाइएन। ‘मन्दिर बनाउने भनेर यहाँ धेरै पटक नाप जाँच त गर्न आए तर जस्ताको त्यस्तै छ। यस्तैमा बस्नु परेको छ,कुन वेला भत्किएर लान्छ थाहा छैन’, अर्का वृद्ध पुरुषले भने।

वृद्धवृद्धा भन्छन् : प्रशस्त तरकारी खान पाउँदैनौँ

उक्त आश्रममा पर्याप्त मात्रामा तरकारीको व्यवस्था समेत नभएको त्यहाँ रहेका वृद्धवृद्धाको गुनासो छ। ‘खाना ठिकै छ तर थोरै तरकारी दिन्छन्, आज त सकिएछ, तरकारीसँग खान पनि पाइएन’, अर्की वृद्धाले सुनाइन्। कर्मचारीहरूले कहिलेकाहीँ हातपात गर्ने, हप्काइदप्काइ गर्ने गरेको समेत उनीहरूको गुनासो छ।

‘माया पनि गर्छन्, कहिलेकाहीँ केही महिला कर्मचारीले हातपात पनि गर्छन्, तैपनि सहेर बस्नुबाहेक हामी केही गर्न सक्दैनौँ’‚ ती महिलाले भनिन्। यसैगरी उनीहरू अर्को समस्या बाँदर आतंक पनि भोगिरहेका छन्। बस्दाबस्दै कतिपयलाई बाँदरले टोकेको समेत उनीहरूले सुनाए। 

बजेट अभावले उपचारमा समस्या

समाज कल्याण केन्द्र, वृद्धाश्रमका अनुसार उक्त आश्रममा २६ जनामा दम, ३३ जनामा उच्च रक्तचाप, २ जना किड्नीका बिरामी, ८ जनामा मधुमेह रोग, २५ जना हिँडडुल गर्न नसक्ने लगायतका रोग लागेको छ। उनीहरूका लागि नियमित स्वास्थ्योपचार गर्नुपर्छ।

तर बजेट अभावले स्वास्थ्य उपचारमा समस्या भएको समाज कल्याण केन्द्र, वृद्धाश्रमका सूचना अधिकारी हृदयराज उपाध्यायले जानकारी दिए। ‘यहाँ विभिन्न प्रकारका रोगका विरामीहरू छन्। उपचार गराउनैपर्छ। खानपानमा भन्दा पनि बढी खर्च उहाँहरूको स्वास्थ्योपचारमा लाग्छ। त्यसैले सरकारले छुट्याएको रकमले पुग्दैन’, उनले भने।

उनका अनुसार त्यहाँ १८ जना कर्मचारीहरू छन्। बिरामीको हेरचाहका लागि २ जना स्वास्थ्यकर्मी राखिएका छन्।

उनले अर्को समस्या भौतिक संरचनाकै रहेको जानकारी दिए। ‘२३० जना राख्ने क्षमता हो तर भूकम्पले यहाँका मन्दिर भवन जीर्ण बनाएको छ, शौचालय व्यवस्थापनमा समस्या छ तर खानपानमा भने समस्या छैन’, उनले भने।

उनका अनुसार सरकारले आव २०८०।०८१ को बजेटमा ३ करोड ७० लाख बजेट विनियोजन गरेको छ। यो रकमले वर्षभर पुग्दैन। खाजाको व्यवस्थापनबारे बारैपिच्छे कहिले खीर,चियाबिस्कुट लगायत फरक फरक खाजा दिँदै आएको छ। मासु भने महिनामा ३ दिन दिने गरेको छ। मासु नखाने ३ जना छन्। उनीहरूका लागि पनीरको व्यवस्था गरिएको छ।

उनले उडुसको समस्या भएकाले अहिले फलामको खाट जोडिदिएको जानकारी दिए। तैपनि लुगामा रहेको उडुसले दुःख दिइरहेको छ। यसअघि काठको खाट थियो। यी सबै हटाइएको छ। ‘बाँदर आतंक त छँदै छ, रातिको समयमा बढी दुःख दिन्छ। यसलाई रोक्ने विकल्प पनि छैन’, उनले भने। उनले तरकारीको समस्या विषयमा भने ठेक्कामार्फत ल्याउने गरेको र पर्याप्त मात्रामै दिने गरेको उनको दाबी छ। 

आयोगले देखाएका समस्या यस्ता छन्

राष्ट्रिय समावेशी आयोगले केही दिनअघि उक्त आश्रममा गरेको अवलोकन तथा अध्ययन, अनुसन्धान प्रतिवेदनले पनि वृद्धाश्रम तुलनात्मक रूपमा धेरै सुविधाबाट वञ्चित र संरचनात्मक हिसाब जस्तै भजन–कीर्तन गर्ने कक्ष, शौचालयको समस्या, अप्ठेरो भर्‍याङ, सुत्ने ठाउँमा घामको किरण पनि नझुल्कने समस्या रहेको देखाएको छ।

यसैगरी आँखीझ्यालबाट आउने बतास छेक्न रातीमा केवल एउटा पर्दाले छोप्ने, उडुस लाग्ने समस्या, राति कोपरामा दिसापिसाब गर्ने, सबै जनालाई एकै ठाउँमा सुत्ने व्यवस्था (निद्रा लाग्ने/नलाग्ने, मनोरोगी, सपनामा बोल्ने आदि) जस्तो दृश्य देखिएको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनमा भनिएको छ, ‘जुनसुकै वेला पनि आपत्‌कालीन समय पर्न सक्ने यस वृद्धाश्रममा आफ्नो एम्बुलेन्स सेवा नभएको, गाडीका लागि सवारी चालक नभएको समस्या पाइयो।’

त्यसैगरी आफन्त नभएका मात्र बस्ने वृद्धाश्रममा वृद्धभत्ता लिने समयमा भेट्न आउने, खाजा खुवाउन लग्ने र वृद्धभत्ता बुझेपछि त्यही आश्रममा ल्याएर छोड्ने जस्तो व्यवहार २४ जनाको देखिएका कारण यो समस्या न्यूनीकरण गर्न आगन्तुकलाई भेटघाट गर्न दिन कम गर्दै लगेको पाइएको प्रतिवेदनमा उल्लेख छ। समाज कल्याण केन्द्रका अनुसार हाल ४१ जनाले भत्ता बुझ्दै आएका छन्। अहिले स्थानीय तहमार्फत सिधै उनीहरूको खातामा भत्ता पठाउने गरेको छ।

​‘देशको राजधानीमा रहेको सरकारबाट सञ्चालित वृद्धाश्रमको स्थिति नाजुक रहेको र ज्येष्ठ नागरिकमैत्री नरहेको कुरा समष्टिमा देखिन आयो। आगामी दिनमा प्रशिक्षित र जानकार कर्मचारी, ज्येष्ठ नागरिक सेवासहितको अस्पताल र आफ्नै भवनमा रहने र समुचित साधन र स्रोत भएको ज्येष्ठ नागरिक गृह बनाउनुपर्ने देखिन्छ’, प्रतिवेदनको निष्कर्षमा उल्लेख छ। 

मन्त्रालय भन्छ : गोठाटारमा भवन बनेपछि सबै समस्या हट्छ  

उक्त वृद्धाश्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मातहतमा चलेको छ। मन्त्रालयकी प्रवक्ता इन्दु घिमिरेले त्यही नजिकको गोठाटारमा अस्पतालसहितको नयाँ भवन बन्ने प्रक्रियामा रहेको जानकारी दिइन्।

‘गोठाटारमा सुविधासम्पन्न आश्रम बन्दै छ। अहिले टेण्डर आह्वान गर्ने अवस्थामा पुगेका छौँ। नयाँ भवन बनेपछि सबै समस्या समाधान हुन्छ’, उनले भनिन्। त्यहाँ तत्काल भइरहेको समस्या समाधानका लागि मन्त्रालयले विकल्प खोजिरहेको उनको भनाइ छ।

समाज कल्याण केन्द्रका सूचना अधिकारी उपाध्ययले पनि यी सबै समस्या समाधानका लागि सरकारले गोठाटारमा नयाँ भवन बनाउन लागेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.