|

पर्वत : पोखरा रहेर नाटक प्रदर्शन गर्दै आइरहेको पोखरा थिएटरको आयोजनामा यही भदौ २७ गतेदेखि पाँचौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव–२०८०’ सञ्चालन हुने भएको छ।

‘विद्यालयमा रङ्गमञ्च अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ २०७६ सालबाट आयोजना हुँदै आएको विद्यालय नाटक महोत्सवको मुख्य नारा यस पटकबाट परिमार्जन गरेर ‘शिक्षण विधिको रूपमा विद्यालयमा नाटक’ बनाइएको छ। यस पटकदेखि नाटकको छनोट प्रक्रियामा पनि परिमार्जन भएको छ। यस पटक विद्यालयमा भइरहेको नाट्य क्रियाशीलतालाई हेरेर पन्ध्र विद्यालयका नाटकलाई महोत्सवमा आमन्त्रण गरिएको छ।

नाटक महोत्सवको तयारी तीव्र पारिएको र महोत्सवमा मञ्चन हुने नाटकलाई प्रभावकारी बनाउन ‘रिहर्सल’ हरू सञ्चालन भइरहेका छन्। महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका  १४ नाटक तथा अतिथि नाटकको रूपमा काठमाडौंबाट थप एक नाटक हेर्न पाइने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सवका  संयोजक परिवर्तनले बताए।

महोत्सवको लागि छनोट भएका नाटकको विवरणसहित मञ्चन मिति पनि पोखरा थिएटरले सार्वजनिक गरेको छ। जस अनुसार पहिलो दिन भाद्र २७ गते हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन हुने छ। रमेश तिमल्सिनाले निर्देशन गर्ने यो नाटकका लेखक भीमनिधि तिवारी हुन्। भाद्र २८ गते नवदिप बोडिङ स्कुल अम्मरसिंहले तयार पारेको ‘म..म..म..म..भूत’ नाटक हेर्न पाइने छ। सरुभक्तले लेखेको यो नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार हुँदै छ। भाद्र २९ गते प्रगति मा.वि.बाटुलेचौरको ‘भोला’ नाटकको पालो परेको छ। टङ्क चौलागाईंले लेखेको नाटक मिना भण्डारीको निर्देशनमा मञ्चन हुने छ।

यस्तै भाद्र ३० गते ‘कोही किन बर्बाद होस्’ नाटक सोसल पब्लिक स्कुल बुद्धचोकले मञ्चन गर्ने छ। विजय मल्लले लेखेको नाटक धनकाजी श्रेष्ठको निर्देशनमा तयार हुने छ। भाद्र ३१ गते भानुभक्त आवासीय मा.वि. सिम्पानीको ‘अँध्यारामा बाँच्नेहरू’ नाटकको पालो परेको छ। मानबहादुर मुखियाले लेखेको नाटक मनोज अधिकारीले निर्देशन गर्दै छन्। असोज ३ गते अतिथि नाटकको पालो परेको छ। काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘खेल्ने बेला खेल्छौँ, पढ्ने बेला पढ्छौ’ टङ्क चौलागाईंको लेखन निर्देशनमा हेर्न पाइने छ।

असोज चार गते गुरुकुल विद्यासदन नयाँबजारको कीर्तिपुरको ‘युद्धमा’ नाटक मञ्चन हुने छ। हृदयचन्द्र सिंह प्रधानले लेखेको नाटक मिलन श्रेष्ठले निर्देशन गर्दै छन्। असोज पाँच गते ‘मुना मदन’ नाटक माउन्ट अन्नपूर्ण मा.वि. नदीपुरले मञ्चन गर्ने छ। लक्ष्मी प्रसाद देवकोटाले लेखेको खण्डकाव्य सोनिका कार्की खत्रीको नाट्य रुपमान्तरण र निर्देशनमा हेर्न पाइने छ। असोज छ गते बाल मन्दिर मा.वि. नदीपुरको ‘पाठशाला’ नाटकको पालो परेको छ। टङ्क चौलागाईं लेखक रहेको नाटक सुसन पौडेलले निर्देशन गर्दै छन्। असोज सात  गते ‘आँधीको मनोरम नृत्य’ नाटक भास्कर मेमोरियल स्कुल फूलबारीले देखाउने छ। घिमिरे युवराजले लेखेको नाटक रोशनी रामदामले निर्देशन गर्नेछिन् ।

असोज आठ गते ‘हिउँजस्तो गोरी’ नाटक सनफ्लावर बोर्डिङ स्कुल अर्चलबोटले मञ्चन गर्ने छ। यो नाटक नाट्य रूपान्तरण दिप्सना विश्वकर्माले गरेकी छन् भने निर्देशन दिलीप देवकोटाले गर्दै छन्। असोज नौ गते केफ मा.वि. सिम्पानीको ‘कर्मको फल’ नाटकको पालो परेको छ। भानुभक्त अविरलले लेखेको नाटक रोहित पौडेलले निर्देशन गर्दै छन्। असोज  १० गते ‘यति’ नाटक हेर्न पाइने छ। छोरेपाटन मा.वि. छोरेपाटनले सरुभक्तले लेखेको नाटक अनुषा परियारको निर्देशनमा मञ्चन गर्नेछ। असोज ११ गते एस.ओ.एस. हर्मन माइनर स्कुल पोखराको ‘बिर्सन नसकिने मान्छे’ नाटक हेर्न पाइन्छ। अमृत परियारले निर्देशन गर्ने यो नाटकको लेखक वासु शशी हुन्।

महोत्सवको अन्तिम दिन असोज १२ गते कास्की मोडनाइज्ड एकेडेमीको चाउथेको नाटक ‘मसान’ हेर्न पाइने छ। अन्जु दाहालको निर्देशनमा तयार हुने नाटकका लेखक गोपाल प्रसाद रिमाल हुन्। सबै नाटक दिउँसो साढे एक बजे गन्धर्व नाटक घर गैह्रापाटन पोखरामा मञ्चन हुने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.