|

काठमाडौं :दुई वटा फलामका खाट। वरिपरी केही असरल्ल छन् लुगाफाटा। कोठामा छन् केही स्वामश्वेत तस्वीरहरू। अनि भित्तामा झुन्ड्याएको कार्डमा लेखिएको छ, ‘नाम : भगवती सिग्देल। ठेगाना कामपा ६ महांकाल। आश्रममा बस्न सुरू गरेको २०७१ साउन २०।’

बुढ्यौली उमेर अब त आफ्नै नाम पनि भुल्ने समय भइसक्यो। आफ्नो बाँकी जीवन समाज कल्याण केन्द्र, वृद्धाश्रममा बिसाउन आइपुगेकी छिन् सिग्देल।

जो कोही पशुपतिमा रहेको वृद्धाश्रममा पुग्दा उनको मन हर्षीत हुन्छ। खुसीको लप्का अनुहारमा छल्किन्छ। चाउरी  परेको अनुहारमा खुशीको ज्वारभाटा निकाल्दै उनी बोल्न थाल्छिन्।  पंतिकार वृद्धाश्रम पुग्दा उनी स्याउ काटिरहेकी थिइन्। कुराको पोयो नखुल्दै उनले स्याउ दिएर हामीलाई मीठो स्वागत गरिन्। र सोधिन कहाँबाट आउनु भएको हो?

पक्तिकारले जवाफ फर्कायो। उनले पनि आफ्नो परिचय दिइन्। बोलिहालिन्, ‘मेरो परिवारमा कोही छैन, म बाल विधुवा हुँ।’ उमेरले ८१ कटेकी सिग्देल जीवनमा खुशी भन्दा धेरै पीडैपीडाका चाङ छन्। तर, अब त उनी ती पीडाहरू पनि भुल्न थालिसकिन्। आफ्नो पीडाको कारण समयको खेला मान्छिन्। 

 उनी विगत सम्झिन खोज्छिन्। भोगेर आएको जीवनको सिलसिलालाई सकेसम्म क्रमैसँग भन्न सक्दिन कि भन्ने डर मान्छिन्। केही सोचे झैँ गरेर भन्छिन्,'भाग्यले ठग्यो भने जिन्दगी भर अनेकन बाधा अड्चनमै जिन्दगी बित्ने रहेछ। मेरो पनि यस्तै यस्तै भयो।'

उनी विगतमा फर्किन्।  'सिन्धुपाल्चोकमा १९९९ सालमा जन्मिइन्। त्यस समयमा शिक्षाको चेतना थिएन। पढ्ने अवसर पनि थिएन। त्यसो त सानैमा उनको बिहे भयो। ‘२००५ सालमा मेरो बिहे भएको हो,त्यसबेला म ६ वर्षको थिएँ,मेरा श्रीमान भने त्यस्तै १३,१४ वर्षका थिए होलान्’, सिग्देलले अड्कल काटिन्। 

छोरी मान्छे पराइघरमा जाने चलिआएको परम्परा हो। उक्त चलनमा अधिकांशको जिन्दगी बन्छ भने कतिपयको जिन्दगी अन्धकारमा रूमलिन्छ। बज्रपात आइ पर्छन्। हो त्यही बज्रपात उनले ब्यहोर्नुपर्‍याे। ​‘मैले विवाह गरेपछि नयाँ जिन्दगीमा केही प्रगति भएन,’उनले मलिन अनुहार पार्दै सुनाइन,‘ सानै उमेरमा जिन्दगीको सहारा नै टुट्यो,विवाह भएपछि २००८ सालमै श्रीमान बित्नुभयो।’

उनले भनेअनुसार उनका श्रीमान विदेश गएका थिए। विदेशमै अन्तिम सास फेरे। त्यसपछि उनले श्रीमानको साथमात्र होइन घरपरिवारबाट साथ पनि पाउन छोडिन्।  आफ्नाले दिएको पीडा सहन नसकेर उनी एक गाउँ छोड्ने निर्णय गरिन्। निर्णय गरेको केही दिनको पछि एक बिहान उनले गाउँ छोडिन्। उनलाई लाग्छ: गाउँ पनि के भन्ने जहाँ मान्छे त थिए तर आफ्ना थिएनन्।  २०२६ सालमा घर छोडेर काठमाडौं आइन्। र पशुपति नजिक एक घरमा खाना पकाउने काम पाएर त्यही बसिन।

‘त्यहाँ दाउराबाट खाना पकाउने काम गर्थेँ,यस्तो काम गरेर नै २५ वर्ष बिताएँ’, उनले भनिन्। आफ्नाहरूबाट केवल पीडा पाएकी उनले  घरबेटीबाट खुबै माया पाएको बताइन्। उनी सुनाउँछिन्, ‘घरबेटीका परिवारले खुबै माया गर्नुहुन्थ्यो। '

                                                                                    आश्रममा भगवती सिग्देल

तर, त्यो घरमा पारिवारीक विचलन सुरु भयो। एक दिन घरेबटीका छोराहरूले घर बेच्ने निधो गरे। उनीहरूले सिग्देललाई भनेछन्, ‘हामी घर बेच्दै छौँ,अब तपाई आश्रममा गएर बस्नुस,पैसा केही पर्दैन।’

सिग्देलले नाइनास्ती गरिनन्। त्यही  त्यही घरपरिवारले आश्रममा लैजाने चाँजोपाँचो मिलाइदिए। २०७१ सालबाट उनी यस आश्रममा बस्न थालिन। जीवनमा कसैको साहरा नपाएकी सिग्देल बुढेसकालमा भने सहारा बनेको छ वृद्धाश्रम। 

‘मन खुसी नभए पनि खुसी भएरै बाँकी जिन्दगी बिताउँछु’

सिग्देल अहिले आश्रममै खाने,त्यही वरिपरी डुल्दै दिन काटिरहेकी छिन्। यहाँ बस्दा कत्तिको खुसी हुनुहुन्छ त? उनी जवाफ फर्काउँछिन,‘अब मन खुसी नभएर के गर्नु ? कोही नभएपछि खुसी मानेर बसिरहेको छु,अब अरू काम गर्न सक्दिन्,अब बाँकी जिन्दगी यही बित्ला।’

उनका अनुसार उनका देवर गाउँमा छन्। तर,भेट्न भने आउँदैनन्। ‘पहिला छिमेकीहरू भेट्न आउँथे,अहिले त आउँदैनन् पनि,मलाई नी अब त भेट्न आउँछन् भन्ने आशा मरिसक्यो', निरास मुद्रामा उनले भनिन्।

एकल जीवनको सहारा पनि आश्रमै

त्यही आश्रममा अर्की ८८ वर्षीय लक्ष्मीदेवी थापाको पनि जीवन बितिरहेको छ। उनको बस्ने कोठाभरी विभिन्न तस्वीरहरूले सजाइएका छन्। ती नै तस्वीर नियाल्दै जीवन काटिरहेका छिन् उनी। कहिले भने झोला बुन्छिन्। धेरै हिँडडुल गर्न सक्दिनन्। अधिकांश समय ओछ्यानमै सुतेर बितेको छ उनकाे।

उनी पनि अनेकन दुःखसँग लड्दै त्यहाँ आइपुगेकी हुन्। ‘म सानैदेखि टुहुरी हुँ,म जन्मिएपछि बाबुआमा बित्नु भयो, कहिले बित्नु भयो,थाहा भएन', उनले सुनाइन्।

                                                                     आश्रममा लक्ष्मीदेवी थापा

उनी बाबुआमाको माया पाइनन्। तर, पनि २० वर्षदेखि वृद्धाश्रमबाट सहारा भने पाइरहेकी छिन्। ‘म चावहिलमा बस्दा मेरो खुट्टा भाँचियो,मलाई आफन्तहरूले उपचार गरे,त्यसपछि यहाँ ल्याएर राखे,अब त यहाँ नयाँ जीवन पाएको जस्तो लाग्छ’,उनले भनिन्।

जीवनमा विभिन्न उतारचढावहरू भोगे पनि उनी बिहे भने गरिनन्।

समाज कल्याण केन्द्र, वृद्धाश्रमका अनुसार सिग्देल र थापाजस्तै विभिन्न जिल्लाका ८० जना वृद्धावृद्धहरूले वृद्धाश्रमको सहारा लिइरहेका छन्। वि.सं १९३८ सालमा श्री ५ सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाकशाला रूपमा स्थापना भई सञ्चालित भएको थियो। २०३४ सालदेखि समाजकल्याण केन्द्र वृद्धाश्रम पशुपतिका नामले सञ्चालन हुँदै आएको छ। 

(याे पनि)



सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.