|

चितवन : दक्षिण चितवनको माडीका बासिन्दाहरु विगत ८ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएपछि यही असार ५ गतेदेखि माडीमा विद्युत अवरुद्ध भएको हो।

‘अण्डरग्राउण्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोतसाधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मगाइएको छ’, विद्युतप्राधिरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भने। उनकाअनुसार जमिनमुनि गाडिएको तारको माथि उक्त मेसिन हिँडाउँदा खराबीको संकेत दिन्छ।

मेसिन आएपछि परिक्षण गरेर खराबी पत्ता लाग्ने र त्यसपनि मर्मत हुने भएकाले अझै केही दिन माडीमा विद्युत सेवा सुचारु नहुने प्राविधिक भरतपुर वितरण केन्द्रका सुपरभाइजर र तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवरले बताए।

गर्मीको समयमा विद्युत् नहुँदा माडीबासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउँछन्। पोल गोडेको दशकौंपछि बल्लतल्ल गएको मंसिरबाट माडीमा विद्युत पुगेको थियो। माडीमा २०५७ सालमा नै विद्युतसेवा पुर्‍याउन काम सुरु भएको थियो। सो समय ५० लाख खर्चिएर गाडिएको पोल जिर्ण हुँदासमेत विजुली बल्नुको साटो तार र पोल कुहिए। 

२०६७ सालबाट नयाँ परियोजना आएर काम थालेको थियो। भारतीय सैनिक कल्याणकारी कोष र विद्युत प्राधिकरणको लगानीमा नयाँ परियोजना सञ्चालन भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल बताउँछन्। भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामिण विद्युतीकरण आयोजनामार्फत माडीमा पहिलोपटक यही २०७३ साल कार्तिकमा विद्युत पुगेको थियो।

माडीका स्थानीय ८ दिनदेखि टुकी र सोलारको भरमा बस्न बाध्य छन्। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल प्राधिकरणलाई विद्युत सेवा सुचारु गर्न पटकपटक दबाब दिए पनि अझै सुचारु हुन नसकेको बताउँछन्। यसअघि परीक्षण प्रसारणका बेलामा पनि चितवन निकुञ्जको अण्डरग्राउण्ड क्षेत्रमा पटकपट खराबी देखिँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.