|

ललितपुर :  नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले २८औँ स्थापना दिवसको अवसरमा बुधबार एनएसजेएफ पत्रकारिता अवार्डबाट अग्रज पत्रकार मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेश सुवेदीलाई सम्मान गरेको छ।

मञ्चले  २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ।  मञ्चले बुधबार मञ्चका पूर्वअध्यक्ष एवं संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई नगद २५ हजार तथा युवा पत्रकार सुवेदीलाई एउटा ल्यापटपसहित पुरस्कृत गरेकाे हाे ।

उनीहरूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ(एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)ले सम्मान गरेका थिए।

बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे। सुवेदीले फुटबलको समर्थकका रूपमा खेलकुदमा प्रवेश गर्दै मञ्चकै प्रोत्साहनबाट खेल पत्रकारिता सुरु गरेको बताए। 

अहिलेसम्म एनएसजेएफ पत्रकारिता अवार्डबाट १० र सुमन बम्जन युवा पत्रकारिताबाट ५ जना सम्मानित भइसकेका छन्। सम्मान कार्यक्रमा अवसरमा एन्फाका महासचिव किरण राईले खेलकुदप्रतिको लगावका कारण खेलकुद पत्रकारिता कलम चलाउँदै आएका खेलकुद पत्रकार पनि नेपाली खेलकुदकर्मी नै रहेको उल्लेख गर्दै नेपाली खेलकुदको विकाका लागि खेलकुद पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले अनुज र अग्रजलाई मञ्चले गर्दै आएको सम्मानले राम्रो संस्कारको विकास गरेको धारणा राखे। राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै सम्मानले  खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने बताए। 

मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मंगलबार आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो। ४ टिम सहभागी प्रतियोगितामा टिम प्रोफाइल बिजेता बनेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.