|

काठमाडौँ : चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार ४६८ लाई कारबाही गरिएको छ।

सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को आज भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आवको हालसम्म सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार चार सय ६८ लाई कारबाही गरिएको जानकारी दिए। 

उनका अनुसार आव २०७८/७९ मा पाँच लाख चार हजार पाँच सय ९७ र आव २०७९/८० मा आठ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो। बैठकमा उपरीक्षक भट्टले एक जना ट्राफिक प्रहरीले एक दशमलव ८७ किलोमिटर सडक क्षेत्रमा करिब एक हजार छ सय ४८ सवारीसाधन व्यवस्थापन गर्नुपरेको जानकारी दिए।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै पनि निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ।

प्रमुख शाहले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालेको बताए। बैठकले प्राधिकरणको कोष सञ्चालन सम्बन्धमा छलफल गर्दै सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.