|
फाइल फोटो

चितवनः चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिंगे गैँडा मरेको छ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८÷३० वर्षको पोथी गैँडा कुमरोजको कंक्रिट मचान नजिकै सोमबार मरेको जानकारी दिए।

अर्यालका अनुसार मचान नजिकैको घोलमा राती बिरामी जस्तो भएर बसेको गैँडा बिहान ११ बजे मरेको हो। 

अनुसन्धान गर्दा घाँटी भाँचिएको पाइएको भन्दै निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले भाले लाग्ने क्रममा भाग्दा लडेर घटना भएको जानकारी दिए।

केही दिनअघि मात्रै सोही सामुदायिक वनको इचर्नी खोला नजिकै मरेको गैँडाको बच्चा (केटो) गोहीले खाएको अवस्थामा फेला पारिएको थियो।

अहिले मर्ने पोथी गैँडा त्यही केटोको आमा भएको अनुमान गरिएको डा. गैरेले बताए।

चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले पछिल्लो समय गैँडाको राम्रो बासस्थान बन्दै आएको कुमरोजमा कालगति या विभिन्न कारणले गैँडा मरिरहेको बताए। यसतर्फ निकुञ्जले ध्यान दिनुपर्ने उनको भनाइ छ। 

पछिल्लो गैँडा गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्यांक छ। एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.