|

काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले १४ असारमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका छन्। उनले निर्वाचन सुरक्षाका लागि पहिलो चरणमा जस्तै पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने बताए।

निर्वाचन हुने स्थानीय तहमा सबै सुरक्षा प्रबन्ध मिलाइएको भन्दै उनले निर्धक्क मतदानमा सहभागी हुन आह्वानसमेत गरे। ‘निर्वाचनका लागि सुरक्षाको कुनै समस्या छैन। सरकारले सबै प्रबन्ध मिलाएको छ, सुरक्षा व्यवस्था चुस्त छ,’ सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले भने।

उनले निर्वाचन शान्तिपूर्ण रूपमा सफल बनाउन र मतदातालाई ढुक्क भएर मत हाल्न अपिलसमेत गरे । मतदानमा जाने क्रममा कुनै बाधा, अवरोध नआउनेबारे आश्वस्त पार्दै उनले भने, ‘तपार्इँहरूले आफ्नो मताधिकारको प्रयोग स्वतन्त्र र भयरहित वातावरणमा निर्भिक रूपमा गर्न पाउनुहुनेछ । त्यसका लागि जस्तोसुकै सुरक्षा दिन पनि सरकार तयार छ।’

उनले सुरक्षाको दृष्टिकोणले निर्वाचनबारे तर्साउने प्रयत्न भएकाले सुरक्षा योजना थप परिष्कृत र परिमार्जन समेत गरिएको जानकारी दिए। ‘सुरक्षामा अब कुनै समस्या छैन, मतदानस्थल सुरक्षित छन्, मतगणना गर्न पनि सुरक्षा बलियो बनाइएको छ,’ उनले भने।

पहिलो चरणको निर्वाचनबाट धेरै कुरा सिकेको बताउँदै गृहमन्त्री शर्माले यसपटक सुरक्षा निकायको प्रयोग दरिलो र बलियो बनाइएको दाबी गरे। निर्वाचन सुरक्षामा कति सुरक्षाकर्मी परिचालित छन् भन्ने विषयमा केही नबोले पनि उनले सुरक्षामा कुनै चुनौती नरहेका बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.