|

म्याग्दी : चाड पर्वको समय छ। खेतबारीमा लगाएको धान र कोदो बल्ल पसाउँदै छ।

चाडपर्वमा खाद्यान्नलगायत आवश्यक सामग्रीको जोहो गर्न ग्रामीण भेगका बासिन्दा लागेका छन् तर असार दोस्रो सातादेखि बन्द भएका म्याग्दीका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन्।

बाढी, पहिरो र कटानले अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा सामान ढुवानी गर्न समस्या भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ।

पश्चिम म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिकाभित्रैका दर्जनौँ गाउँबस्तीसम्म पुग्ने सडक अझै सञ्चालनमा आउन नसक्दा ग्रामीण भेगको बासिन्दाहरु सास्ती खेप्न बाध्य छन्।

पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको बेनी–सडक पहिरोका कारण ४ दिनपछि बल्ल खुलेको छ। उक्त सडक कतिखेर पहिरोले अवरुद्ध हुन्छ कुनै ठेगान नहुने तातोपानीका व्यवसायी वीरेन्द्रमान शाक्यले बताए।

असार पहिलो सातादेखि नै अवरुद्ध दरबाङ–रुम सडक अहिलेसम्म पनि संचालनमा नआउँदा मान्छेले नै बोकेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता रहेको मालिका गाउँपालिका-२ रुमका श्याम घर्तीले बताए। दुई महिनाअगाडि पहिरोले अवरुद्ध भएको सडक अहिलेसम्म सञ्चालनमा नआएको उनको भनाइ छ।

सडक अवरुद्ध हुँदा बेनी, दरबाङलगायतका बजारबाट सामान ढुवानी गर्न नसकिएको घर्तीको भनाइ छ। केही दिनदेखि वर्षा रोकिएको हुँदा अब गाउँपालिकाले सडक खुलाउँछ कि भन्ने विश्वास घर्तीको छ।

जेठमा जोहो गरेर राखेका खाद्यान्न सबै सकिन थालेको भन्दै स्थानीयवासीले बोकेरै बजारबाट सामान ल्याउन थालेको उनी बताउँछन्।

​‘बरु सडक नहुँदा हाइसन्चो थियो। समयमा नै बजारबाट बोकेर खाद्यान्नलगायतका आवश्यक सामान गाउँमा ल्याइन्थ्यो,अहिले सडक घरैअगाडि पुगेको छ तर बर्खामा गाडी गुड्दैनन्, गाडी नगुड्दा यात्रा गर्न र बजारदेखि सामान ल्याउन निकै गाह्रो हुँदो रैछ’, घर्तीले भने‚ ‘गाउँमा बल्ल मकै पाक्दै छ, नुन, चामल सबै बजारबाट ल्याउनुपर्ने, दुई महिनासम्म बजार जान पाइएको छैन, चाडबाड पनि आउन लागे, अब बोकेरै भए पनि चाहिने सामान ल्याउनुपर्ने भयो, सडक कहिले खुल्छ कुनै टुंगो छैन, चाडपर्वहरु नजिकिन थाले, घरमा खानेकुरा सकिन थाल्यो।’

मालिका गाउँपालिका-२ रुमका वडाअध्यक्ष उदयकुमार बुढाथोकीले सडक खुलाउनका लागि पहल भैरहेको र तीजलगत्तै दरबाङ–रुम सडकखण्ड संचालनमा आउने बताए।

यस्तै अवस्था धवलागिरि गाउँपालिकाका गाउँहरुको पनि रहेको छ। धवलागिरि गाउँपालिकामा ठूला सवारीसाधन संचालन हुन नसक्दा अत्यन्त महँगो भाडा तिरेर खाद्यान्न ढुवानी गर्नु परेको स्थानीय बासिन्दाहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.