|

रौतहट : तीज पर्वमा मधेशी समुदायका महिलाहरुको आकर्षण बढेको छ।

नेपाली भाषी हिन्दु महिलाहरुको पर्वको रुपमा चिनिएको पर्व तीज सांस्कृतिक सीमा पार गर्दै मधेशी समुदायबीच पनि लोकप्रिय हुन थालेको हो। अचेल तीजमा श्रद्धा र भक्तिपूर्वक उपवास बस्ने मधेशी समुदायका महिलाको संख्या बढ्दै गएको छ।

तराई मधेशमा पहिले पहाडी समुदायका महिलाहरु मात्र हरितालिका तीज मनाउने गर्थे तर पछिल्लो समय मधेशी समुदायका महिलाहरुले पनि हर्षोल्लासका साथ तीजमा व्रत बस्न थालेका छन्।

विभिन्न तीज गीतको धुनमा छमछमी नाचिरहेका महिलाको भीड सोमबार रौतहटका शिव मन्दिरहरुमा देखियो। रातो पहिरनमा सजिएका, सिन्दुर, टीका र तिलहरी लगाएर शिव मन्दिरमा पूजाआजा गर्ने अधिकांश महिला मधेशी समुदायका थिए।

रंगीचंगी वेशभूषामा सजिएका महिलाहरुको चहलपहलले रौतहटको चन्द्रपुर र गरुडा नगर क्षेत्रलाई आकर्षक बनाएको थियो।

पछिल्लो समय हरितालिका तीजको रौनक मधेशी मूलका महिलाहरुमा पनि छाएको छ। तीज साझा पर्व बन्दै गइरहेको बर्तालु महिला सविता रौनियारले बताइन्।

​भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरी श्रद्धा र निष्ठाका साथ मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पतिको दीर्घायु, पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.