|

चितवन : गणनाका क्रममा च्यातिएका भरतपुर महानगरपालिका–१९का ९० वटा मतपत्र  सर्वाेच्च अदालत पठाइएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज बिहान चितवनबाट मतपत्र काठमाडौं पठाएका हुन्।

भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएको मतपत्रलाई मतपेटिकामा राखेर शिल गरी बिहान ८ : १५ बजे बुद्ध एयरबाट काठमाडौं पठाइएको हो। मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायव निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाडौं गएका छन्। मतपत्र आजै सर्वाेच्च अदालत बुझाइने छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाेच्चले माग गरेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि टोलीसँगै पठाएको छ। यसअघि मंगलबार बिहान दलका प्रमुख र प्रतिनिधि एवं उम्मेदवारहरूको रोहवरमा च्यातिएका मतपत्र मतपेटिकामा राखेर शिल गरिएको थियो। मतपेटिकालाई प्रहरीको स्कर्टिङमा भरतपुर विमानस्थलसम्म पुर्‍याएको प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए।

सर्वाेच्च अदालतले असार ६ गते भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन आदेश दिएको थियो। कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको हो। फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौं दिन आज कागजपत्र र मतपत्र पठाइएको हो ।

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्चमा पुगेको हो। महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । 

वडा नं. २० को मतगणना बाँकी रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने एमालेले मतगणना जारी राख्नुपर्ने बताएको छ। निर्वाचन आयोगले १९ नम्बरमा पुनः मतदान गर्न अादेश दिएपछि एमाले सर्वाेच्च अदालत गएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.