‘जवानीमा योग्य भयौँ, बुढेसकालमा अयोग्य’

|

काठमाडौं : प्रमिला बास्तोला काभ्रे जिल्लाको पनौती नगरपालिकाको गोरखनाथ आधारभूत विद्यालयमा १५ वर्षदेखि अध्यापन गर्दै आएकी छन्। उनी राहत कोटाकी नियुक्त भएकी शिक्षिका हुन्।

सरकारले लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा दर्ता गरेपछि राहत शिक्षकहरूका लागि धेरै सेवासुविधा मिल्ने आशामा थिइन् उनी।

तर विधेयकमा उल्टो राहत शिक्षकलाई हटाउने प्रपन्च रचिएपछि उनी तनावमा छिन्। त्यसो त केही न्याय मिल्छ कि भन्दै शिक्षक आन्दोलनमा सहभागी हुन राजधानी आएकी छिन्।

आज (बुधबार) देखि नेपाल शिक्षक महासंघले काठमाडौंकेन्द्रित आन्दोलन थालेको छ। नयाँ बानेश्वरमा भइरहेको आन्दोलनमा भेटिएकी उनले भनिन्, ‘पहिला आयोगले शिक्षकको समयमा परीक्षा खोलेन, त्यसबेला फ्रेस हुँदा परीक्षा दिन पाएनौँ, पढ्दै गर्दाको जोश थियो तर अहिले आएर माथिबाटै स्थायी शिक्षकलाई हाल्दै ल्याएर हामीलाई हटाउने कोसिस गर्दै छ।’

स्थायी शिक्षकको परीक्षामा भिड्न अब उनलाई उमेरले छेक्छ। ‘अब त म परीक्षा दिन पाउँदिन, उमेरले ४० कटिसकेँ, पहिला अयोग्य भए किन हामीलाई राख्यो? बरू त्यतिखेर १/२ वर्षमै निकालेको भए हुन्थ्यो, अब उमेर छैन, यतिका वर्ष यही पेसामा लागियो, सरकारले निकाल्यो भने हाम्रा छोराछोरी कसरी पाल्नु?,’ उनले भनिन्।

उनका अनुसार यसअघि उनले स्थायीका लागि परीक्षा दिएकी पनि थिइन्। लिखितमा पास गरे पनि होमसेन्टर राखिँदा आफन्तलाई मात्र उत्तीर्ण गरियो।

‘इन्टरनल नम्बर नदिएर लिखित पास गरे पनि मलाई फाल्यो, सरकारले केही गर्ला भन्ने आशा लिइरह्यौँ हामीले तर त्यस्तो भइदिएन,’ उनले भनिन्। उनले अर्को समस्या नियमित तलब नआउनु पनि भएको बताइन्।

‘तलब नियमित छैन, कहिले ४ महिना बितिसक्दा पनि तलब पाउँदैनौँ, अनि साथीभाइबाट पैसा सापटी लिएर घर खर्च चलाउनुपर्छ,’ उनले भनिन्। केन्द्र सरकारबाट नियमित तलब व्यवस्थापन हुनुपर्ने र राहत शिक्षकलाई स्थायी बनाउनुपर्ने उनको माग छ।  

सोही नगरपालिकाको शारदा माध्यमिक विद्यालयकी राहत शिक्षिका शान्ति केसीको पनि उही पीडा छ। ‘काम गर्‍यौँ योग्य थियौँ, अब सरकारले माथिबाट स्थायी शिक्षक हाल्दै ल्याएर हामीलाई हटाउने काम गर्दै छ। हामीलाई बिदा छैन, सेवा सुविधा छैन तर पनि हामी खटिरह्यौँ,’ उनले भनिन्। उनले शिक्षकहरूलाई समान रूपमा व्यवस्थापन सरकारले नगरेको बताइन्। 

‘माग पूरा नभएसम्म काठमाडौं छाड्दैनौँ’

सर्लाहीबाट आन्दोलनमा आएका राहत शिक्षक राजकिशोर सिंहले माग पूरा नभएसम्म काठमाडौं नछाड्ने बताए। आफूले १७ वर्षदेखि पढाउँदै आएको भए पनि अहिले आएर सरकारले अपमान गर्न खोजेको उनको भनाइ छ।

‘१७ वर्षदेखि सरकारको नीतिबमोजिम प्रकृया पूरा गरेर नियुक्ति पाएका हामीलाई अहिले सरकारले पन्छाउन खोजेको छ। हामी यस्ता शिक्षकहरु ४२ हजार छौँ, जवानीमा काम लिन भयो, बुढेसकालमा गौशालामा गएर वध हुने, त्यो हुँदैन, स्थायी हुनुपर्छ,’ उनले भने।

अहिले संसदमा दर्ता भएको उक्त विधेयक सबै शिक्षकका लागि घातक भएको र कालो विधेयक ठहर गरेको उनको भनाइ छ। ‘त्यसैले सरकारले माग पूरा नगरेसम्म हामी यहाँबाट जाँदैनौँ,’ उनले भने।

चितवनको राप्ती नगरपालिकाबाट आन्दोलनमा आएका सुनबहादुर मोक्तानले शिक्षकहरूको सरूवा, बढुवा स्थानीय तहलाई दिएकोमा आपत्ति जनाए।

उनले भने, ‘हाम्रो ७ वटा स्थानीय तह छन्, सबैमा एउटै नियम लागू गर्नुपर्छ, स्थानीय तहबाट सरूवा, बढुवा गर्ने भनेको छ, यसो गर्दा आफ्नो मान्छेलाई हेरेर गर्छन्, त्यसैले केन्द्रबाटै हुनुपर्छ भन्ने हाम्रो माग हो।’

सरकारको वार्तालाई शिक्षकले गरे अस्वीकार 

गत बुधबार संसदमा शिक्षा विधेयक दर्ता भएसँगै शिक्षकहरूले असन्तुष्टि जनाउँदै उक्त विधेयकको विरोध गर्न थालेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय महासंघलाई हिजो (मंगलबार) नै वार्तामा बोलाए पनि शिक्षकहरू सहभागी भएनन्।

यसअघि वार्तामा सहमति भएका मागहरूसमेत सरकारले पूरा नगरेकाे भन्दै उनीहरूले वार्ता अस्वीकार गरे।

अहिले भइरहेको विरोध कार्यक्रममा १ लाखभन्दा बढी शिक्षक सहभागी भएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको दाबी छ। महासंघले राखेको १७ वटा मागहरू पूरा नहुञ्जेल प्रदर्शन जारी राख्ने उनीहरुको अडान छ।

(याे पनि)



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.