|

सुर्खेत : चीनसँग जोडिएका डोल्पाका दुई नाका खुला गरिएको छ। चिनियाँ दूतावासले डोल्पाको सिमानासँग जोडिएका दुई नाका खुला भएको एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण भइरहेको समयमा डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको दुई नाकाहरु खुला गरिएको हो।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने खुङ्ला नाका र डोल्पोबुद्ध र छार्का ताङ्सोङ गाउँपालिकामा पर्ने  मर्युम नाका खुला गरिएको छ। डोल्पाको सिमानामा रहेका नाका खुला गर्नको लागि कर्णाली प्रदेशका प्रदेशसभा सदस्य एवम् पूर्वपर्यटनमन्त्री वीरबहादुर शाही लगायतको टोलीले केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको थियो।

नाका खुला भएसँगै भन्सारसमेत खोल्ने विषयमा व्यापक छलफल भएको पूर्वमन्त्री शाहीले जानकारी दिए। त्यस्तै भौगोलिक हिसाबले सदरमुकाम दुनैभन्दा धेरै टाढा रहेको उपल्लो डोल्पामा इलाका प्रशासनदेखि सीमा क्षेत्रमा सुरक्षा क्याम्प स्थापना गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग व्यापक छलफल भइरहेको पूर्वमन्त्री शाहीले जानकारी दिए।

पल्लो डोल्पाका नाका खुलेसँगै डोल्पामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा, कटुको, पाँचऔँले  जस्ता जडीबुटी बिक्री गर्न सहज हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.