‘गरिखान पाऊँ, हामी पनि यो देशकै नागरिक हौँ’

|

काठमाडौं : दुवै खुट्टा सुन्निएका छन्। तैपनि लौराको सहयोगले ९ दिनदेखि उभिरहेका छन् अभियन्ता ‘ईः’। राष्ट्रियसभागृह गेटमा उभिइरहेका उनको स्वास्थ्य बिग्रदो छ। उनको माग भने अझै काठमाडौं महानगरपालिकाले सुन्न सकेको छैन।

उनले आन्दोलन जारी राखेका छन्। उनलाई अभियन्ता युवा / सडक व्यापारीहरूले साथ दिइरहेका छन्। हिजो (मंगलबार) काठमाडौं महानगरपालिका र अभियन्ता ‘ईः’ को टोलीबीच लामो समयसम्म वार्ता बस्यो।

अभियन्ता ईका अनुसार वार्तामा निश्चित समय र स्थान तोकेर फुटपाथ व्यापार गर्न दिने सहमति भयो। ‘तर माथि जाँदा खेरी ती बुँदा भएको मुख्य सार नै मेटिएर हामीलाई फिर्ता आयो। त्यसपछि फुटपाथ व्यापारीले त्यसमा हस्ताक्षर गर्न मानेनन्। त्यसपछि अगाडि बढ्ने कुरै आएन’, उभिइरहेका ‘ईः’ ले थाहाखबरसँग भने। 

यी सब कसले गर्‍यो भन्ने उनलाई थाहा छैन। ‘वार्ता हुँदै गर्दा तस्वीर बाहिर आउने, अनेक थरीका टिप्पणी बाहिरिने काम भइरहेको छ। त्यसैले अविश्वासको वातावरण बन्दै गएको छ’, उनले भने। फुटपाथ व्यापारीले जे कुरामा सहमति जनाउँछन् त्यसमा मात्रै आफूले पनि सहमति जनाउने उनको अडान छ।

‘फुटपाथ व्यापारी​ले पसिना चुहाइरहेका वेला मेरो पीडा केही होइन’

उनले पछिल्लो समय स्वास्थ्य अवस्था खराब बन्दै जाँदा उभिन समस्या परिरहेको बताए। तैपनि शरीरले दिएसम्म, नढलेसम्म फुटपाथ व्यापारीको आवाज बुलन्द पार्ने उनको धोको छ।

‘म उभिएको ९ दिन भएको छ,खुट्टा सुन्निएको छ, शरीर गलेको छ तर फुटपाथ व्यापारीले पाएको पीडाका अघि यो केही होइन। कति जनाले बालबच्चालाई श्रम गराउन बाध्य छन्, कतिपयमा परिवार छाडेर विदेश जानुपर्ने हो कि भन्ने चिन्ता छ’, उनले भने।

कतिपयले उनको आन्दोलनमा राजनीति गरिएको भन्दै टिप्पणी गर्ने गरेका छन्। महानगरका प्रमुख बालेन शाहले पनि वार्तामा बोलाउँदा पनि नआएकाले कुन नेतासँग वार्ता गर्नुपर्ने हो भन्दै यसमा राजनीति जोडिएको आशंका गरेका थिए। यसमा कुनै कुरामा सत्यता नभएको अभियन्ता ‘ईः’ बताउँछन्।

‘यो मेरो आन्दोलनमा कुनै राजनीति जोडिएको छैन, म स्वतन्त्र भएर उभिरहेको छु, फुटपाथ व्यापारीहरूको पीडाबाहेक अरू कसैको कुरा सुनेको छैन’, उनले भने। उनले अहिलेसम्म पानी,खाजा सडक व्यापारीहरूले नै ल्याएर खुवाउँदै आएको बताए। ‘फुटपाथ व्यापारीहरूले नै पानी ल्याउँछन्, फलफूल ल्याउँछन्, खाना र खाजा भने मेरै व्यक्तिगत खर्चले खान्छु, दिनको २-५ सय खर्च हुन्छ’, उनले भने।

शरीरले साथ दिउञ्जेल व्यापारीहरूलाई साथ दिने उनले प्रतिबद्धता जनाए। ‘म कुनै पार्टीको मान्छे होइन, संघसंस्थाको पनि होइन। मलाई व्यक्तिगत रूपमा फुटपाथ व्यापारीको पीडाले छोएको हो। त्यही भएर पनि यहाँ उभिन बाध्य भएँ, जीउले दिएसम्म उहाँहरूको साथ दिन्छु, हेर्दै जाऊँ कहाँसम्म लान्छ’, उनले भने।

पछिल्लो समय महानगर प्रहरीहरूको फुटपाथ व्यापारीमाथिको ज्यादती रोक्नुपर्ने, सडक, साइकल,ठेला गाडा,नाङलो व्यवसायीलाई व्यापार गर्न निश्चित समय र स्थान तोक्नुपर्ने उनको माग छ। यसैगरी व्यापारीहरूलाई लाइसेन्सको व्यवस्था गर्नुका साथै स्थानीय सरकार जवाफदेही हुनुपर्ने पनि उनका माग छन्। 

राष्ट्रियसभा गृहमा फुटपाथ व्यापारीका प्रतिनिधि लगायत बसेर प्रत्यक्ष पत्रकार सम्मेलन गरी समस्या समाधान नभएको विषयमा छलफल गर्नुपर्ने महानगर प्रमुख बालेनलाई उनको प्रस्ताव छ। उनले भने, ‘उहाँको धारणा बुझ्नै सकिँदैन, बरु मेरो अनुरोध छ, राष्ट्रियसभा गृहभित्र फुटपाथ व्यापारीका प्रतिनिधि र स्वतन्त्र मान्छेहरू बसौँ, के समस्या भयो प्रत्यक्ष प्रसारण गरौँ भन्ने प्रस्ताव छ।’

उनले चुनावअघिसम्म फुटपाथ व्यापारलाई व्यवस्थापन गर्ने भन्दै भोट मागेर आश्वासन दिएको तर निर्वाचित भएपछि भने उनको कार्यशैली फेरिएको बताए। उनले भने‚ ‘यी समस्या समाधानका लागि बालेनजीका चुनावअघिका योजना थिए‚ जितेपछि हराए। आफैं गरिबीको चमेली बोलिदिने कोही छैन भनेर गीत गाएपछि कमजोर वर्गमा आशा जागेको थियो तर चुनावपछि ठीक विपरीत भयो।’

चाडबाड नजिकिँदै गर्दा वैकल्पिक स्थान र निश्चित समय वडाहरूमा घोषणा गरेर तत्काल यो व्यवस्थापन गर्न महानगरपालिका प्रमुख शाहलाई उनको आग्रह छ। ‘खोला खन्न,डोजर चलाउन केही कानुन नचाहिने पेलेर गर्ने,गरिबको पक्षमा निर्णय गर्न चाहिँ ठोस कानुनी आधार चाहिने ? त्यसैले उहाँमा संवेदनशीलताको कमी छ’, उनले भने।

व्यवसायी भन्छन्, ‘हामी पनि गरिखान पाऊँ, यो देशकै नागरिक हौँ’

फुटपाथ व्यापारीहरूले अभियन्ता ‘ईः’को आन्दोलनको प्रशंसा गर्दै साथ दिइरहेका छन्। आन्दोलनमा आएका फुटपाथ व्यापारी सरस्वती मगरले महानगरपालिकाका प्रमुख शाहले दुःख दिइरहेका वेला ईःले साथ दिएको बताइन्।

‘उहाँलाई धेरै धेरै धन्यवाद, उहाँले हाम्रो पीडा सुनिदिनु भयो, सलाम छ। भगवान् भएर आउनुभयो’, उनले भनिन्। फुटपाथ व्यापारी सरस्वती ढकालले गरिखान दिन माग गरिन्। ‘हामी पनि यही देशको नागरिक हौँ,गरिखान दिनु, हामीलाई व्यवस्थापन गर्नु’, उनले भनिन्।

महानगरपालिकाका विभागीय प्रमुख दीपक अधिकारीले आज ‘ईः’सँग वार्ता गर्ने केही तयारी नभएको जानकारी दिए। उनले भने, ‘वार्ताका लागि केही जानकारी छैन, भोलि हुने इन्द्रजात्राको विषयमा छलफलमै व्यस्त छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.