एउटै पसलमा म्याद सकिएका २९ बोरा चामल फेला

|

काठमाडाैँ : चाडपर्वका वेला बजारमा अखाद्य वस्तु छ्याप्छ्याप्ती पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा धेरै ठाउँमा व्यावसायिक फर्महरूमा खाद्यान्न,माछामासु,औषधिजन्य तथा तरकारीजन्य दैनिक उपभोग्य वस्तु गुणस्तरहीन पाइएको हो।

असोज १ गतेदेखि चाडपर्व लक्षित अनुगमनमा निस्किएको विभिन्न विषयगत ६ वटा टोलीले आजसम्म काठमाडौं उपत्यकाका ३१ वटा पसल तथा फर्महरूमा अनुगमन गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए।

अनुगमन गरिएका पसलमध्ये काभ्रेको पनौतिस्थित ‘ओम श्री पसछेः ट्रेडर्स’ मा ६७ हजार रुपैयाँ बराबरको २९ बोरा म्याद गुज्रिएको चामल फेला परेको छ। म्याद सकिएको चामल नष्ट गर्दै विभागको टोलीले  पसललाई ३ लाख जरिवाना गरेको सूचना अधिकारी पोखरेलले बताए।

त्यस्तै लेबल अस्पष्ट रहेको पाइएपछि करिब ७० हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गुह्येश्वरी ट्रेड लिंकको गोदाम सिल गरिएको छ। उक्त फर्मले उद्योगहरूबाट सस्तोमा खरिद गरेर बील बीजकबिना नै महँगो मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ। अहिले चिनीको गुणस्तर परीक्षणका लागि ल्याबमा पठाइएको छ।

चारवटा फर्मलाई ८० हजारका दरले जरिवाना, १० वटा फर्मसँग थप कागजात तथा १६ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ। विभागले छुट्टै टोली बनाएर चिनीको अध्ययन पनि परिरहेको छ।

टोलीले ठूला उद्योगहरूमा पुगेर चिनीको मूल्य, स्टकलगायतका बारेमा अध्ययन गरिरहेको सूचना अधिकारी पोखरेलले बताए। विभागकै उपसचिवको नेतृत्वमा गठन भएको टोलीलाई अध्ययन प्रतिवेदन बुझाउन ५ दिनको समय दिइएको छ।

बजारमा देखिने गैरव्यवसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप,बील-बीजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तु बिक्री वितरण गरेको पाइएमा विभागमा उजुरी गर्न भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.