'दुरबिनबाट गरिने अप्रेसनमा हुन्छ कम जोखिम'
'दुरबिनबाट गरिने अप्रेसनमा हुन्छ कम जोखिम'
काठमाडौं : पत्थरी शरीरको भित्री भागमा ढुंगा बन्नु हो, ढुंगा ठाउँ हेरी फरक–फरक हुन्छ। पित्तथैलीको पत्थरीमा क्याल्सियम र बिलुरुबिन भन्ने रक्तकोसिका टुक्रिएर बन्ने कर्ड हुन्छ भने मिर्गौलाको पत्थरीमा क्याल्सियम र आल्मुनियम फोस्फेट कम्पोजिसन पनि पाइएको छ।
चुनढुंगा जस्तो देखिने त्यो ढुंगा कुनै नरम र कुनै कडा हुन्छ। प्राय: मिर्गौला र पित्तथैलीमा देखिने पत्थरी शरीरको अन्य अङ्गमा पनि हुनसक्छ। पेटका विभिन्न भाग आन्द्रा, मूत्रनली, मूत्रथैलीसँगै पाराथाइराइड भन्ने ग्रन्थीमा पनि पत्थरी भएको भेटिन्छ।
मिर्गौलाको पत्थरी सरेर पिसाब नली, पिसाब थैली र पिसाब फेर्ने ठाउँसम्म जानाले पिसाबको बाटो बन्द भई पिसाब नै रोकिदिन सक्छ। ढुंगाहरु मिर्गौलाबाट गएर पिसाब नलीमा अड्केर घाउ पनि गराउँछन्।
पित्तथैलीको पत्थरीले चाहिँ पित्त बग्ने नलीको बाटो बन्द भई जण्डिस पनि हुनसक्छ। त्यस्तो जण्डिसले बिरामीलाई जोखिमको अवस्थामा पुर्याउँछ।
ढुंगा ठूलो हुँदै जाँदा पित्तमा घाउ गराएर पाक्न सक्छ जसको कारणले संक्रमण भएर बिरामीको ज्यानै जान पनि सक्छ।
शरीरबाट पत्थरी निकाल्नु नै मुख्य उपचार
पित्तथैलीको पत्थरी १०० जनालाई छ भने ८० जनालाई थाहा नै हुँदैन, लक्षणै देखिँदैन। कहिलेकाहीँ अन्य जाँचको क्रममा पत्थरीको समस्या थाहा पाइन्छ। लक्षण थाहा छैन भने हानि नोक्सानी गरेको छैन भन्ने हो। सानो–सानो र एउटा मात्र छ, हानि नगरेको भए झिकिरहनु पर्दैन। त्यसले असर गर्दैन।
दु:खेको छैन, बढेको छैन, संख्या थपिएको छैन भने स्वास्थ्य सावधानी अपनाए पुग्छ। तर, एउटै पनि आकार बढ्दै गएको छ, दु:ख्न थालेको छ, संख्या बढ्दै गएको छ भने चाहिँ अप्रेसन गरेर निकाल्नुपर्छ। पत्थरीको उपचार भनेको ढुंगालाई अप्रेसनको माध्यमले निकाल्ने हो। सयौँ केसहरूममा एक-दुईवटामा ओखतीको सहायताले पत्थरीको आकारलाई घटाउन सकिन्छ। तर त्यसो गर्दा पनि ओखती छोड्नासाथ पत्थरी झनै गुणात्मक बढेको पाइएकाले यो प्रभावकारी छैन।
सन्तुलित भोजन र प्रशस्त पानीले पत्थरी हुन दिँदैन
फाइबरयुक्त (रेसा भएको) खानेकुरा जस्तो सागपात, गाँजर, मुला, काँक्रो सलाद धेरै खाएमा, चिल्लो कम मात्र खाने गरेमा पत्थरीको समस्या हुँदैन।
मासु खाँदा बोसो नभएको थोरै रातो मासु खानुपर्छ, अण्डाको पहेँलो भागमा कोलस्ट्रोल हुने भएकाले सेतोभाग खाने पहेँलो भाग कमै खाने। व्रत धेरै बसेर पेटलाई खाली राख्नु हुँदैन।
रगतसम्बन्धी बिमार छ र उपचार बेलामा नगरेको अवस्थामा पित्तथैलीको पत्थरी हुने सम्भावना बढ्छ।
शारीरिक व्यायाम गर्ने, मोटोपना भए घटाउने तर मोटोपना घटाउँदा विस्तारै घटाउने एक्कासि धेरै मोटोपना नघटाउने। शरीरलाई चिल्लोको मात्रा पनि चाहिन्छ।
घरमै बनाएको अर्गानिक तेल अथवा घिउ बजारको तेल घिउको तुलनामा धेरै राम्रो हुन्छ तर त्यो पनि कम गरेर खाने, एकजना मानिसका लागि दिनमा आधादेखि एक चम्चा घिउ खानु राम्रो हुन्छ। तरकारी, दालमा धेरै चिल्लो राखेको छ भने एकचम्चा आधा चम्चा पनि धेरै हुन्छ।
पानीको मात्रा सधैँ सन्तुलीत राखिराख्नु पर्दछ। एकजना मानिसले २४ घण्टामा तीनदेखि चार लिटर झोलकुरा खानु आवश्यक छ। झोल भन्नाले पानी, जुस, फलफूलको, तरकारी–दालको रस सबै जोडिन्छ।
पानी पिउँदा चुस्कीको रूपमा थोरै–थोरै गरेर पिउनु पर्दछ। धेरै पानीको मात्राले पनि हानि गर्दछ। मौसम र ठाउँअनुसार पानीको मात्रा सामान्य थपघट गर्नुपर्ने हुन्छ।
कहिलेकाहीँ दुग्धजन्य कुराउनी (खुवा) जस्ता खानेकुराले पनि पत्थरी गराउनमा सहयोग गरेको पाइन्छ। कसैलाई गोलभेंडा, पालुङ्गोको साग पनि हितकर नदेखिँदा के कारणले पत्थरी भएको हो पत्तो लगाएर सम्बन्धित बिरामीलाई त्यो खानेकुरा नखान सुझाव दिने गरिन्छ।
दुरबिनको सहायताले पत्थरीको अप्रेसन
अचेल दुरबिनको माध्यमले सजिलो प्रविधि आएकोले पहिलेको जस्तो चिरेरभन्दा थप भरपर्दो छ। दुरबिनको सहायताले गर्ने अप्रेसनमा बिरामीलाई पनि कम जोखिम हुन्छ भने नसा कम काटिने भएकाले घाउ सानो हुँदा निको हुन पनि कम समय लाग्दछ।
चिरेर गरिने अप्रेसनमा कतिपय बिरामीलाई पछि हर्नियाको समस्यासमेत देखिने गरेको छ तर दुरबिनको सहायताले गरेको अप्रेसनमा त्यो कुनै खालको समस्या रहँदैन।
पित्तथैलीको पत्थरी निकाल्दा त पित्तथैली नै निकाल्ने हुनाले पित्तथैलीमा फेरि पत्थरी हुने सम्भावना पनि रहँदैन। थोरै समयमा अप्रेसन सकिने यो प्रविधि सर्वसुलभ पनि छ। पित्तथैलीको अप्रेसन ज्यादै दु:खेको छ भने दु:खेको ७२ घण्टाभित्र अथवा दु:खेको दुई महिनापछि मात्र गर्नुपर्दछ।
दु:खाइ नै पत्थरीको मुख्य लक्षण
पित्तथैलीको पत्थरीले पेटको दायाँ भागको माथिपट्टि करङभन्दा मुनिको भागमा दु:ख्छ। दुखाइ सरेर दायाँ कुमको पछाडि ढाडमा पुग्छ तर पेटको बायाँ, पेटको बीचमा, तल वा माथि दु:खेको छ भने चाहिँ त्यो पत्थरीको कारणले होइन भनेर बुझ्नुपर्दछ। चिल्लो बढी खाएको बेलामा पित्तथैलीको पत्थरी धेरै दुख्ने गर्छ।
दायाँ मिर्गौलामा पत्थरी रहेको छ भने दायाँ पट्टी पछाडि ढाडमा दुख्ने गर्छ भने बायाँ मिर्गौलामा पत्थरी रहेको छ भने बायाँपट्टी ढाडमा दुख्ने गर्छ। मिर्गौलाको पत्थरी तल छ कि माथि छ सोहीअनुसार तल भएमा तल र माथि भएमा माथि नै दुख्ने गरेको छ।
मिर्गौलाको पत्थरी सरेर तल मूत्रनली र पिसाब थैली सम्ममा पनि पुग्ने हुनाले दु:खाइ सरेर जान्छ। मिर्गौलाको पत्थरीको कारणले पिसाबमा रगतको मात्रा पनि देखिने गरेको छ।
मिर्गौलाको पत्थरीको कारणले कहिलेकाहीँ नाइटोमुनि डल्लो भएको महसुस हुनेगर्छ र पिसाब फेरेपछि घटेको वा हराएको जस्तो हुन्छ। मिर्गौलाको पत्थरीको कारणले धेरै नै दु:खेको बेलामा मानिसलाई बान्ता पनि हुनसक्छ। पत्थरी तल झरेर पिसाब नली बन्द भई पिसाब थुनिएको पनि छ।
पत्थरी निकालेको ठाउँमा फेरि पनि हुनसक्छ
पत्थरी निकालेको ठाउँमा फेरि पत्थरी हुनसक्छ। मिर्गौलाको पत्थरी अप्रेसन गरेका केहीलाई अप्रेसनको पाँच- छ वर्षपछि फेरि पत्थरी भएर आएका छन्।
पित्तथैलीको पत्थरी भएर पित्तथैली नै निकाले पनि कतिलाई पित्त बग्ने नलीमा केही वर्षपछि फेरि पत्थरी भएको छ। त्यसैलै के कारणले पत्थरी भएको भनेर पत्ता लगाउने गरिन्छ।
पित्तथैलीको पत्थरी महिलालाई धेरै
पित्तथैलीको पत्थरी पुरुषको तुलनामा महिलालाई धेरै हुने गर्छ। मिर्गौलाको पत्थरी महिला पुरुष दुवैलाई बराबर छ। यो उमेरअनुसार हुने समस्या होइन।
धेरै व्रत बस्ने, पेटलाई लामो समयसम्म खाली राख्ने, मोटापना भएको मानिसलाई र छोटोसमयमा मोटोपना घटाएको मानिसलाई बढी देखिने समस्या हो।
कतिपय महिलालाई गर्भावस्था र सुत्केरीको समयमा धेरै चिल्लो खाएको कारणले पनि पित्तथैलीको पत्थरी भइसकेको हुनसक्छ। पेट खाली राखिरहने, असन्तुलित खाना खाने, चर्को गर्मीमा काम गर्ने, चिल्लो धेरै खाने र पानीकम खाने मानिसलाई पत्थरी धेरै भएको पाइएको छ।
६ महिनामै फर्किन सक्छ पत्थरी
पत्थरी नभएको मानिसलाई ३ देखि ६ महिना र एक वर्षको समय अवधिमा नै पत्थरी भइसकेको हुनसक्छ। एकपटक भएकालाई फेरि हुन पनि सक्छ। कतिपय मानिसलाई जिन्दगीभरी नै पत्थरी हुँदैन भने कतिलाई पत्थरी भए पनि त्यो बढ्दैन।
स्वास्थ्य सावधानी अपनाएको खण्डमा पत्थरी बढ्दैन भने पत्थरी नभएको मानिसलाई थोरै सावधानीले पत्थरी हुनबाट सधैँ जोगाउँछ।
डा. थापासँगको कुराकानीमा आधारित
तपाईंको ईमेल गोप्य राखिनेछ ।