|

काठमाडौं : झण्डै चालिस वर्षअघि बहुचर्चित ‘पानको पात’ बोलको दोहारी गीतमा स्वर दिएपछि  सर्वत्र छाउने लोकप्रिय गायिका मीरा रानामगरको आवाजमा अनगिन्ति लोक तथा दोहोरी गीतहरू छन् तर विगत तीस वर्षयता गीतसंगीतको दुनियाँमा  गुमनाम जस्तै लाग्ने उनीसँग भएको कुराकानीको संवादित अंश :

हालखबर, स्वास्थ्य कस्तो छ?

सबै राम्रो छ, सामान्य बेसञ्चो भैहाल्छ त्योबाहेक आरामै छु।

घर व्‍यवहारसँगै अरू पनि काम हुनुहुन्छ?

अरू खास छैन, पारिवारीक परिस्थितिले लामो समय देशबाहिर बसेँ। प्रज्ञाप्रतिष्ठानको जागिर छोडेर विदेश गएँ। जीवन धेरै सुखी–दुःखीभन्दा पनि ठिक्कको सन्तोषजनक भयो भनौँ न।

चिन्‍ने जान्नेले मीरा रानामगर हराउनुभयो भत्रुहुन्छ नि?

रहरले गीत गाएको तर यहीँ बसिरहने परिस्थिति बनेन। बेलायतमा बस्दा र पछि जर्मनीमा बस्दा घर व्‍यवहारमै व्‍यस्त भएँ। अहिले पनि बेस्सरी रहर छ, अब पूरा गर्ने कोसिसमा छु।

घर परिवारमा कोको, कहाँ हुनुहुन्छ?

मेरो परिवारमा श्रीमान, छोरा र म तीनजना छौँ। बाउछोरा उता जर्मनीमै हुनुहुन्छ। आउनेजाने गरिरहन्छौँ।

तपाईंलाई पानको पातगीतको गायिका भन्छन्, कस्तो लाग्छ?

धेरै नै खुसी लाग्छ। मैले दुईपटक राष्ट्रव्‍यापी प्रतियोगितामा दोस्रो र एकपटक प्रथम पुरस्कार र सम्मान पाएको छु। अरू धेरै गीतहरु गाएँ तर मलाई पानको पातले बढी चिनायो। त्यो गीत सायद रफिक मियाँको संकलन हो, प्रेमराजा महत, बमबहादु कार्की दाइहरुले थप परिष्कृत पार्नुभयो। बमबहादुर कार्की, प्रेमराजा महत, कृष्णशुधा ढंगाना, सरला गौचन, सुमित्रा गुरुङ र मैले स्वर दिएका थियौँ।

२०४०-४१ सालतिर रेकर्ड भएको थियो होला–‘पानको पात, माया तिम्लाई सम्झिन्छु दिनको रात मर्स्याङ्दी सलल...’ देशविदेश पुग्यो। नेपाली हाम्रो मनमनमा बस्यो।

लोकप्रीय कलाकार तपाईंलाई पछि खोजेनन्?

खोजे पनि मैले नै गाउन सकिनँ, उहाँहरुसम्म पुग्न सकिन। धेरैले सम्झिनुभएको थियो।

तपाईंको स्वरमा कति गीत छन्, सबै लोकगीत हुन्?

सबै लोकगीत हुन, ३०-४० वटा होलान् तर अचेल मेरै गीतहरु बिर्सिन लागेँछु। रेडियो नेपाल र म्युजिक नेपालमा पुगेर खोज्नुपर्ला।

पहिलो गीत कुन हो, कहिले रेकर्ड भएको हो?

पहिलो गीतको रेकर्ड २०३९-४० सालतिरै होला कि, कुन गीत भन्ने भुलेँ। ‘पानको पात’ भन्दा पहिला रेडियो नेपालको चौतारी कार्यक्रममा गीत गाएको थिएँ, त्यै बेला मेरो पहिलो गीत रेकर्ड भएको। म खेलाडी थिएँ, पश्चिमाञ्चलको गण्डकीबाट क्षेत्रीय खेलकुदको प्रतिस्पर्धाको लागि काठमाण्डौमा आएको बेलामा गीत रेकर्ड गरेको।

प्रेमराजा दाइ र मेरो एउटै गाउँ हो। हाम्रो गाउँ तनहुको ढोरफिर्दिमै रोधीमा, आजापुजामा बेस्सरी गीत गाउने गरेको कुरा प्रेमराजा महत, कृष्णशुधा ढुंगाना दाइहरूलाई थाहा भएर मीराले गीत गाउन सक्छिन् भन्ने भो उहाँहरूकै कारणले  गीत गाएँ। खेल खेलेर नाम कमाउने भन्‍ने थियो, गीत गायर पुरस्कार जितें, गीतले चिनायो।

गीत गाउन कहाँकहाँ पुग्नुभयो?

नेपालगञ्ज, पोखरालगायत धेरै शहरमा पुगेको छु। जनकपुरमा चैं प्रज्ञा प्रतिष्ठानमा काम गर्दा गएको। जानकी मन्दिरमा रामायण सम्मेलन थियो, हामी भजन गाउन गएका थियौँ। खुसी लाग्छ गीतले मलाई आफ्नो देशको धेरै ठाउँमा पुर्‍यायो।

गीत गाएर कमाको चैँ?

पैसा कमाउँला भन्ने थिएन र छैन। ऊ बेला राष्ट्रिय प्रजातन्त्र दिवसमा रेडियो नेपालले गरेको राष्ट्रव्‍यापी लोकगीत प्रतियोगिता २०४४ र २०४५ मा दोस्रो र २०४६ सालमा प्रथम भएको हुँ। सम्मान–पत्र, तक्मासहित नगद पाएको थिएँ। नगद चैँ ५-१० हजार हुँदो हो। त्यो हजार अहिलेको लाखभन्दा धेरै होला। आफ्नो संस्कृतिको काम गर्न पाऐं, त्यो नै ठूलो कमाइ हो।

गीत नगाएको, रेकर्ड नगरेको कति भयो?

३० वर्ष जति भयो, लेख्थें पनि। ‘रनवन ढुकुरको जोडी, मेरो मात्रै कान्छी सधैँको बिजोडी’ मेरो गीत योगेन्द्र आर्चायले मिठो गाउनुभएको छ। अरूले पनि गाउनुभयो तर मैले नै बिर्सिसकेँ। रेकर्ड नभएका केही गीत अझै छन्।

सँगै गाउने कलाकार कोको हुनुहुन्थ्यो?

नारायण रायमाझी, कृष्णशुधा ढुंगाना, प्रेमराजा महत, बमबहादुर कार्की, हरिदेवी कोइराला, युक्त गुरुङ, लोचन भट्टराई, लोकबहादुर क्षेत्री, कृष्ण गरुङ, कृष्ण थापा, सुमित्रा गुरुङ, सरला गौचनलगायत अरू पनि।

जताततै हाम्रो यीनै समुहले गायको गीतहरु बज्थे। एकपटक युरोपको होटलमा खाना खानकोलागी गएको, ‘पानको पात’ गीत बजीरहेको रहेछ तर यो गीत गाउने म हुँ भन्न सकिन किनकी बिदेशी मात्र थिए। हाम्रो गीतमा रमाइलो गरिरहेका। भाषा नबुझ्नेहरुले पनि रुचाएको देखेर दंग परेँ। अब त नेपालमै चैँ हाम्रो गीत बजेको सुनिँदैन।

लोकगीत कस्तो रहेछ?

विश्वमा हामीलाई चिनाउने हाम्रो लोकगीत पनि हो। संसारभर छरिएका नेपालीको आत्मा जोडिदिने यही हो। हाम्रो गीतले मान, सम्मान र इज्जत सँगै पैसा पनि दियो। यो राष्ट्रिय एकताको  मियो रहेछ।

अचेल अमौलिक गीतहरु गाउन थाले भन्छन् नि?

पहिला मन–मनमा बस्ने गीतहरू हुन्थे, अहिले युट्युबकोलागी गीत बन्छन्, मनमा चैं बस्न छोडे। क्षेणीक मनोरञ्जनको लागि गीतहरू बने पनि राम्रो र ठेट गीत सुन्ने मानिस नै नभएको चैँ होइन, तर ज्यादै कम हुनुहुन्छ।

गाउनेले सुन्नेको चाहना अनुसारको गीत गाउन थाले, बनाउनेले पनि बजार हेरेर मात्र हेर्ने गीत बनाउन थाले, त्यै भएर अपजस खेप्न परेको हो।

त्यो अपजस कसले लिन्छ त?

गीतको रचना गर्नेदेखि गाउने, बनाउने जम्मैले लिनुपर्छ। सुन्ने-हेर्ने श्रोता– दर्शकको भागमा पनि अपजसको हिस्सा जान्छ होला। सबैले नहेर्ने, नसुन्ने हो भने त्यस्ता गीतहरू आउने थिएनन्। एक न एक दिन मौलिकपनमा फर्किनु पर्नेछ, फर्किनेछन्।

फेरि गीत गाउँछु भन्नु भो, मीरा रानामगरको पुनरागमन बुझौँ?

अँ, भन्न मिल्छ। तर, गीत गाएर निकै ठूलो व्‍यवसाय बसाल्न खोजेको, चर्चा बटुल्न खोजेको चैँ होइन। रहर पूरा गर्ने र मौलिक गीतको प्रति रहोस् भन्ने हो।

गीत गाउँदा खर्च ठूलै छ, आम्दानी होला?

मौलिक गीतको लागि लगानी गर्छु तर आम्दानी खोज्दिनँ, नभए पनि ठिकै छ। अहिले गीत गाउन, निकाल्न ज्यादै महँगो भएको रहेछ। हामीले अहिलेको बजारको मेसो नै नपाउने रहेछौँ। तै पनि अबको केही महिनापछि म मेरा नयाँ गीत लिएर आउँछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.