कात्तिक १४ गतेदेखि प्रवेश परीक्षा

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले चौतर्फी विरोधपछि अन्तत: बीई/बिआर्कको शुल्क घटाएको छ। इन्जिनियरिङ अध्ययन संस्थानले जारी गरेको नयाँ सूचनाअनुसार बिई/बिआर्क ४ वर्षको धरौटीसहित नियमिततर्फ ५६ हजार ७ सय,पूर्ण शुल्कीयतर्फ ४ लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १२ हजार ५ सय शुल्क कायम गरिएको छ।

यसअघि  त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ५ गते इन्जिनियरिङको स्नातक तह(बीई)मा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएकाे शुल्क सार्वजनिक गरेको थियो। तर, उक्त शुल्क इन्जिनियरिङ अध्ययन संस्थानले अस्वाभाविक रूपमा बढाइएको भन्दै यसको चौतर्फी विरोध भएको थियो। 

शुल्क वृद्धिविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरी विरोध प्रदर्शन गरेकाे थियाे। 

यस्तै,नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु,अखिल क्रान्तिकारी,अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियन,पुल्चोक क्याम्पसका स्ववियु  लगायतले शुल्क वृद्धि निर्णय फिर्ता लिन माग गर्दै विरोध गरेका थिए। पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी सुलभ चापागाईंले उक्त क्याम्पसमै आमरण अनशन नै बसेका थिए। 

शुल्क विवादले सदस्यहरूको राजीनामादेखि प्रवेश परीक्षा स्थगितसम्म

शुल्क विवादकै कारण प्रवेश परीक्षा सञ्चालन गर्न नसकेपछि त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान बीईको प्रवेश परीक्षा बोर्डका ७ जना सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए। राजीनामा दिनेमा अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्य,सदस्य सह-प्रा.डा. इन्द्रप्रसाद आचार्य,सदस्य सह-प्रा.डा.संजिव प्रसाद पाण्डे,सदस्य उप प्रा किरणचन्द्र दाहाल छन्। यस्तै,सदस्य सचिव बिदुर दकाल,सल्लाहकार सहायक (परीक्षा) प्राडा सुरज लामिछाने र प्राध्यापक प्राडा हिक्मतराज जोशी थिए। 

यस्तै,शुल्क विवादकै कारण २ पटक तोकिएको बिइको प्रवेश परीक्षा पनि रोकियो। विद्यार्थी संगठनहरूको विरोधका कारण इन्जिनियरिङ अध्ययन संस्थानले भदौ १९ पछिका सम्पूर्ण पूर्वप्रकाशित बीई/बिआर्कको परीक्षा तालिकाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरेको थियो।

त्यसपछि इन्जिनियरिङ अध्ययन संस्थानले असोज २२ गते प्रवेश परीक्षा समय तोक्याे। तर, प्रवेश परीक्षा बोर्डकै सदस्यहरूले सामूहिक राजीनामा दिएपछि ताेकिएकाे उक्त समयको प्रवेश परीक्षा पनि स्थगित भएको थियो। उक्त विवाद झनै बल्झिएपछि संसदमा समेत प्रवेश पायो।

गत बिहीबार भएको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद शान्ति चौधरीले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान र स्ववियुबीच भएको विवादले पठनपाठन ठप्प भएको भन्दै तत्काल यसको समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएकी थिइन्।

यो विवादले प्राविधिक शिक्षालयको साख जोगाउन गाह्रो भएकोसमेत उनले चिन्ता व्यक्त गरेकी थिइन्। उनले भनेकी थिइन्,‘केही दिनयता इन्जिनियरिङ अध्ययन संस्थान र त्यहाँको स्ववियुबीचको विवाद उत्कर्षमा पुगेको देखिन्छ, एक अर्कामा दोषारोपण गर्दा पठनपाठन ठप्पले गर्दा देशकै उदाहरणीय प्राविधिक शिक्षालयको साख जोगाउन गाह्रो भएको छ, यसमा ध्यान दिँदै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

राेकिएकाे प्रवेश परीक्षा कात्तिक १४ गतेदेखि

विवि इन्जिनियरिङ्ग अध्ययन संस्थानले राेकिएकाे बिईको प्रवेश परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन गर्ने भएको छ।

संस्थानको सूचनामा भनिएको छ,‘त्रिवि इन्जिनियरिङ अध्ययन संस्थाले शैक्षिक वर्ष २०८०/०८१ मा विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिईने बिई/बिआर्क तहको प्रवेश परीक्षा भदौ २५ गते देखि सञ्चालन हुनुपर्नेमा विशेष कारणवश सञ्चालन हुन नसकेको हुँदा उक्त परीक्षा मिति २०८० कार्तिक १४ गते देखि सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

संस्थानले यस भन्दा पहिले प्रवेश परीक्षा आवेदन फाराम भर्न छुट भएका आवेदकहरूले असोज २२ गते देखि २४ गते सम्म अनलाइनमार्फत प्रवेश परीक्षा फाराम
भरिसक्नुपर्ने जनाएको छ। यस्तै,प्रवेश परीक्षा २०८० सम्बन्धी विस्तृत जानकारी असोज २१ गते साँझ ५ बजे प्रवेश परीक्षा बोर्डको बैवसाइटमा हेर्न सकिने संस्थानले जनाएको छ।

स्ववियु सभापति भन्छन्- अब परीक्षा राेकिँदैन

पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्यालले लामो समयको आन्दोलनको संघर्षपछि इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क घटाएको बताए। उनले भने,‘विभिन्न समयको विरोध मागकै कारण बल्ल अस्वाभाविक रूपमा वृद्धि गरिएको शुल्क घटेको छ।’

उनले अब प्रवेश परीक्षा पनि नरोकिने जानकारी दिए। ‘हाम्रो माग भनेको शुल्क वृद्धि गरी विद्यार्थीहरूलाई आर्थिक भार नहोस् भन्ने हो,शुल्क घटेको छ,अब कुनै विरोध हुँदैन,तोकिएकै समयमा प्रवेश परीक्षा हुन्छ,’उनले भने। अहिले स्ववियुबाट क्याम्पसमा कुनै ताला नभएको पनि जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.