अन्जानमा चोरलाई निम्तो

|

काठमाडौं : दशैँतिहार तथा छठ पर्वमा सर्वसाधारणको सुरक्षामा देशभर ५० हजार प्रहरी खटिएका छन्।

नेपाल प्रहरीले देशैभर विशेष सुरक्षा योजना लागू गर्दै चाडपर्व लक्षित सुरक्षाकर्मी परिचालन गरेको हो। यो योजनाअन्तर्गत देशभर ५० हजार ५३० जना प्रहरी खटाइएको प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुवेर कडायतले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आइतबारदेखि नै देशैभरका प्रहरी एकाइमा लागू गर्न सूचना जारी गरेको छ।

प्रहरी टोलीले आवश्यकताका आधारमा सीमानाका, यात्रु सहायताकक्ष, नागरिक सहायता कक्षमार्फत सर्वसाधारणलाई सुरक्षा दिनेछन् भने केही टोली गस्ती निस्कनेछन्। सबैभन्दा बढी काठमाडौं उपत्यकामा १२ हजारभन्दा बढी प्रहरी खटाइएको प्रहरी महानिरीक्षक कडायतले बताए।

उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मद्देनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी एकाइले आ-आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यो वर्षको दशैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुत पारिएको छ।

‘प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी काठमाडौं उपत्यकामा हुन्छ करिब १२ हजार प्लस हुन्छ’‚ डिआइजी कडायतले थपे,  ‘त्यसमा हामीले २ सयभन्दा बढी यात्रु सहायता कक्ष (ट्राफिक प्रहरी)ले राख्छ। २७० भन्दा बढी नागरिक सहायता कक्ष (जनपद प्रहरी)ले र ५० भन्दा बढी प्रहरी सीमानाकामा रहन्छ।’

सीमानाकामा विदेशबाट आउने नेपालीको सहायताका लागि ५०-५१ जना प्रहरी सीमा सीमामा खटिइने उनको भनाइ छ।

दशैँतिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको छ। घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

अहिले सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा मानिसले आफू र आफ्ना परिवारका हरेक गतिविधि सामाजिक सञ्जालमा राख्ने गरेका छन्। यही क्रियाकलाप अपराधीका लागि उपयोगी हुने गरेको छ। त्यसैले आफूहरू घरमा नरहेको जानकारी सामाजिक सञ्जालमै नगराउन सुझाएको हो।

घर पूरै खाली छाड्नुपर्ने अवस्थामा छिमेकी वा नजिकको प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ।​

चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले चनाखो हुन र आफ्ना घरछिमेकमा त्यहाँ गतिविधि भए वा हुने सङ्केत देखिए तत्काल नजिकको प्रहरी युनिटमा वा १०० मा खबर गर्न अनुरोध गरिएको छ। दशैँतिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्न चौबीसै घण्टा प्रहरी खटिने प्रवक्ता कडायतले जानकारी दिए।

प्रहरीले दशैँतिहारमा बढी लोड हुने, छतमा राखेर यात्रु ओसारपोसार गर्दा हुने दुर्घटना, सामाजिक सञ्जालमा दिइने घर खाली भएका सूचना, चोरी लुटपाट, झै-झगडा जस्ता घटनालाई सुरक्षा चुनौतीको रूपमा लिएको छ। उनले भने, ‘मान्छेहरू घर खाली छाडेर जान्छन्। त्यो हुँदा चोरी र लुटपाट हुने जोखिम हुन्छ।’

घरको फोटो खिचेर हामी १५ दिनको लागि भ्याली आउट भनेर हाल्दा चोरलाई सूचना दिए जस्तो हुने उनले बताए। त्यसैले घर छाड्नुपरे छिमेकीसहित नजिकैको प्रहरीलाई जानकारी गराउनुपर्ने उनको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.