|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशसँग समन्वय गर्नुपर्ने बताए।

सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको बताए। मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास र कुरीति न्यूनीकरण गर्न थप प्रभावकारी पहल गर्नुपर्ने बताए।

उनले समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीविरुद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्ने, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री दाहालले भने, ‘सबै क्षेत्रले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिनु उत्तिकै महत्त्वपूर्ण छ। मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यससम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्दा सरोकारवाला पक्ष र निकायको प्रतिनिधित्व गराउनेतर्फ गम्भीर ध्यान दिनुपर्छ। स्वस्थ जीवनशैलीका लागि स्वस्थ आहार, पर्याप्त आराम र निद्रा, नियमित व्यायाम गरौँ। मद्यपान वा सुर्तीजन्य पदार्थको सेवन नगरौँ। दुःखमा साथी, सहकर्मी, आफन्तको सहयोग लिउँ र सहयोग गरौँ। मानसिक स्वास्थ्यमा केही समस्या देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन नहिच्किचाऔँ।’

प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐन संशोधन लगायतका समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.