|

काठमाडौं : काम वा अध्ययन गर्न र अन्य पेशाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक समस्या खेप्नुपर्छ । 

अझ वैदेशिक रोजगारीका लागि अत्यधिक नेपाली जाने मुलुकमा नवीकरणसँगै नयाँ राहदानी लिनु भनेको ठूलो युद्ध जितेजस्तो हुने गरेको त्यहाँस्थित नेपाली बताउँछन्।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, लामो समयदेखि दुबईमा कार्यरत नवलपरासीका मोहन बस्यालले भन्छन्, ‘धेरै नेपाली दुबईमा बस्छन्, दूतावास भने आबुधाबीमा छ। त्यहाँ पुग्नै लामो समय लाग्छ ।’  नेपालमा छुट्टी हुँदा पनि दूतावास बन्द हुने र दुबईमा छुट्टी हुँदा पनि बन्द हुने समस्याले राहदानी बनाउन अर्को चुनौती दोहोरिने गर्छ । दुबईबाहेक रस अल खेमा, अजमान, फुजेरा क्षेत्रका नेपाली नागरिकलाई अझ अपायक छ।

दूतावासले सेवा राम्रो नदिएकै कारण त्यहाँ लामो समय बसेका नेपाली आफैँले आवेदन फाराम भर्न टाइपिङ सेन्टर खोलेर सहज बनाउने प्रयास गरेका छन्। खाडी मुलुकमा मात्र हैन, युरोप, अमेरिकामा रहेका नेपालीले पनि समयमा नयाँ राहदानी बनाउन र नवीकरण गर्न नपाउने गुनासो उस्तै छ । पोर्चुगलमा रहेकी चितवनकी पुनम गौतम घुम्ती शिविर नआए राहदानी नवीकरणको सम्भावना नै नरहेको बताउँछिन्। ‘छ महिनाअघि शिविर आएको थियो, त्यो वेला बनाउन नपाएका र नभ्याएका तनावमै छन्’, उनले भनिन्।

राहदानी विभागका महानिर्देशक लक्ष्मण खनाल विदेशका नियोगमा राहदानी दिलाउन समस्या रहेको स्वीकार गर्छन्। ‘इनरोलमेन्ट’को मिति नै नपाएको भन्ने गुनासो बढी विभागमा आउने गरेको छ । दूतावासको क्षमता सानो छ तर सेवाग्राही विदेशमा धेरै भएकाले गाह्रो छ । ‘विदेश जानेको सङ्ख्या धेरै गुणा बढिसक्यो तर सेवा दिने जनशक्ति र क्षमता पुरानै छ ’, उनी भन्छन्। आवेदन लिएर इनरोलमेन्ट गर्नकै लागि विदेशका नियोगमा पर्याप्त जनशक्ति नहुँदा पनि आवश्यकता अनुसार थप्न नसकिएको उनको भनाइ छ।

उनका अनुसार मध्यपूर्वसहितका खाडी मुलुकका श्रम गर्न गएका नेपालीको पीडा मेट्न त्यहाँस्थित दूतावासको सेवाले सकेको छैन । अझ युरोप र अमेरिकातिर नेपाली नागरिकको पहुँच बढ्दै जाँदा सोअनुसारको सेवा दिन नसकिएको उनले बताउनुभयो । ‘विभागले १५ देखि २० दिनमा राहदानी बनाएर पठाएकै छौँ तर पनि समस्या उस्तै देखिन्छ’, खनालले भने।

परराष्ट्रले राजदूतावास र महावाणिज्य दूतावास नभएका स्थानमा घुम्ती टोली खटाएर सेवा दिन नखोजेको होइन। त्यसमा निरन्तरताको कमी छ । युरोपमा राहदानी आपूर्तिभन्दा माग बढी भएकाले पनि समस्या बढेको हो। जनशक्ति अभाव पूर्ति गर्न फेरि पनि गृह मन्त्रालयसँग काजमा कर्मचारी माग गर्न छलफल चलिरहेको उनले जानकारी दिए।

विभागका प्रवक्ता कुमार राईले क्षमता अनुसार सेवा दिए पनि बढ्दो जनसङ्ख्या अनुसार विदेशका नियोगमा जनशक्ति र क्षमता विस्तार गर्न नसकेकाले समस्या बल्झिएको पुष्टि गरे। विदेशका ३० दूतावाससहित ४० स्थानबाट राहदानी र विदेशमा आवश्यक अन्य कागजात बनाइन्छ। यस अनुसार महावाणिज्य दूतावासमध्ये चीनको छेन्दुबाहेक हङकङ, ग्वाङजाउ, ल्हासाबाट सेवा दिइन्छ। छेन्दुमा चाँडै महावाणिज्य दूतावास स्थापना गर्ने तयारी छ । त्यस्तै कोलकाता, अमेरिकाको न्युयोर्क, साउदीको जेद्दा, अस्ट्रिया र जेनेभामा महावाणिज्य दूतावासले सेवामा सघाइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.