‘हामी नगरवासीको हितमा काम गरिरहेका छौँ’

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको तीन महिना पूरा भइसकेको छ। गत असार १० गते महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको थियो। महानगरपालिका उपप्रमुख सुनिता डंगोलले आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको घोषणा गरेकी थिइन्।

नीति तथा कार्यक्रममा आर्थिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार,संस्कृति सम्पदा तथा पर्यटन,वातावरण व्यवस्थापन,शहरी यातायात लगायत थुपै क्षेत्रमा विभिन्न योजना ल्याइएको छ। तर,ती योजना कार्यान्वयनमा आउँछ वा आउँदैन भन्नेमा आशंका अझै कायम छ। कतिपय कार्यक्रम भने कार्यान्वयनमा आएका छन्।

शिक्षामा सिप कार्यक्रम

महानगरपालिकाले आवमा शिक्षामा सीप कार्यक्रम घोषणा गरेको थियो। त्यो कार्यक्रम कार्यान्वयनमा आइसकेको छ। महानगरभित्रका सामुदायिक विद्यालयमा प्रत्येक शुक्रबार ‘बुक फ्रि फ्राइडे’ हुन्छ, जसमा विद्यार्थीले विभिन्न सीप सिक्न पाइरहेका छन्। विद्यार्थी तथा शिक्षक यो कार्यक्रम प्रभावकारी भएको बताउँछन्।

महानगरपालिकाका अनुसार कक्षा ९ मा नमुनाका रूपमा थालिएको यो कार्यक्रमका लागि कृषि तथा शहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्।

फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विधा छन्।

‘आइडिया बैंक’ कार्यक्रम

महानगरपालिकाले आवमा घोषणा गरेको आइडिया बैंक कार्यक्रम कार्यान्वयनमा आएको छ। आइडिया बैंक कार्यक्रमको प्रमुख उद्देश्य दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञको ‘ब्रिज’को रूपमा महानगरवासीको सोच र योजनालाई व्यवसाय बनाउने योजना महानगरपालिकाको छ।

महानगरपालिकाका प्रमुख बालेन साहका अनुसार यसका लागि महान आइडिया भएकासँग विभिन्न विषयगत क्षेत्र समेटेर पाँच विधामा आवेदन माग गरी थप प्रकृया अगाडि बढाइएको छ। 

श्रम बैंक स्वर्णिम योजना

महानगरपालिकाले महानगरको बेरोजगार समस्यालाई ३ वर्षभित्र समाधान भन्दै ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि, गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना’ सञ्चालनमा ल्याएको छ।

महानगरपालिका प्रमुख शाहले हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सिपमूलक तालिम दिने र कम्तीमा पाँच हजार जनालाई नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ यो योजना ल्याएको बताए।

‘महानगरमा रहेका दक्ष,अर्धदक्ष तथा अदक्ष कामदार र रोजगारदातालाई एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र  रोजगारदातालाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित  श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याइएको छ’, उनले भनेका छन्।

उनका अनुसार महानगरका स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिक श्रम बैंकमा आबद्ध हुन सक्नेछन्। श्रम बैंकमा आबद्ध हुनका लागि महानगरले उपलब्ध गराएको लिंक वा ‘क्यूआर’मा ‘क्लिक’ गरी फारम भर्नसकिने छ। श्रम बैंकमा आबद्ध भएका दक्ष कामदारहरूलाई अन्तवार्ता तयारीका साथ सोझै काममा लगाउने महानगरको जनाएको छ। 

छात्रवृत्ति वितरणमा नियमन

महानगरपालिकाले आफैँले परीक्षा सञ्चालन गरी छात्रवृत्ति वितरणको व्यवस्था पनि गरेको छ। केही समयअघि कक्षा ११ मा अध्ययन गर्नेहरूका लागि कोटाअनुसार परीक्षा सञ्चालन भयो।

कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ। तर, यो व्यवस्थाअनुसार निजी विद्यालयले छात्रवृत्ति दिने गरेका थिएनन्। महानगरपालिकाले भने गत जेठ ३० गते विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा संस्थागत विद्यालयको नाम सार्वजनिकसमेत गरेको थियो। 

प्लाष्टिक प्रयोग निषेध योजना कार्यान्वयन

महानगरपालिकाले योजना ल्याएको लामो समयपछि ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोग गर्न निषेध गर्ने योजना कार्यान्वयन ल्याएको छ।महानगरपालिकाले साउन १४ गतेदेखि महानगरपालिकाभित्र प्लाष्टिक प्रयोगको अनुगमन गर्न थालेको छ।

महानगरपालिकाले साउन १ गतेदेखि नै प्लाष्टिकलाई निषेध गर्ने निर्णय गरेको थियो। महानगरपालिका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिनेछ। महानगरपालिकासँग ५ वटा माइक्रो मिटर छ।

तर,प्रभावकारी भने भएको देखिँदैन। प्लाष्टिकमुक्त अभियान अन्तर्गत करदातालाई कपडाको झोला वितरण गर्ने बजेटमा घोषणा भएको थियो। तर, झोला वितरण भने भएन।

फुटपाथमा छापियाे ब्लक

महानगरपालिकाले आवमा बाटोमा र फुटपाथमा ब्लक छाप्ने भनी योजना ल्याएको थियो। उक्त योजना पनि कार्यान्वयनमा आएको छ। पैदल मार्गलाई यात्रुमैत्री बनाउन महानगरपालिको यो वर्ष २ अर्ब १५ करोड रूपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गरिरहेको छ।

महानगरपालिकाका अनुसार यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको छ। निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनोट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ।

मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको छ। केही सार्वजनिक सूचना प्रकाशनको चरणमा छन्। 

सामुदायिक कुकुरको बन्ध्याकरण

महानगरपालिकाले लामो समयपछि सडक कुकुरको पनि व्यवस्थापन गर्न थालेको छ। महानगरपालिकाले आज(मंगलबार)देखि बन्ध्याकरण गर्ने कार्य शुरू गरेको हो। महानगरपालिकाले समयमा कुकुरको व्यवस्थापन गर्न नसक्दा काठमाडौंमा कुकुरको बिगबिगी : जोखिम मोल्दै सर्वसाधारण तर महानगरको बजेट ‘फ्रिज’ भएको थियो।

महानगर प्रमुख साहले सामुदायिक  कुकुर र बिरालोको संख्या सीमित पारेर बस्न र बाँच्न पाउने उनीहरूको अधिकार सुरक्षित गर्न लागेको जानकारी दिए। उनका अनुसार ९ वटा वडामा एकैसाथ बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालन गरिएको छ।

उनले ३ महिनाभित्र ५ हजार ८०० को बन्ध्याकरण र १६ हजारलाई रेबिजविरूद्धको खोप दिने सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। ९ वडा हुँदै विस्तारै ३२ वडामै पुग्ने उनको भनाइ छ। महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाका अनुसार काठमाडौंभित्र मात्र करिब २० हजार छाडा कुकुर रहेको अनुमान गरिएको छ।  कुकुर व्यवस्थापनका लागि चालु आवमा १ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन भएको जानकारी उनले दिए।

सडक हरियाली बनाइँदै

कामपा क्षेत्रभित्रका खोलाको दायाँबायाँ, किनारा,धार्मिक स्थल,सडक छेउछाउमा वृक्षारोपण गर्ने महानगरको योजना छ। यसका लागि आवमा १५ लाख बजेट बिनियोजन भएको महानगरको वार्षिक कार्य योजनामा उल्लेख छ।

यसअन्तर्गत महानगरपालिकाले बिजुली बजारको ‘आर्क ब्रिज’मा विभिन्न थरीका फुलहरूले सजाएको छ। अहिले महानगरपालिकाले शहरको सौन्दर्यवृद्धि गराउन भन्दै माइतीघर मण्डला,बबरमहल,बिजुली बजार क्षेत्रका विजुली पोलमा स्मार्ट बत्तीसमेत जडान गरेको छ। 

यस्तै,महानगरपालिकाले बजेटमा घोषणा गरेअनुसार सहकारी संस्थाको नियमन गर्नै प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य क्षेत्रमा प्रचलित स्वास्थ्यसम्बन्धी कानून अनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचारको व्यवस्था पनि महानगरले गरेको छ। 

‘हामी मतदाताहरूको हितममा काम गर्दै आएका छौँ’

महानगरपालिकाका प्रमुख साहले महानगरपालिकाले मतदाताहरूको हितमा महानगरले काम गर्दै आएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो घोषणा पत्रमा सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकबत्ती जडान, फुटपाथ निर्माण लगायतका काम गर्ने उल्लेख गरेका थियौँ, हामी यस पालिकाभित्र बस्ने आम मतदाताहरूको हितमा काम गर्दै आइरहेको यहाँहरूलाई थाहा नै छ।’

उनले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण,२५ वटा नयाँ पार्कको निर्माण, सहरको सुरक्षा र पैदल यात्रीहरूलाई सहजता प्रदान गर्न१७ सय वटा स्मार्ट सडकबत्ती जडान गरेको जानकारी दिए। यस्तै,४२ किमी सडक कालोपत्रे, ७ किलोमिटर नयाँ ढल निर्माण, १५ सय मिटर फुटपाथ निर्माण  भएको पनि उनले जानकारी दिए। 

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्वर्णिम योजनाहरू महानगरले अघि सारिरहेको बताइन्। गत शुक्रबार आयोजित एक सार्वजनिक कार्यक्रममा उनले भनिन्,‘हामीले एक अर्बको स्वार्णिम योजना अघि सारेका छौँ, यो योजनाले सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथ व्यवस्थित बन्ने छन्, ३ महिनाभित्र काठमाडौंका सडकमा सीसी टीभी र बत्ती पनि जोडिसक्ने छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.