|

पाल्पा : जिल्ला प्रहरी कार्यालय पाल्पाले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्क, बर्तुङ, दोभान, हार्थोक, आर्यभन्ज्याङ, रामपुरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यी कक्षमा यात्रुले गुनासो गर्न पाउने छन्। प्रहरीले निगरानी बढाउने छ। यसरी स्थापना गरिएको सहायता कक्षले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने छ।

यात्रुलाई परेका समस्याबारे सहजीकरण गर्न यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए। चाडपर्वका बेला यात्रुको चाप बढ्ने, सावारी दुर्घटना पनि बढ्ने जोखिम, लुटपाट, ठगी हुने, तोकिएभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, अवस्था राम्रो नभएका गाडी चलाउने जस्ता गतिविधिलाई नियन्त्रण गर्न सहायता कक्षले काम गर्ने उनले बताए।

‘धेरै दुर्घटना हेलचेक्रयाइँका कारणले हुने गरेका छन्’, उनले भने ‘यात्रुका जिद्दीका कारणले हुने दुर्घटनालाई कम गर्नका लागि यात्रु स्वयम् सचेत हुनुपर्छ।’

शान्तपूर्ण तरिकार चाडपर्व मनाउने वातावरण सिर्जना गर्नका लागि यात्रु, चालक, सहचालक, सुरक्षाकर्मीबीच सहकार्य हुनुपर्छ। आफू ठगिएको वा अप्ठ्यारो परेको महसुस भएमा नजिकैको प्रहरीमा खबर गर्न प्रहरी उपरीक्षक शर्माले आग्रह गरे। ‘प्रहरी चौविसै घण्टा तयारी अवस्थामा रहन्छ’, उनले भने, ‘यात्रुसँग प्रहरी कार्यक्रम सञ्चालन गरेका छौं। सडकमै पुगेर केही समयमा चालकको सहमतिमा बस रोकेर यात्रुलाई ट्राफिक नियम, ठगी हुनबाट कसरी बाँच्न सकिन्छ। प्रहरीले दिने सेवाबारे जानकारी गराउने काम भइरहेको छ।’ त्यो समयमा पनि यात्रुले गुनासो सुनाउन सक्ने शर्माले बताए। हतारमा असुरक्षित यात्रा नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले अनुरोध गरिन्।

चाडपर्वमा परिवारसँग भेट हुने सबैको रहर हुन्छ। विशेष गरी गाडी धनि र चालकले ध्यान दिन सके दुर्घटनाको जोखिम कम हुने तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए। चाडपर्वमा सवारी साधनको चाप अत्याधिक हुनेहुँदा सिद्धार्थ राजमार्ग अन्तगर्त तानसेन–बुटवल सडकखण्डको खाल्डाखुल्डी पुर्न आवश्यक रहेको श्रीनगर यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष डिलबहादुर ढुंगानाले बताए।

राजमार्ग तथा गाउँघरतिरका सडकमा समेत ट्राफिक नियमलाई कडाई गरिने जिल्ला ट्राफिक कार्यालय पाल्पाका बरिस्ठ नायब निरीक्षक राजकुमार चापागाईंले बताए। नियम विपरीत काम गर्नेलाई कडा कारबाही हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.