सिकाइलाई निरन्तरता दिन दिएका हौँ : शिक्षक

|

काठमाडौं : सरकारी तथा निजी विद्यालयले यो वर्षको वडा दशैँको बिदा आज(शुक्रबार) देखि दिन थालेका छन्। विशेष गरी आज विद्यालयहरूले होमवर्क दिन  विद्यार्थीहरूलाई बोलाए। त्यसो त दशैँमा रमाउने वेला बालबालिकालाई ‘होमवर्क’को बोझ बोकेर गाउँ जान बाध्य भएका छन्।

कतिपय विद्यार्थी गाउँ गइसकेका छन् भने केही विद्यार्थी शहरमै दशैँ मनाउने तयारीमा छन्। केही दिनदेखि नै कक्षा कोठाको ह्वाइटबोर्ड भरी हाेमवर्क दिएका तस्बीर सामाजिक सञ्जालबाट बाहिरिएपछि यसको आलोचना भएको छ। दशैँका वेला होमवर्क नभई रमाउन दिनुपर्ने माग उठेका छन्।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार दशैँमा रमाउनेभन्दा बढी हाेमवर्क भएका कारण बालबालिका चिन्तित छन्। ‘निजी होस् या सरकारी विद्यालय‚ वर्षेनि बालबालिकालाई होमवर्क दिने गर्छन्,अहिलेबाटै चिन्ता लिन थालेका छन्, सरकारले दशैँ मनाउन दिएको हो कि हाेमवर्क गर्न ?’‚ आक्रोशित हुँदै उनले भने।

उनका अनुसार बढी हाेमवर्क दिइँदा दशैँमा रमाइलो गर्ने वेला अभिभावकहरूलाई क्यालेण्डर खोलेर दिन हेर्न माग गर्छन्। ‘बालबालिकालाई अहिलेबाटै होमवर्क सकाउने चिन्ता छ’, उनले भने, ‘त्यसैले दशैँ मनाएको जस्तो पनि उनीहरूलाई हुँदैन। दशैंका वेला यस्तो गर्नु हुँदैन। याे गलत परम्परा हाे।’ यो वर्षको दशैँ घटस्थापना असोज २८ गते परेको छ भने कात्तिक ४ गते फूलपाती,५ गते महाष्टमी, ६ गते महानवमी र ७ गते दशैँको टीका परेको छ।

‘उमेरअनुसार कम हाेमवर्क दिनुपर्छ’ 

विद्यालयहरूले बढी हाेमवर्क दिएकाले बालबालिकालाई मानसिक तनाव भएको भन्दै उमेरअनुसार हाेमवर्क दिन अभिभावकले माग गरेका छन्।

‘उमेर र कक्षा तहअनुसार हाेमवर्क दिइनुपर्छ, उनीहरूको क्षमताअनुसार दिनुपर्छ,दिनभर हाेमवर्क गर्ने होइन। दशैँ भनेको साथीभाइसँग रमाइलो गर्ने, भेटघाट गर्ने, संस्कृति मनाउने पर्व हो। त्यसैले कम हाेमवर्क दिऊँ, प्रत्येक विषयको होमवर्क दिनु अपराध हो’, उनले भने।

उनले विषयगत हाेमवर्कभन्दा पनि दशैँ कसरी मनाइयो भन्नेबारे प्रोजेक्ट वर्क गराउनुपर्ने सुझाव दिए। 

चाडपर्वमा होमवर्क दिनु गलत : शिक्षाविद्

शिक्षाविद्हरू दशैँतिहार जस्ता चाडका वेला होमवर्क दिनु गलत रहेको बताउँछन्। शिक्षाविद् प्राडा विनयकुमार कुसियत भन्छन्, ‘दशैँका वेला विद्यार्थीलाई होमवर्क दिनु नै गलत हो। दशैँ भनेको रमाइलो गर्न दिएको बिदा हो।’

उनले जति शिक्षकहरूले सिकाउनुपर्ने हो घरमा नभई विद्यालयमा सिकाउनुपर्ने बताए। ‘सबै स्कुलहरूलाई बढी होम वर्क दिने मानसिकता बोकेका छन्, यस्तो गर्ने होइन’, उनले भने,‘जति सिकाउने हो विद्यालयमा मात्रै सिकाउने हो,गाउँ जाँदा त खुसी भएर पठाउने गरौँ।’ उनका अनुसार हाेमवर्क पनि विषयगत पाठ्यक्रमको दिनेभन्दा पनि चाडपर्वबारे प्रोजेक्ट वर्क गराउनु उपयुक्त हुन्छ।

‘रमाइलो गर्नेमा बाधा नपुग्ने गरी होमवर्क दिऔँ’

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले दशैँमा रमाइलो गर्नेमा बाधा नपुर्‍याउने गरी होमवर्क दिइने र शिक्षकहरूले पनि यसैअनुसार दिन आग्रह गरेका छन्।

‘दशैँतिहार भनेको संस्कृति सिक्ने, सामाजिक सद्‌भाव कायम गर्ने, बालबालिका रमाइएर बस्ने पर्व पनि हो। त्यसैले उनीहरूलाई धेरै होमवर्क दिएर तनाव नपारौँ, शिक्षकहरूले पनि रमाइलो गर्नेमा बाधा सिर्जना गर्ने गरी होमवर्क नदिन आग्रह गर्छु’, उनले भने। उनले सिकाइलाई निरन्तरता दिन भने थोरै विषयको होमवर्क भने दिइने बताए।

मानसिक तनाव पुग्ने गरी होमवर्क दिँदैनौँ : प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष डिके ढुंगाना भने विद्यार्थीहरूलाई मानसिक तनाव हुने गरी होमवर्क नदिने बताउँछन्। ‘दशैँमा होमवर्क गर्नेभन्दा पनि बालबालिकाको रमाइलो गर्ने दिन हो। उनीहरूलाई स्वतन्त्र हुनुपर्छ। त्यसैले हामी उहाँहरूलाई मानसिक तनाव पुग्ने गरी होमवर्क दिँदैनौँ’‚ उनले भने।

शिक्षण सिकाइ नियमित चलोस् र दशैँमा पनि पढेको कुरा नबिर्सिऊन् भनेर होमवर्क दिने गरेको उनको तर्क छ। ‘होमवर्क पनि दुई प्रकारले दिन्छौँ, कुनै विद्यालयले दशैँसम्मलाई मात्रै बिदा दिएका छन् भने कोहीले तिहारसम्म बिदा दिएका छन्। दशैँका लागि मात्रै बिदा दिएकालाई कम अर्थात् दिनको २-३ घण्टाका लागि भनेर दिएका छौँ’, उनले भने।

तिहारको बिदा दिनेहरूको हकमा भने यो बीचको १५ दिनका लागि त्यसैअनुसार कम होमवर्क दिने गरेको उनको भनाइ छ। ‘हामीले दशैँ दिनभरको गनेर हाेमवर्क दिँदैनौँ, त्यस बाहेकका दिनका लागि मात्रै होमवर्क दिन्छौँ। यसो गरे पढेको बिर्सिदैनन्, शिक्षण सिकाइ निरन्तर सिक्ने प्रक्रिया हो’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.