|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकारभन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन –आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौँ बैठक र एशिया—युरोप राजनीतिक मञ्चको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभई दीर्घकालिक राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशिल राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले कुनैपनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए।

उनले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवद्र्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने बताए।

उनले भने, ‘कुनैपनि राज्यलाई सुल्झिएको राजनीति, त्यस्तै राजनीतिक दल र राज्यव्यवस्थाको योगले मात्र सक्षम बनाउँछ। यस योगबाट प्रभावकारी संवैधानिक तथा कानूनी प्रवन्धको निर्माण हुन्छ। बलिया सार्वजनिक संस्था बन्न सक्दछन्  कानूनको शासन लागू हुन्छ। सेवा प्रवाह गर्ने राज्यको क्षमता बढोत्तरी हुन्छ। आधारभूत मानव अधिकार, नागरिक स्वतन्त्रता, न्याय, समानता र समान संरक्षणको प्रत्याभुति गर्नसक्ने राज्यले नागरिकको विश्वास आर्जन गर्दछ। यसैका आधारमा राजनीतिक स्थायित्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थिरता र वाह्य सुरक्षा कायम राख्नसक्ने मुलुक नै समृद्धशाली राज्य हो। राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था हुन्। त्यसकारण राजनीतिक दलका निम्ति सरकार भन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्दछ। हामीले आज विशेष जोड दिनुपरेको छ। राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ।'

अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नका लागि सबैलाई आह्वान गरे। सम्मेलनमा दिगो पर्यटन प्रवद्र्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिए। कार्यक्रममा एशियाली राजनीतिक दलका नेताहरु सहभागिता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.