प्रधानाध्यापकको जवाफ- हामीलाई धेरै दबाब नदिनू

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीहरूसँग शुल्क लिएको ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई माफी दिएको छ। महानगरपालिकाले शुल्क विषयमा थाहा नभएको र शुल्क लिएको स्वीकार गरेपछि एक पटकको लागि माफी दिएको जनाएको हो।

महानगरपालिकाले चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयहरूले शुल्क मागेको गुनासो आएपछि मंगलबार छानबिन तथा अनुगमन थालेको थियो।

महानगरपालिका प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलका अनुसार गोल्डेन गेट, ग्लोबल, सिफल सेकेण्डरी स्कूल (डियरवाक), काठमाडौं मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सीसीआरसी गरी ६ वटा विद्यालयको अनुगमन गरिएको थियो।

यीमध्ये एभरेष्ट फ्लोरिडाबाहेक अरू विद्यालयले कुनै न कुनै रूपमा शुल्क माग गरेको देखिएको छ। उनले भने, ‘सिफल स्कूलले मासिक ९ हजार ५ सय रूपैयाँसम्म माग गरेको देखियो।’ पोखरेलका अनुसार पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ता जस्ता शीर्षकमा शुल्क मागेको देखिएको छ। 

यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टले पनि ऐनविपरीत छात्रवृत्तिका लागि पठाइएका विद्यार्थीहरूसँग विविध शीर्षकमा शुल्क लिएको पाइएको छ। उक्त कलेजले विद्यार्थीहरूसँग विविध शीर्षकमा शुल्क मागेको स्वीकार नै गरिसकेको छ। 

शुक्रबार महानगरको छानबिन तथा अनुगमन समितिका पदाधिकारीहरूसँगको छलफलमा उक्त कलेजका प्रधानाध्यापक अम्बादत्त जोशी र विज्ञान विषयका कोअर्डिनेटर गोकुल बडुले कमजोर विद्यार्थीका लागि चलाइने अतिरिक्त कक्षाका लागि शुल्क लिने गरिएको बताएका थिए।

विज्ञान विषयका कोअर्डिनेटर गोकुल बडुले भनेका थिए, ‘कमजोर विद्यार्थीलाई अतिरिक्त सिकाइका लागि अतिरिक्त शुल्क लिने गरेका छौँ, मासिक शुल्क लिएका छैनौँ, महानगरपालिकाले पठाएको पत्रमा लुपहोल छ, हामीले ठान्यौँ, अन्य शीर्षकमा शुल्क लिन मिल्छ।’

‘अझै शुल्क लिए कारबाही हुन्छ’

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले ग्लोबल कलेज आफैले शुल्क लिएको स्वीकार गरेपछि एक पटकको लागि माफी दिएको बताए।

उनले भने, ‘कलेज आफैँले शुल्क लिएको स्वीकार गर्‍यो र अबदेखि कुनै शुल्क नलिने भनेर माफी मागेपछि एक पटकलाई छाडेका छौँ, अब फेरि लिएको पाए सीधै शिक्षा ऐनअनुसार कारबाही हुन्छ, यो कलेज मात्र होइन अन्यले लिएको पाइए पनि कारबाही हुन्छ।’ उनका अनुसार विद्यार्थीहरूसँग उक्त कलेजले शुल्क लिएमा फिर्ता हुनेछ। 

प्रधानाध्यापक भन्छन्- धेरै दबाब नदिनू

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा को कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

यही व्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीबीच परीक्षा लिएर म्याचिङ् लिष्टबाट नाम सिफारिस गरेको हो। यसरी सिफारिस गरिएका विद्यार्थीहरूले कक्षा ११-१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्दैन। तर कलेज सञ्चालकहरूले भने छात्रवृत्ति कोटामा पनि कुनै न कुनै बहाना बनाएर शुल्क लिने मनसाय राखेको देखिन्छ।

ग्लोबल कलेजका प्रधानाध्यापक जोशीले छात्रवृत्तिको लागि धेरै दबाब नदिन महानगरसँग आग्रह गरे। उनले उक्त छलफलमा भनेका छन्, ‘हामीलाई धेरैतिरबाट छात्रवृत्तिका लागि दबाब आउनुहुँदैन, वडालाई पनि दिनुपर्छ, विद्यार्थी संगठनलाई पनि दिनुपर्छ।’ 

अनुगमन रोकिँदैन : महानगरपालिका

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी कोइरालाले यो अनुगमन नरोकिने बताए। उनले शुल्क लिएको छ वा छैन भनी सिफारिस गरिएका विद्यालयहरूमा अनुगमन गर्दै जाने बताए। महानगरपालिका अनुसार महानगरपालिकाले सिफारिस गरेर पठाएका १५० भन्दा धेरै विद्यालयमध्ये १० वटाबाट मात्र महानगरमा गुनासो आएको छ।

अन्यबाट आएको छैन। काठमाडौं महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई अनलाइन प्रणालीबाट आवेदन माग गरेको थियो। यसबाट ३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका थिए।

साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी सहभागी थिए।

परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन गरेर चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योगका लागि २ दिन समय दिइएको थियो। त्यसपछि महानगरपालिकाले साउन २९ गते २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक गरेको थियो। त्यसपछि कोटाका आधारमा म्याचिङ् लिष्ट सार्वजनिक गरिएको थियो। 

(याे पनि)


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.