|

काठमाडौं : नेपालीहरूको महान पर्व दशैँ। यस वर्षको दशैँ मनाउन शहरबाट गाउँ गएका छन् अधिकांश सर्वसाधारण। यतिखेर गाउँमा आफन्तहरूसँग भेटघाट गरी मिठोमसिनो परिकार खाएर रमाइलो गरी दशैँ रौनकलाई थप मलजल गरिरहेका छन्। खुसी साटासाट गरेका छन्। तर, वृद्धाआश्रममा रहेका बा–आमाहरूलाई दशैँले छोएको छैन।

उनीहरू दशैँ आएको त थाहा पाएका छन्। तर,उनीहरू आफन्तहरू नहुँदा दशैँ आएको अनुभूत गर्न सकेका छैनन्। उनीहरू जे जति दशैँ मनाए ती पहिलाका दिनहरू मात्रै सम्झिन्छन् र टोलाएर बस्ने गर्छन्। पशुपतिमा रहेको समाज कल्याण केन्द्र, वृद्धाश्रममा बस्दै आएका चन्द्र दत्त आचार्य दशैँको कुरा निकाल्दासाथ पूराना दिनहरू सम्झन्छन्।

आचार्य यसरी सम्झिए,‘म सानो हुँदा दशैँ आयो भन्ने बित्तिकै मनमा कति हो कति खुसी मिल्थ्यो, दशैँमा रमाइलो गरिन्थ्यो,आफन्तहरूसँग भेट हुन्थ्यो,पछि ठूलो हुँदै गर्दा जिम्मेवारी र व्यावहार थपियो,तै पनि रमाइलो लाग्थ्ये,अब त यहाँ के को रमाइलो हुनु?, दशैँ आएको थाहा छ,अरू केही मनमा खुसी आएको छैन।’

रसुवाका उनी उमेरले ७७ वर्ष पार गरे। उनका दुखका पहाड छन्। यहाँसम्म आइपुग्दा धेरै ठक्कर खाइसके। ‘बाउ आमा मरेपछि म एक्लो भए,ऋण खोजेर उहाँहरूको क्रिया गरे,पछि भएको थोरै जग्गा बेचेर त्यो ऋण तिरे,गाउँमा अनेकन आरोप सुन्न पर्‍यो,साह्रै हेँला भएपछि ८ सय पैसा बोकेर काठमाडौं छिरे,’उनले ४० वर्ष अगाडिको घटना साझा गरे।

उनी अविवाहित हुन्। २२ वर्षको छँदा ७ वर्षका एक बालिकासँग बिहे गर्ने कुरा चलेको थियो। तर,उनले मानेन। ‘म काठमाडौं आएपछि ज्यामी काम गरेँ,सेकुरीटी गार्ड बसेँ,काम गर्न नसक्ने भएपछि केही व्यक्तिले मलाई यहाँ ल्याए’, उनले भने।

अबको बाँकी जीवन पनि यही आश्रममा बिताउँदै छन् उनी। ‘अब जे जति पहिला नै दशैँ मनाएँ,रमाइलो गरे,अब त त्यस्तो रमाइलो गरी मनाउन भाग्यमा रहेन’, उनले सुनाए। चाडपर्वको बेला कोही आफन्तहरू भेट्न गए मनमा धेरै खुसी मिल्ने उनी बताउँछन्।

‘अब हाम्रो लागि दशैँ आउँदैन’

धादिङका कृष्ण कुमारी जमकट्टेल पनि ५ वर्षदेखि उक्त आश्रममा बस्दै आएकी छिन्। उनी जब आश्रममा बस्न थालिन दशैँ तिहारको रौनकले कहिल्यै छुँदैन उनीलाई। र त उनी भन्छिन्, ‘अरूका लागि दशैँ आयो,हाम्रो लागि अब कहिल्यै आउँदैन,पहिला गाउँघरमा मनाए जस्तो अर्काको ठाउँमा के–को दशैँ हुनु?,जति रमाइलो गर्यौँ,पहिला नै गर्‍यौँ।’

उनका अनुसार आश्रमले दशैँको बेला दालभात र एक छाक मासु खुवाउँछ। ‘नयाँ लुगा पनि दिन्छ,तर मन कहाँ खुसी हुन्छ नी?’,उनले भनिन्। उनी आश्रममा बस्न पनि मन नलागेको बताइन्। ‘तर,मन नलागेर कहाँ जानु?,अन्त कतै छैन ठाउँ,बस्नुपर्ने वाध्यता छ',उनले भनिन्। 

आश्रममा रहेकी अर्का सिन्धुपाल्चोककी भगवती सिग्देल पनि जब दशैँ आउँछ, पहिलाका दिनहरू मात्रै सम्झिरहन्छिन्। अहिले त उनलाई न दशैँ लागेको छ न रमाइलो नै ।

‘दशैँ त आयो नी तर,अहिले हामीलाई केही रमाइलो लाग्दैन,आफ्ना परिवार र आफन्त नै नभएपछि के को दशैँ नी', उनले सुनाइन्। उमेरले ८१ कटेकी सिग्देल जीवनमा खुशी भन्दा धेरै पीडैपीडाका चाङ छन्। ‘मेरो परिवारमा कोही छैन, म बाल विधुवा हुँ’, उनले भनिन,‘आफन्त पनि छैनन्,त्यसैले दशैँमा कोही पनि भेट्न आउँदैनन्।’

आश्रम भन्छ : दशैँमा केही पनि अभाव हुन दिएका छैनौँ

यता,समाज कल्याण केन्द्र, वृद्धाश्रम दशैँको बेला आश्रममा रहेका वृद्धवृद्धाहरूलाई केही पनि अभाव हुन नदिएको बताउँछ।

समाज कल्याण केन्द्र, वृद्धाश्रमका सूचना अधिकारी हृदयराज उपाध्यायले भने,‘दशैँमा हामी उहाँहरूलाई टीका लगाइदिन्छौँ,नयाँ लुगा दिन्छौँ,नाचगान गराउँछौँ।’ उनका अनुसार विभिन्न जिल्लाका ८० जना वृद्धवृद्धाले वृद्धाश्रमको सहारा लिइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.