|

नयाँदिल्ली : भारतले अब विद्यालयको पाठ्यक्रममा इण्डियाको साटो भारत लेख्ने भएको छ। राष्ट्रिय शैक्षणिक अनुसन्धान एवं प्रशिक्षण परिषद्ले नाम बदल्न सिफारिस गरेको हो।

समितिका अध्यक्ष सी.आई. इसाकले विद्यालयको पाठ्यक्रममा इण्डिया हटाएर भारत लेखिने बताए। समितिका सातैजना सदस्यले एकमतले उक्त सिफारिस गरेका थिए।

समितिले तीनवटा सिफारिस गरेको छ। इण्डियाको साटो भारत लेख्न, 'प्राचीन इतिहास'को साटो 'शास्त्रीय इतिहास' पढाउन र सबै पाठ्यवस्तुमा भारतीय ज्ञान प्रणाली शुरु गर्न सिफारिस गरेको हो।

बेलायती शासकले भारत नाम हटाएर इण्डिया नामकरण गरेका थिए। इसाकले भने, ‘भारत युगौँ प्राचीन नाम हो। विष्णु पुराण जस्ता प्राचीन ग्रन्थमा यो नाम उल्लेख छ।’

उनले इण्डिया शब्दको प्रयोग इष्ट इण्डिया कम्पनीको स्थापना र सन् १७५७ मा प्लासीको युद्धपछि गरिन थालेको स्पष्ट पारे।

इसाकले भने, ‘अंग्रेजले भारतीय इतिहासलाई तीन चरणमा विभाजित गरे - प्राचीन, मध्यकालीन र आधुनिक। यसमा भारत अन्धकारमा डुबेको देश रहेको र  वैज्ञानिक ज्ञान र प्रगतिबारे अनभिज्ञ देखाइएको थियो। त्यो युगका उपलब्धि जस्तै आर्यभट्टको सौर मण्डलबारे भएका काम कुनै उल्लेख छैनन्।’

समितिले किताबमा हिन्दूको विफलता मात्रै चित्रण गरिएको बताउँदै मुगल र सुल्तानमाथि पाएका जितको उल्लेख नगरिएको बताएको छ। इतिहासविद् एवं पुणेस्थित डेक्कन कलेजका पूर्व उपकुलपति वसन्त सिन्धेले भने, ‘हाम्रा पाठ्यवस्तुमा मुगल काललाई जति महत्त्व दिएर पढाइन्छ, मराठीको इतिहास र विजयनगरको इतिहास पढाइँदैन।’

आधिकारिक रूपमा भारत नाम पहिलोपटक जी २० शिखर सम्मेलनका वेला लेखिएको थियो। भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दिएको रात्रिभोजको निमन्त्रणामा भारतीय राष्ट्रपति लेखिएको थियो। नरेन्द्र मोदीको नामपाटीमा पनि भारतीय प्रधानमन्त्री लेखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.