क्षेत्रीय निर्देशकको निर्वाचन

|

काठमाडौं : विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया (सेरो) क्षेत्रीय कार्यालयको निर्देशकको चुनाव आगामी हप्ता भारतको दिल्लीमा हुँदै छ।

सोमवारदेखि (अक्टोबर ३० देखि नोभेम्बर २) बुधवारसम्म दिल्लीमा हुने संगठनको दक्षिणपूर्वी एशिया कमिटीको वार्षिक सभाले ५ वर्षका लागि नयाँ क्षेत्रीय निर्देशक चुन्नेछ। उक्त सभाले चुन्ने नयाँ निर्देशकलाई आउँदो जनवरीको अन्तिम साता जेनेभामा हुने विश्व स्वास्थ्य संगठन कार्यकारी समितिको बैठकले अनुमोदन गरेपछि सेरोका नयाँ निर्देशकले पाँचवर्षे कार्यकाल समाल्नेछन्।

आगामी कार्यकालका लागि नेपालले पनि आफ्नै उम्मेदवार उठाएको हुँदा योपटकको सेरोको चुनावलाई अर्थपूर्ण तरिकाले हेरिएको छ। नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्य निर्देशकको पदमा प्रतिस्पर्धामा छन्। विश्व स्वास्थ्य संगठनको मुख्यालयमा कार्यरत आचार्यलाई अनुभवी जनस्वास्थ्य विज्ञका रूपमा हेरिएको छ।

यसका लागि नेपालबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा एक टोली आइतबार बिहानै दिल्ली जाँदै छ।

तीनदिने क्षेत्रीय सभामा भाग लिन आइतवार स्वास्थ्यमन्त्री बस्नेत दिल्ली जाँदै छन्। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल लगायत पनि दिल्ली जाने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार नेपालले आचार्यलाई जिताउन क्षेत्रका सदस्य राष्ट्रहरूसँग पहल गरे पनि भारत, भुटान, माल्दिभ्स लगायत देशले हालसम्म कसको पक्षमा जाने भन्ने तय नगरेको अवस्थामा आइतबार जाने नेपालको टोलीले यी राष्ट्रका प्रतिनिधिसँग नेपालको उम्मेदवारको पक्षमा ‘लबिङ' गर्ने समेत प्रवक्ता डा. बुढाथोकीले बताए।

उनले भने‚ ‘योपटक हाम्रा तर्फबाट एकदमै उत्कृष्ट उम्मेदवार पठाएका छौँ। चयनका लागि सदस्य राष्ट्रहरूको ६ भोट आवश्यक पर्छ तर हाल भारत, भुटान, माल्दिभ्सले हामीलाई भोट दिन्छौँ भनेका छैनन्। यस्तो अवस्थामा भोलि नेपालबाट जाने स्वास्थ्यमन्त्रीको टोलीले यी देशका प्रतिनिधिसँग सलफल गर्नेछ।‘

सेरोको क्षेत्रीय निर्देशकका बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेदले पनि उम्मेदवारी दिएकी छन्। जनस्वास्थ्यका क्षेत्रमा आचार्यको योगदान बढी भए पनि वाजेद उच्च राजनीतिक परिवारको व्यक्ति भएकाले निर्देशक पद कसको पोल्टामा पर्छ भन्ने जिज्ञासा बढेको छ।

दक्षिण पूर्वी एशिया क्षेत्रका देशमा नेपालसहित बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मा, श्रीलङ्का, थाइल्याण्ड र पूर्वी टिमोर गरी ११ राष्ट्र रहेका छन्। सेरोको नयाँ निर्देशकका लागि दक्षिण पूर्वी एशिया क्षेत्रका ११ राष्ट्रका स्वास्थ्यमन्त्रीहरूले मत दिने चलन छ।

अहिले दक्षिण पूर्वी एशिया निर्देशकमा रहेकी भारतीय नागरिक डा. पुनम खेत्रपाल दोस्रो कार्यकालमा क्षेत्रीय निर्देशकको रूपमा कार्यरत छन्। सन् २०१४ मा पहिलोपटक निर्विरोध भएकी उनी सन् २०१८ मा पनि निर्विरोध भएकी हुन्। डा. खेत्रपालको दुवै कार्यकालका लागि नेपालले समर्थन गरेको थियो।

नेपालले उम्मेदवार बनाएका डा. आचार्य सन् १९९२ देखि डब्लूएचओमा आबद्ध भएर काम गरिरहेका छन्। सन् २०१६ देखि उनी डब्लूएचओको मुख्यालयमा प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियस अन्तर्गत रहेको कन्ट्री स्ट्राटेजी एण्ड सपोर्टका निर्देशक हुन् र उनी जेनेभास्थित मुख्यालयमा कार्यरत छन्। आचार्य नेपालबाट हालसम्म डब्लूएचओको उच्च पदमा पुगेर काम गर्ने पहिलो नेपाली हुन्।

साइमा बाजेद पेशाले मनोविद् हुन्। हाल उनी बंगलादेश सरकारकी सल्लाहकार पनि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.