|

ललितपुर : दिलीप थापाको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको गोदावरी नगर कमिटी गठन भएको छ। शनिबार चापागाउँमा भएको रास्वपाको गोदावरी नगर भेलाबाट राजाराम महर्जन र दिलीप न्यौपानेलाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भए।

११ सदस्यीय कमिटीको उपाध्यक्षमा दीक्षा डोटेल निर्विरोध हुँदा सचिवमा रकिन श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्र विक्रम सिजापती निर्वाचित भए।​ सदस्यहरूमा महिलातर्फ एलिना नगरकोटी र सुमिना लामा तामाङ निर्विरोध निर्वाचित हुँदा अर्को एकजना महिला सदस्यको भने टुङ्गो लाग्न बाँकी छ। यस्तै दलित सदस्यमा चन्द्र बहादुर सुन्दास पनि निर्विरोध हुँदा राज देशार, सीताराम पहारी र राजु मर्हजन विजयी भएका छन्। 

यसअघि गोदावरी नगर भेलालाई उद्घाटन गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण तबरले मतपत्रबाट जनताको भाग्य बदल्ने अठोट गरेका छन्। पार्टी सभापति समेत रहेका लामिछानेले अन्य पार्टिले भनेजस्तो परिवर्तनका लागि रक्तपातसहितको आन्दोलन नगर्ने संकल्प गरे । 

उनले जनताको अमुल्य मतबाटै परिवर्तन ल्याएर जनताको भाग्य बदल्ने प्रतिवद्धता जनाए। ३३ वर्षमा परिवर्तनकारी भनाउँदा पार्टीका नेताहरूले देशलाई टाट बनाएको उनले बताए। 

अरूको भ्रष्टाचारको फाइल खोल्छु भनेर लाग्दा आफ्नै नेता कार्यकर्ता परेपछि फाइल त्यसै अलपत्र परेको बताउँदै उनले भ्रष्टाचारको फाइल खोल्दा फराकिलो छाती बनाउनुपर्ने बताए । 

गोदावरी भेलाको उपस्थितिले अन्य पार्टीका नेताहरुको मनमा घण्टी बजेको बताउँदै उनले देश बनाउने भए सर्वप्रथम भ्रष्ट नेता फाल्नुपर्ने आवश्यकता औँल्याए। 
उनले आफूहरूलाई दुईतिहाइ मत दिए देशलाई सिष्टमअनुसार चलाएर देखाइदिने दाबी गरे।  उनले कि जान्नुपर्ने, कि मान्नुपर्ने ’ सिद्धान्तअनुरुूप आफूहरूलाई एकपटक मानिदिन आग्रह गरे। 

अन्य पार्टी चाख्दै स्वार्थसहित आउनेसँग सतर्क भएर हिँड्नुपर्ने सुझाव उनले दिए। 'तपाईं अन्य पार्टीले अवसर दिएन भनेर वडा अध्यक्ष , मेयर या अन्य स्वार्थका लागि रास्वपामा आउँदै हुनुहुन्छ भने कृपया त्यो स्वार्थ त्यागिदिनुहोला’, उनले भने 'रास्वपामा चुनाव लड्ने मान्छे देखेर कस्तोलाई चुनाव उठाएछन् भनेर जनताले दिक्क मान्नपर्ने अवस्था नआओस्।'​ लामिछानेले नेता र नियत सही भए सबै चीज स्वतः बन्दै जाने दाबी गरे।

पूर्व स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले देश गरिब नभएर देशलाई गरिब बनाइएको दाबी गरिन्। उनले पुराना उद्योगधन्दा , कलकारखाना बन्द गराएर पुराना पार्टीहरुले देशका यूवाहरुलाई विदेश जान बाध्य पारेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.