धमिलो पानीमा माछा मार्नेको जगजगी

|

नेपाली पुँजीबजार दुई वर्षदेखि शिथिल छ। धितोपत्र बजारका लगानीकर्ता निरास छन्। प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको शेयर मूल्यले लगातार नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड बनाइरहेको छ। यिनै विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग न्युज एजेन्सी नेपालले संक्षिप्त कुराकानी गरेको छ। अध्यक्ष हमालसँग गरेको कुराकानीको सम्पादित अंश। 

धितोपत्र बजार सुधारका लागि के गर्दै हुनुहुन्छ ?

मेरो कार्यकाल सकिनै लागेको छ। अहिले तीन चारवटा कुरा सुधार गर्न खाजेका छौँ। सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को अध्ययन गरेर सुधारको नीति तिहारअघि लागू गर्दै छौं। म्युचुअल फण्डमा केही कडाइ गर्न र त्यसलाई थप प्रभावकारी बनाउन केही नीति ल्याउँदै छौं। गुणस्तरीय रिपोर्टिङ फर्म्याट तयार भएको छ। धितोपत्र बजार सुधारका लागि स्वच्छ प्रणाली लागू गर्दै छौं। कम्पनीले स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्‍यो। स्वतन्त्र भूमिका खेलेको छ वा छैन रिपोर्टले देखाउँछ।

पछिल्लो समय शेयर बजार बिचौलिया हाबी हुँदा साना लगानीकर्ता मर्कामा परे भन्ने गुनासो छ, शेयर बजारमा चलखेल गर्नेमाथि बोर्ड मौन बसेको हो ?

धितोपत्र कानूनको सीमित व्यवस्था नभएकाले समय लाग्यो। धितोपत्र सुधारका लागि अनेकौँ बाटा अपनाउँछौं। ब्रोकर तथा मर्चेण्ट बैंकर, ब्रोकर प्रमुख वा मार्केटिङ अफिसर र प्रमुख कार्यकारी अधिकृत बन्ने व्यक्तिहरू प्रमाणित हुनुपर्छ। धितोपत्र बोर्डले बनाएको कोर्स पास गर्नुपर्छ। छिमेकी मुलुक भारतमा पनि यही व्यवस्था छ।

हामीले धितोपत्रको भित्री कारोबारमा बिगो र जेल सजायका लागि ठूला व्यवसायीलाई मुद्दा दर्ता गरेका छौं। बजार मेनुपुलेसनमा मुद्दा दर्ता भएका छन्। सम्पत्ति शुद्धीकरणको केसमा जरिवाना लिएका छौं। रेटिङ कम्पनी र सञ्चालक समितिका सञ्चालकलाई कारबाही गरेका छौं।

सप्लाई बढी भएर बजार प्यानिक रोक्न आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरूको निष्काशन स्थगित गर्न लाग्नु भएको हो ?

अहिले आईपीको प्रणाली धेरै छिटो भएर अप्ठ्यारो भयो भन्ने केही गुनासा पनि छन्। त्यसैले अहिले बोर्डले केही समयका लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरूको निष्काशन नियन्त्रण गर्ने व्यवस्था खोजिरहेका छौं। बोर्डले निरन्तर सुधारका नीति ल्याइरहेको छ। बजार ढुक्क भएर चल्दा हुन्छ। बजारमा कुनै दबाब छैन। शेयर बजार नेपालमा मात्रै होइन अन्तरराष्ट्रिय रूपमै खस्किरहेको छ। आगामी दिनमा बजारको विकास यस्ता प्रणालीले सुनिश्चित गर्छ भन्नेमा विश्वस्त छु।

पुँजीबजार सुधारका लागि नीतिहरू ल्याउँदा कार्यान्वयनको पक्षमा कस्ता चुनौती छन्?

नेपालमा हरेक काम गर्न चुनौती रहेका छन्। नेपालमा हरेक काम गर्न प्रणालीगत विकास हुनुपर्छ। म सरकारी अधिकारीहरूलाई शतप्रतिशत अधिकार दिनुपर्छ भन्ने मान्यता राख्दिनँ। नीति बनाउन कसैले राम्रो सुझाव दिँदैन। गाली, सिण्डिकेशन र समूहको हितका लागि काम गर्ने हाम्रो समाजको प्रचलन छ। समाज देशको विकास गर्ने हो भने यस्ता प्रचलनको अन्त्य गर्नुपर्छ।

बुक बिल्डिङप्रणाली लागू भएपछि नेपाली पुँजीबजारमा कस्तो प्रभाव पर्छ?

मेरो पालामा बुक बिल्डिङ प्रणालीको शुरुवात भयो। अब बुक बिल्डिङ राम्रोसँग लागू हुन्छ। अब आउने कम्पनीलाई बोर्ड स्वागत गर्छ। बुक बिल्डिङमा आईपीओ जारी गर्ने कम्पनीको फाइल तत्काल आईपीओका लागि सदर गर्छौं। बुक बिल्डिङ प्रणाली विश्वको उत्कृष्ट प्रणाली हो। बुक बिल्डिङ प्रणालीमा ठूला प्रतिष्ठित कम्पनी आउँदा जनताको समृद्धिमा ठूलो हात हुन्छ।

प्रिमियममा आईपीओ निकाल्ने कम्पनीहरूको कारोबार लगातार रूपमा नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड बनाइरहेको छ नि ?

प्रिमियममा आईपीओ निकाल्नु गलत हो भने नियम सुधार गर्नुपर्छ। सरकारले निर्देशन दिए हामी नियम सुधार गर्छौं। प्रिमियम भन्ने शब्द आफैँमा गलत हो। संसारमा नै शेयरबजारमा चलेको प्रणाली भनेकै मूल्य बढाउने हो। आईपीओ प्रणालीमा विश्वले अपनाएको प्रणाली भनेको खुला गर्नुपर्ने सत्यता र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता हो। सय रुपैयाँ भएको कम्पनीले पनि त उसको मूल्य ८० रुपैयाँ हुनसक्छ। हाम्रो विद्यमान नियममा दुई गुणा निर्धारित मूल्यको प्रिमियममा जान मिल्छ भन्ने छ। यो वर्षौंदेखि धितोपत्र बोर्डले बनाएको नीति हो।

म आउँदा पहिलो वर्ष धेरै आईपीओ जारी भए। आईपीओका लागि सबै काम सकिएको थियो मैले आएर हस्ताक्षर मात्रै गरेको हो। कसैले आईपीओ प्रणाली नराम्रो हो र लुट हो भन्ने लाग्छ भने आईपीओ प्रणाली बन्द गरिदिए हुन्छ। सही बाटो भनेको देश र जनताको प्रगतिका लागि सबै कानून निर्माण हुनुपर्छ। एउटा समूहसँग डराएर हुँदैन।

अब नेपालको पुँजीबजार कता जान्छ

अब मुलुकको पुँजीबजारको बाटो सुशासनको बाटो अपनाउँदा मात्रै पुँजीबजारको विकास हुन्छ। शेयर बजार तल जाने बित्तिकै कसैको चरित्र हत्या गर्ने काम गर्नु हुँदैन। लगानीकर्ता सबैले बुझेर लगानी गर्नुपर्छ। कसैको बहकाउमा आएर लगानी गर्नु भएन। नेपाली पुँजीबजारमा धेरै धमिलो पानीमा माछा मार्ने तत्वहरू छन्। बिचौलियाहरूले सोझासाझा मानिसलाई फसाउने काम गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.