|
फोटो : पत्रकार प्रसन्न पोखरेलको फेसबुकबाट

चितवन : पोखराबाट चितवनको माडीमा दिदी पुर्‍याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार खसेको पहिरोले उहाँ त्यही थुनिइन् । सानी नानी सहित दिदी बच्ची र उनी अलपत्रमा परे।

उनीहरुले घरी सिटमा घरी सडकमा गरेर बिताए। बच्चाको पीडा उस्तै थियो। ‘निद्रा नै भएन, विरामी परिएला जस्तो भो, ज्योतिले भनिन्, 'न फर्कि न जाउँ भने भनेजस्तो भा छ।’ अरु यात्रुको पनि हरिविजोग भएको उनको भनाइ छ। अब उनलाई पैसाले धानन नसक्ने अवस्था भएको छ। आज २,३ घण्टामा बाटो नखुले पुन पोखरा फर्कने उनले बताइन्।

कालिखोलाको  पहिरोले चितवनको नारायणगढ मुग्लिन सडक थुनिएको झण्डै तीस घण्टा हुन लाग्यो। जति जाम लम्बिंदै छ, उती यात्रुहरु प्रभावित हुँदैछन्। पर्याप्त पैसा नभएकाहरुको राती गाडीमै बास पर्‍यो। भोगभोके सुत्ने अवस्था आयो। अड्कलेर लगेको पैसाले धान्दैन। चाउचाउ चिउराको भरमा बसे।

महिला र बालबालिका बढी प्रभावित भएका छन्। चितवनकी पत्रकार इन्दिरा दाहाल पनि सोही पहिरोमा अड्किइन्। उनी एउटा संस्थाले दिएको अलैंचीको विरुवा चितवनको विकट काउलेमा वितरण गरेर फर्कँदा जाममा परेकी हुन्।

‘शुक्रबार सवा ८ बजे पहिरो खस्यो, अनि फसियो', इन्दिराले भनिन्, 'राति यात्रुको अबस्था दर्दनाक थियो।’ दाहालका अनुसार बढी महिला र बालबालिका प्रभावित थिए। पैसा हुनेहरु मुग्लिनका होटलमा बस्न आए। नहुनेहरु चाउचाउ चिउराको भरमा गाडीमै रात बिताए। कतिपय सडकमै अलपत्र देखिन्थ्ये। रातभर बालबालिकाहरु चिच्चयाइरहेका थिए। यात्रुका अनुहारमा पीडा छचल्किएको थियो।

यात्रुहरुको अवस्था दयनीय देखिएको दाहाल बताउँछिन्। राती मुग्लिनका सबै होटल भरिएपछि कतिपय यात्रु ल्यसै सडकमा फर्किए। जामका कारण कतिपय जहाँबाट आएका उतै फर्किएका छन्। पैसा हुनेहरु नौविसे हुँदै हेटौडातर्फ लागे। पश्चिम जानेहरु पोखराहुँदै बुटवलतर्फ लागे। नहुनेहरु त्यही गाडी जतिबेला चल्छ उतिबेलै जाने गरी कुरिरहेका छन्। फर्किने पैसा समेत उनीहरुसँग थिएन।

अड्कलेको पैसाले नपुग्ने भएपनि चाउचाउ चिउराको भर छ। अझ बीचबाटोमा अड्किएका यात्रु नजिक पसल नहुँदा किनेर खाने अवस्था पनि नभएको प्रत्यक्षदर्शी बताउँछन्। तीनवटा विहेका लागि हिंडेका गाडी मध्य एउटा बिहे स्थगितै गरेर फर्किए। एउटा विहेको दुलाहा र केही जन्तीहरु हिंडेर माथिबाट पहिरो काट्ने भन्दै गएको दाहाल बताउँछिन्। अर्को बिहेका जन्ती भने वैकल्पिक बाटो खोज्दै फर्किए।

अर्का पत्रकार राजु चौधरी पनि सोही जाममा अड्किएका छन्। काठमाडौबाट चितवन आउँदा मुग्लिन नजिकै कालिखोलामा पहिरो गएकाले शुक्रबार ९ बजेदेखि उनी रोकिएका हुन्। एकचरण पहिरो भन्दामाथिबाट छिचोलेर जाने प्रयास असफल भएको चौधरीले बताए। दैनिक १० हजार गाडी हिंड्ने उक्त सडकमा अहिले हजारौं यात्रु अलपत्र छन्।

‘हिजो कतिपयले पहिरोमाथि डाँडाबाट क्रस गरे, कतिले पहिरो मै चढेर बाटो काटे, चौधरीले भने, दिउँसो पहिरोमा एकजना मरेपछि भने अहिले प्रहरीले हिंड्न दिएको छैन।’

शुक्रबार विहान सवा ८ बजे खसेको पहिरो एकपछि अर्को थपिएकाले बाटो खुलाउन सकिएको छैन। सक्ने गाडीजति फर्किएका छन् भने बीचमा अड्किएका सवारीहरुको अहिलेपनि ठूलो जाम छ। १५ किलोमिटरसम्म दुईतर्फ नै गाडीको जाम रहेको प्रहरीले जनाएको छ।

चितवनबाट जाने गाडीलाई जामपछि भरतपुर आसपासमै रोकेको प्रहरी उपरीक्षक दीपक थापा बताउँछन्। कालिखोलामा २०० मिटर माथिबाट खसेको पहिरो करिव ५० मिटर लम्बाइको छ।

चितवनका ट्रफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्त राति जोखिम भएकाले विहान पाँच बजेबाट पुन पहिरो पन्छाउन थालिएको बताउँछन्। अझै खुल्न केही घण्टा लाग्ने उनले बताए। अहिलेको पहिरो यो बर्षकै ठुलो रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.