|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन्।

रुकुम र जाजरकोटका सिडियोहरुले मन्त्री र सांसदहरुलाई स्वागत गर्दै समय गएपछि भूकम्पपीडितलाई राहत वितरणमा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा पनि भेट नदिएको उनको गुनासो थियो। 

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपसभापति अर्यालले मन्त्री र सांसदहरुलाई स्वागत गर्न दुईजना सहसचिव पठाएर भए पनि भूकम्पपीडितलाई राहत दिन सिडियोहरुलाई लगाउन पनि सरकारलाई सचेत गराए। 

उनले सरकार सर्वसाधारणको हितका लागि जिम्मेवार नभएको आरोप पनि पटक पटक लगाए।

उपसभापति अर्यालले भने, ‘रुकुम र जाजरकोटमा भूकम्प गयो। सिडियो साहेबहरुको गुनासो संघीय माननीय र मन्त्रीहरु, अनि प्रदेशका माननीय र मन्त्रीहरुको स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भन्ने छ भने हामी कतातिर गइरहेका छौं त्यसले पनि देखायो। मैले गृहमन्त्रीज्युलाई भेटेरै तुरुन्तै तपाईंले यो काठमाडौंबाट दुई जना सहसचिव पठाई दिनुस्‚ त्यहाँ बसेर उहाँहरुले स्वागत गर्नु हुन्छ तर सिडियोहरुलाई काम गर्न लगाउनुस् भन्न गएको। उहाँले भेट्न समय नै दिनु भएन।’

बैठकमा सत्तारुढ नेपाली काँग्रेसकी सांसद रमा कोइराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताइन्। उनले संसदीय समितिले यसअघिको बैठकमा मात्रै चिनीलगायतका अति आवश्यक वस्तुको सहज ढंगले वितरण व्यवस्था मिलाउन निर्देशन दिए पनि सरकारले त्यसअनुसार कामै नगरेको स्मरण गराइन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद हेमराज राईले मुलुक कमिशनतन्त्र, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरीमा प्रवेश गरेको जस्तो अनुभूति आफूले गरेको बताए।

सरकार र सरकारी निकायलाई जति अनुगमन गरे पनि उसले इमान्दार ढंगले काम नगरेका कारणले उपभोक्ता मारमा पर्नुपरेको उनको निष्कर्ष थियो।

सांसद राईले भने, ‘कानून छ तर कार्यान्वयन भइरहेको छैन। कार्यान्वयन गर्ने जिम्मेवार निकायहरु छन् तर पनि त्यहाँ काम भइरहेको छैन। हामी सबैलाई महशुस भइरहेको छ कि एउटा ठूलो कमिशनतन्त्रको, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरीभित्र हाम्रो समाज, देश प्रवेश गरिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.