|

काठमाडौं : सरकारले ‘विशेष कारणको अवस्थामा रहेका शिक्षकको व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८०’ जारी गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको निर्देशिकामा विभिन्न व्यवस्था उल्लेख छ।

विशेष कारणमा परेको मानिने हकमा घातक वा कडा रोग वा कुनै दुर्घटनाको कारण स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भई निजलाई उपचारको सुविधा भएको स्थानमा तीन महिनाभन्दा बढी समयसम्म समय उपचार गर्नुपर्ने भनी नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र प्राप्त चिकित्सकको रायसहित सिफारिस भएको विज्ञान वा नेपाल सरकारको अस्पतालको प्रमुखबाट सिफारिस भएको हुनुपर्ने छ।

त्यसैगरी शिक्षकमा नियुक्त भइसकेपछि कुनै महिला शिक्षकलाई प्रजनन स्वास्थ्यसम्बन्धी कुनै कडा वा घातक रोग लागेको वा कुनै घटनामा परेको र त्यसको उपचार नहुँदा निजको जीवन जोखिममा पर्नसक्ने भनी सम्बन्धित चिकित्सकले दिएको राय चाहिने पनि निर्देशिकामा उल्लेख छ।

निर्देशिकामा भनिएको छ, ‘उक्त रायसहित सम्बन्धित जिल्लास्थित सरकारी अस्पताल वा प्रदेशस्थित सरकारी अस्पताल वा सरकारको स्वामित्वको सरकारी अस्पताल वा प्रचलित कानुनबमोजिम नेपाल सरकारको स्वामित्वअन्तर्गत स्थापना भएका शिक्षण अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखले सिफारिस गरेको हुनुपर्नेछ।’

निर्देशिका अनुसार विशेष कारणमा परेको मानिने हकमा कुनै शिक्षक आकस्मिक घटनामा परी वा प्रकृतिक विपद्‌मा परी गम्भीर घाइते भएका हुनुपर्नेछ। त्यस्तै, स्थानीय अस्पताल तथा जिल्ला अस्पतालका प्रमुखले आफ्नो अस्पतालमा उपचार हुन नसक्ने भनी अन्यत्र लैजान सिफारिस गरेको र त्यस्तो सिफारिस बमोजिम अन्यत्र उपचार गर्नुपर्ने भएको र चिकित्सकले घातक रोग भनी गरेको सिफारिसबमोजिम प्रदेश अस्पताल वा सङ्घीय अस्पताल वा नेपाल सरकारअन्तर्गतको शिक्षण अस्पताल वा प्रतिष्ठान स्तरीय अस्पतालको प्रमुखबाट प्रमाणित भएको हुनुपर्ने छ।

शिक्षकले निवेदन दिनुपर्ने

शिक्षा ऐनको दफा ३ बमोजिमको अवस्थाको शिक्षकले ऐनको दफा १६ ज तथा नियमावलीको नियम ९९ बमोजिमको प्रक्रिया पूरा गरी आवश्यक कागजातसहित आफूले हाल अध्यापन गर्नुपर्ने विद्यालय रहेको जिल्लाको एकाइमा निवेदन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

‘दफा ३ बमोजिम आफूमाथि आइपरेको समस्या र सोसँग सम्बन्धित कागजात तथा सिफारिस पत्र,कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय प्रतिलिपिसहितको सहमति र कार्यरत विद्यालय रहेको स्थानीय तहको तलब भत्ता भुक्तानी कुन विद्यालयबाट गरिने हो‚ सोसहितको सहमति पत्र र कार्यरत विद्यालय रहेको जिल्लाबाट जिल्लान्तर भई जाने शिक्षकको हकमा सम्बन्धित एकाइको सहमति पत्र आवश्यक पर्नेछ’‚ निर्देशिकामा उल्लेख छ। 

निर्देशिकानुसार निम्न माध्यमिक तह र माध्यमिक तहका शिक्षकलाई आधारभूत तह ६ र आठसम्म तथा माध्यमिक तहमा कामकाज गर्न खटाउँदा जुन विषयको शिक्षक रिक्त भएको हो‚ सो विषयको शिक्षक भएको अवस्थामा मात्र त्यसरी काम काजमा खटाउन सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.