|

काठमाडौँ : पृथ्वी राजमार्गसँगै जोडिएको धादिङको थाक्रे गाउँपालिका–१ ढाडेका दुई गाउँ यति वेला सयपत्रीमय बनेका छन्।

तिहारका लागि लामो समयदेखि निरन्तर फूलखेती गर्दै आएका देवीस्थान र कार्कीडाँडा गाउँका किसानले यो वर्ष पनि २५० रोपनी जग्गामा सयपत्री फुलाएका छन्। राजमार्गबाट सवारीसाधनमा २० देखि २५ मिनेटको समयमा पुग्न सकिने यी दुई गाउँका किसानले यो वर्षको तिहारमा फूल बेचेर प्रतिपरिवार दुई लाखसम्म आम्दानी गर्ने अपेक्षा गरेका छन्।

दुई गाउँका गरी करिब १५० घरपरिवारले यो वर्ष पनि फूलखेतीलाई निरन्तरता दिएका हुन्। शेरबहादुर थापाले आफूले २०६० सालदेखि फूलखेती गर्न थालेको सुनाउँदै त्यसपछि आफ्नो गाउँका सबैजना फूलखेतीतर्फ लागेको बताए।

उनले थपे, ‘हाम्रो यो ठाउँमा प्रायः सबैले फूल खेती गर्दै आएका छन्। मैले पनि २०६० सालदेखि फूलखेती गर्न थालेको हुँ। यो वर्ष फूलको मालाबाट तिहारमा मात्रै करिब १ लाख कमाइ हुने अनुमान गर्‍या छु।’

अरू खेती गर्नभन्दा फूलखेती गर्न निकै सजिलो हुने बताउँदै उनले भने,  ‘असारसाउनमा बजार डुलेर बस्ने समय एकछिन बिरुवा राख्ने र बिरुवा तयार भएपछि एक दिन दुःख गरे हुन्छ। भाउ पाए यसबाट राम्रो आम्दानी पनि हुन्छ।’

गाउँमा बाटो नहुँदा बजार बोकेर बेच्न लानुपर्ने भए पनि अहिले बाटो भएपछि गाउँमै व्यापारी पुगेर प्रतिस्पर्धी मूल्यमा फूल किन्ने गरेपछि विक्री गर्न पनि त्यति समस्या नहुने पुष्पव्यवसायीहरू बताउँछन्।

लामो समयदेखि फूलखेतीमै रमाएकी ठूलीकान्छी क्षेत्री पनि फूल बेचेर वार्षिक २ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछिन्।

६ वर्ष अघिदेखि फूलखेती गर्दै आएकी लक्ष्मी जोशी भन्छिन्‚ ‘कोदो, फापर, मकै रोप्दा खुम्रे किरा लाग्ने, बाँदर लाग्ने लगायत जंगली जनावरले विनाश गर्न थाल्यो अनि अलि अलि गरी फूलखेती गर्न थालियो। फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमै फूलखेती गर्न सुरु गर्‍यौँ।’

जोशीले यो वर्ष ४ रोपनी जग्गामा सयपत्री फुलाएकी छिन्। तिहारका वेला एक झुप्पो फूल ६ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म विक्री हुने गरेको उनले बताइन्। उनले थप स्पष्ट पार्दै भनिन्, ‘एक झुप्पोमा भएको फूलले कम्तीमा पाँचवटा माला बनाउन पुग्छ।’

कृषकहरूले फूलखेतीलाई थप विस्तार गर्न सरकारको सहयोगका अपेक्षा गरिरहेका छन्। उनीहरूले स्थानीय सरकारले विभिन्न प्रजातिका फूलका बीउ विजन र सिँचाइको व्यवस्था भए व्यवसाय विस्तार गर्न र अन्य कृषकलाई पनि आकर्षित गर्न सकिने बताएका छन्।

फूलखेतीको स्थलगत अनुगमनमै पुगेका वडाध्यक्ष श्यामसुन्दर थापाले आगामी वर्ष फूलको खेती गर्न चाहने कृषकलाई वडाबाटै बीउ दिइने प्रतिबद्धता व्यक्त गरे।

‘पालिका वा वडामा अहिले कृषि प्राविधिकको व्यवस्था भइसकेकाले अब कृषि प्राविधिकको सल्लाहअनुसार फूलको उत्पादन बढाउने योजना छ’‚ वडाध्यक्ष थापाले थपे, ‘अहिले सिँचाइको व्यवस्था नहुँदा यति राम्रो भएको छ, हामीले प्रदेश र केन्द्र सरकारलाई भनेर सिँचाइको व्यवस्था गर्न पहल गरिरहेका छौं।’

सिँचाइको व्यवस्था भएपछि अझ बढी उत्पादन लिन सक्ने अपेक्षा थाक्रेका किसानको छ। अहिले थाक्रेको दुई गाउँमा गरी २५० रोपनी जग्गामा सयपत्री रोप्दा ७० हजारभन्दा बढी माला बन्ने फूल उत्पादन भएको छ।

अहिले सडक गाउँसम्म पुगेपछि स्थानीय बजारमा मात्रै होइन‚ काठमाडौँ र पोखराको बजारसम्म थाक्रेका फूल पुगेका छन्। उत्पादन भएको सयपत्रीका फूल बेचेर थाक्रेका किसानले करिब ६० लाखदेखि १ करोड रुपैयाँसम्मको आम्दानी हुने अनुमान वडाध्यक्ष थापाले गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.