|

काठमाडौं : ५ दिनसम्म बनाइने तिहारको मुख्य दिन भाइटीकामा दिदीबहिनीले सप्तरङ्गी टीका लगाएपछि दाजुभाइलाई खुवाउन सेल‚ अर्सा‚ अनर्सा‚ पत्रेलगायतका विभिन्न प्रकारका रोटीका साथै बजारमा पाइने विभिन्न किसिमका मिठाई दिने प्रचलन छ।

तर घरमै बनाइएका विभिन्न प्रकारका रोटीहरु स्वास्थ्यको लागि लाभदायक भए पनि बजारमा पाइने मिठाईले भने स्वास्थ्यमा हानी पुर्‍याउन सक्छ। जसले गर्दा प्रेमपूर्वक दिदीबहिनीले दिने यस्ता खानेकुराले दाजुभाइको स्वास्थ्यमा हानी पुर्‍याउन सक्ने हुँदा सावधानी अपनाउनु पर्छ।

तिहारको बेलामा धेरै प्रयोग हुने गुलिया परिकारले शरीरमा हानी गरिरहेका हुन्छन्, जसले तिहारलगत्तै मधुमेह उच्च हुनुका साथै उच्च रक्तचाप भएका धेरै बिरामी अस्पताल दौडनुपर्ने हुनसक्छ। 

बजारमा पाइने मिठाईमा मिसाइने रसायन र रङले तत्काल झाडापखालालगायत (फुड प्वाइजन) हुन सक्छ भने स्वास्थ्यमा दीर्घकालीन असर गर्ने हुँदा बजारमा पाइने खानेकुरा तथा मिठाईहरु दाजुभाइलाई दिँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

यति मात्रै होइन विशेषगरी उच्च रक्तचाप तथा मधुमेहलगायतका दीर्घरोग भएकाहरुले मिठाई तथा चिल्ला रोटी खाँदा विशेष सावधानी अपनाउनु पर्छ।

आफ्नै घरमा बनाएको मिठाई तथा सेलरोटीलगायत खानेकुरा दिँदा स्वास्थ्यमा हानी हुने सम्भावना रहँदैन। घरमै ताजा ध्यु, तेलमा बनाइएको विभिन्न प्रकारका रोटी स्वादिष्ट हुनुका साथै शक्तिवर्द्धक पनि हुन्छन्।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई स्नेहपूर्वक दिने खानेकुरामा सकेसम्म मिठाई, चिल्ला रोटीभन्दा फलफूल, दही दिनु राम्रो हुन्छ। लामो समय प्लाष्टिकमा प्याक गरेर राखिएका बासी खानेकुराभन्दा आफ्ना दाजुभाइलाई सकेसम्म घरमै पकाएका ताजा र स्वस्थ खानेकुरा दिए स्वास्थ्य बिग्रिँदैन।

दाजुभाइलाई सकेसम्म मौसमअनुसारका विभिन्न प्रकारका फलफूल, दूध, दही दिनु राम्रो हुन्छ। यी खानेकुरा सजिलै पच्ने र स्वास्थ्यको दृष्टिकोणले पनि गुणकारी मानिन्छन्।

धेरैले दाजुभाइलाई सगुनस्वरुप बजारमा पाइने विभिन्न प्रकारका रेडिमेड पेय पदार्थ दिने पनि चलन छ। यसो गर्नुभन्दा घरमा नै कागतीको सर्बत बनाएर दिनु राम्रो हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.