|

तनहुँ  : म्याग्दे गाउँपालिका–कृषकलाई यतिवेला सयपत्री फूल टिप्ने चटारो छ। तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक फूल टिपेर माला बनाउने काममा व्यस्त छन्। 

म्याग्दे गाउँपालिका–५ का  सुशन पौडेल सयपत्री फूल बिक्रीका लागि बजारसम्म पुगेको जानकारी दिए। उनले यसै वर्ष म्याग्देखोला छेउमा व्यावसायिक रूपमा सयपत्री फूल खेती शुरु गरेका हुन्। 

यहाँ उत्पादित फूल दुलेगौडा, खैरेनीटार, जामुने, थर्पुलगायतका ठाउँमा फूल बिक्री हुने गरेको छ। ‘सयपत्रीको माला, फूल बिक्रीका लागि बजारसम्म पुगेका छौँ । स्थानीयस्तरमा उत्पादित फूल खरिद गरेर हौसला प्रदान गर्नेमा विश्वस्त छौँ।’

विदेशबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि आफूले यसै वर्षदेखि फूलखेतीमा आकर्षित भएको उनको भनाइ छ। उनले यो वर्ष चार हजार टीटी जातको फूल लगाएका थिए। तिहारअगावै फूल फुलेर ढकमक्क भएको थियो।

‘यो मेरो पहिलो अनुभव हो। दसैँ तिहारलगायतका चाडपर्वमा फूलको माग धेरै हुने र विदेशबाट ल्याउनुपर्ने अवस्था देखेपछि म फूलखेतीमा लागेको हुँ’, उनले भने, फूलखेतीले आफूलाई उत्साहित बनाएको बताउँदै उनले विदेश जानुको साटो स्वरोजगार बन्न सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको बताए।

फूलखेतीबाट सन्तुष्ट रहेको उनको भनाइ छ। ‘रोजगारी पाइएन भनेर विदेशिनुको साटो बरु फूलखेती गरे हुन्छ। यसमा सम्भावना छ।’ पौडेललाई फूलखेतीका लागि गाउँपालिकाले सहयोग गरेको छ। पुष्पखेती विकास कार्यक्रमअन्तर्गत पौडेललाई ५० हजार रुपैयाँ सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए।

‘गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन र युवालाई प्रोत्साहन गर्न पुष्पखेती विकास कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने, ‘यसले गर्दा युवालाई स्वरोजगार बन्न प्रेरित गर्छ।’ गाउँपालिकाका अन्य वडामा पनि फूलखेती गर्न चाहे सबैलाई सहयोग गर्ने उनले बताए। 

बन्दीपुर गाउँपालिका–५ स्थित थुम्कामा ५० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ। तामप्रसाद भट्ट, नेत्रप्रसाद लामिछाने, नारायण लामिछानेलगायत ६० जनाले सयपत्री फूलको खेती गरेका हुन्। फूल फुल्न थालेपछि एक बिरुवाबाट करिब दुई माला तयार हुने पुष्प व्यवसायी भट्टकोे भनाइ छ। एक बिरुवाबाट न्यूनतम रु ५० आम्दानी गर्न सकिने उनको भनाइ छ। 

उनले व्यावसायिक रूपमा फूल उत्पादन गरेर गत वर्ष रु एक लाख ५० हजार आम्दानी गरेका छन्। यो वर्ष पनि सोहीअनुसार आम्दानी हुने उनको प्रारम्भिक अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.