|

जाजरकोट :  जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ। स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ।

विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने  भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीनवटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकी भूकम्पले क्षति पुर्‍याएको छ। स्वास्थ्य संस्थाको क्षति अवस्था अनुगमन गर्ने काम भइरहेकोले यो सङ्ख्या केही बढ्ने जनाइएको छ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ। भवन क्षति भएकोमा अस्थायी रूपमा बाहिर त्रिपाल राखेर स्वास्थ्य सेवा दिन सुरु गरिएको निर्देशक खड्काले बताए।

भूकम्पपछि चिसो मौसम बढ्दै गएकोले बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक बढी प्रभावित हुने, पानीबाट लाग्न सक्ने रोगको प्रकोप, मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

दुई सय आठ विद्यालयमा क्षति

भूकम्पबाट २०८ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ। करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको जनाइएको छ। जाजरकोटमा १७३ र रुकुम पश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी ५८१ वटा र रुकुमपश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएको छ। मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा २०८ वटा पूर्ण र ४१८ वटा आंशिक तथा रुकुमपश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति पुगेको बताए  भूकम्पका कारण जाजरकोटमा २२ हजार ७५९ जना र रुकुम पश्चिममा १७ हजार ३५१ गरी कुल ४० हजार ११० जना विद्यार्थी प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अधिकृत सुनारका अनुसार २६९ वटा शौचालय पूर्ण र १९० वटा शौचालय आंशिक रूपमा क्षतिग्रस्त भएको छ। विद्यालयका सोलार सिस्टम, पुस्तकालयमा पनि क्षति भएको छ। भूकम्पबाट क्षति पुगेपछि ती जिल्लाका ४० हजार बढी विद्यार्थीलाई विद्यार्थी किट वितरण गर्ने, ४५० वटा अस्थायी शौचालय तयार गर्ने, १० हजार सेट पाठ्यपुस्तक उपलब्ध गराउने, ६ सय बालविकास किट उपलव्ध गराउने, ३५० विद्यालयलाई विद्यालय किट उपलव्ध गराउने, क्षतिग्रस्त ठाउँमा छ सय वटा अस्थायी सिकाइ केन्द्र निर्माण गर्न आवश्यक रहेको उनले जनाए।

मनोविमर्शकर्ता परिचालन

भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिममा गरी ३३ जना मनोविमर्शकर्ता परिचालन गरिएको छ।

मन्त्रालयको सामाजिक विकास शाखाका अनुसार जाजरकोटमा २१ जना र रुकुमपश्चिममा १३ जना मनोविमर्शकर्ता परिचालन गरिएको हो। शाखाका यशोधा शर्माले ५० वटा बाल शुलभ केन्द्र स्थापना लक्ष्यमा अहिलेसम्म १३ वटा बाल सुलभ केन्द्र निर्माण गरिएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.