|

काठमाडौँ : श्रमिक संघ, संगठनले जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।

नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी), एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)लगायतका सरोकारवाला संघ, संगठनले जलवायु परिवर्तनका लागि श्रमिक सबैभन्दा धेरै मारमा पर्दा पनि उनीहरूको समस्या समाधानका निम्ति छलफलमा समेत सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाएका हुन्।

शनिवार ललितपुरमा आयोजित सरोकारवालाहरूसँगको छलफलमा बोल्दै सत्तारुढ काँग्रेस निकट एनटियुसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनले ल्याउने विपद् न्यूनीकरणका लागि श्रमिकहरूको एजेण्डा अघि बढाउन सरकारसँग घनीभूत छलफल गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तनको मारमा परेका श्रमिकहरूको एजेण्डा अघि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै आक्रोश व्यक्त गरे।

अध्यक्ष कुँवरले भने, ‘हामी कोप २८ मा आफ्ना एजेण्डा तय गर्न सरकारलाई दबाब दिने कि नदिने ? श्रमिकका एजेण्डालाई सरकारको एजेण्डा बनाउन किन कोसिस नगर्ने ? यो कोणबाट पनि हेर्नु पर्‍यो। हामीले खाली कार्यक्रमका लागि कार्यक्रम मात्रै हेरेर भएन।’

एमाले निकट जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सरकारले आफूहरूलाई जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी समेत नगराइएको भन्दै आपत्ति जनाए। उनले जलवायु परिवर्तनको अवसर न्यूनीकरणका लागि जनताको घरदैलोमा चेतना फैलाउने काम पनि श्रमिक संघ, संगठनले नै गर्नुपर्ने अवस्था आएको बताए।

अध्यक्ष श्रेष्ठले भने, ‘अहिलेसम्म बनेका जुनसुकैको सरकार भए पनि श्रम एजेण्डालाई बोक्न सकेको छैन भन्ने हाम्रो मान्यता हो। हामीले श्रम मन्त्रालय, वन मन्त्रालयमार्फत प्रयत्न गर्‍यौँ। सरकार धेरै निकायलाई घचघच्यायौं। तैपनि माग पेस गर्दा एकदम उत्साहित बनाउने काम गर्छन्। व्यवहारमा केही पनि हुँदैन। जलवायु परिवर्तनको एजेण्डा, श्रमिकहरूको एजेण्डालाई अव हामीले जनताको तहमा पुर्‍याउन चाहन्छौँ।’

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिंखडाले जलवायु परिवर्तनबारे श्रमिकको एजेण्डा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा स्थापित गराउनका लागि सरकारसँग छलफल गर्नुपर्ने बताए।

उनले सरकार श्रमिक र रोजगारदाताबीच घनीभूत छलफल भएर मात्रै जलवायु परिवर्तनले श्रमिकहरूमा आएको समस्या समाधान गरेर अघि बढ्न सकिने पनि बताउनु भए।

अध्यक्ष सिंखडाले विपद्ले सबैलाई समस्यामा पार्ने भएकाले मिलेर ती समस्या समाधानका लागि अघि बढ्नुपर्ने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.