|

काठमाडौँ : नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता विकास कार्यक्रमले उद्यमशीलता बढाएको सरोकारवालाले बताएका छन्। सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयमार्फत उक्त कार्यक्रम देशभर सञ्चालन गरिएको छ। दुई वर्षको अवधिमा ३३५ जना विद्यार्थी यो कार्यक्रममा सहभागी भएको नबिल बैंकले जनाएको छ। तीमध्येबाट ५२ वटा उद्यम शुरु हुँदा ८६९ जनाले रोजगारी पाएका छन्।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमका कारण सामाजिक वित्त प्रवर्धनमा बैंकको भूमिका थप बढेको बताए। ‘बैंकले सुरु गरेको यो पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवर्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौँ’, पौड्यालले भने।

उनले जनताको जीवनस्तरमा सुधार ल्याउन बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए। उनले यस कार्यक्रममा सहभागी बैंकका कर्मचारी, विज्ञ, साझेदार र विद्यालय प्रतिनिधिलाई धन्यवाद दिए।

नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच र सामाजिक उद्यम सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन्। नबिल एसएसई कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन्।

यो कार्यक्रममा सहभागीले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन् भने उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन्।

यसै कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकप जित्न सफल भएका छन्। यमबहादुर कार्की, दिव्या महर्जन लगायतले पनि उदाहरणीय काम गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.