पुस्तक छाप्न ३ अर्बभन्दा बढी रकम हस्तान्तरण

|

काठमाडौं : सरकारले आगामी नयाँ शैक्षिक सत्र २०८१ मा पनि देशभर समयमै पाठ्यपुस्तक पुर्‍याउन अहिलेदेखि नै तयारी थालेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शैक्षिक सत्र आउन अझै ५ महिना बाँकी भए पनि समयमा सम्बन्धित ठाउँमा पुस्तक पुर्‍याउन काम थालेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक सविता दङ्गाल (गौतम)का अनुसार सरकारी स्वामित्वमा भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ०८१ को लागि ८१ लाख थान पाठ्यपुस्तक छापिसकेको जानकारी विकास केन्द्रलाई दिएको छ।

तर यता निजी छपाइको हकमा भने शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय कुरिरहेको छ। ‘जनक शिक्षाले नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक छाप्दै आएको छ, निजी छापाखानाबाट भने छाप्न सुरु भएको छैन,’ उनले भनिन्।

शिक्षा मन्त्रालयको निर्णयअनुसार यसअघि निजी छापाखानाले कक्षा १ देखि ५ सम्मको नयाँ पाठ्यपुस्तक छापेको थियो। जनक शिक्षाले भने कक्षा ६ देखि १२ कक्षासम्मको छाप्दै आएको थियो।

‘अब यसपालि निजीलाई कति कक्षासम्मको छाप्ने दिने भन्ने निर्णय मन्त्रालयबाट केही आएको छैन, अब निर्णय आएपछि त्यहाँ पनि छाप्न सुरु हुन्छ,’ उनले भनिन्। 

नयाँ पुस्तक छपाइका लागि ३ अर्बभन्दा बढी बजेट हस्तान्तरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ को नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद र छपाइ गर्न केही समयअघि नै ३ अर्ब ५७ करोड ९८ लाख ९० हजार विनियोजन गरी सबै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।

पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक गौतमले भनिन्, ‘बजेट अभावले पुस्तक छपाइ, खरिदमा समस्या नहोस् भनेर बजेट पनि स्थानीय तहलाई समयमै पठाइसकेका छौँ, अब निरन्तर छपाइको काम हुन्छ।’

वर्षेनि नयाँ शैक्षिक सत्रका लागि २ करोड थानभन्दा बढी नयाँ पुस्तक छापिँदै आएको छ। २०८० सालको शैक्षिक सत्रको लागि २ करोड १२ लाख नयाँ पुस्तक छापिएको थियो। 

यस वर्ष समयमा पुग्यो पुस्तक

वर्षेनि नयाँ शैक्षिक सत्र सुरु भएको ४/५ महिनासम्म पनि सम्बन्धित ठाउँमा नयाँ पाठ्यपुस्तक नपुग्ने समस्या रहँदै आएको थियो। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार यो समस्या विगत १४ वर्षदेखि रहँदै आएको हो।

उनले विगत १४ वर्षदेखि ढुवानीमा कमिसन नमिल्दा, सरकारले चासो नदिँदा समयमा पुस्तक नपुग्ने समस्या रहेको बताएका थिए।

तर यस वर्ष अर्थात् २०८० को नयाँ शैक्षिक सत्रमा भने समयमा सम्बन्धित ठाउँमा पाठ्यपुस्तक पुगेको छ। पुस्तक अभाव भन्ने गुनासो सुनिएन र सञ्चारमाध्यमबाट पनि त्यस्ता खबर सम्प्रेषण भएको देखिँदैन। 

वैशाख ११ गते नै जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले यस वर्ष समयमै ७७ वटै जिल्लाका सम्बन्धित ठाउँमा पुस्तक पुगेको बताएका थिए। पुस्तक छपाइ, वितरण लगायतमा राम्रो व्यवस्थापन भएका कारण यस वर्ष समयमा पुस्तक पुगेको उनको दाबी छ।

उनले भनेका छन्, ‘समयमा चालू पुँजी व्यवस्थापन गर्न सक्यौँ, कागज आपूर्ति सहज भयो, छपाइ सामग्री समयमा जुटाउन सकियो, अहिले ३ वटा रंगिन छपाइ मेसिन थप गर्‍याौँ, राम्रो जनशक्ति व्यवस्थापन गर्‍याौँ, यही कारण समयमा पुस्तक पुग्यो, अबदेखि पुस्तक नपुग्ने समस्या कहिलै दोहोरिँदैन।’

२०८१ मा पनि चैत मसान्तभित्र देशभर पुस्तक पुर्‍याउने  योजना

सरकारले यस वर्षजस्तै आगामी नयाँ शैक्षिक सत्रमा पनि समयमै पुस्तक पुर्‍याउने योजना बनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक गौतमले समयमा पुस्तक छापेर पनि आगामी फागुन मसान्तमा विकट जिल्लामा पुस्तक पुर्‍याइने जानकारी दिइन्।

‘देशभर चैत मसान्तभित्र पुस्तक पुर्‍याउने हाम्रो कार्य योजना छ,’ उनले भनिन्। यहाँ पुस्तक छापेपछि जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाइनेछ।

यस्तै, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइने र त्यहाँबाट वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.