|

बुटवल : नेपाली काँग्रेसका अधिकांश नेताले आगामी निर्वाचन एक्लै लड्नुपर्ने माग गरेका छन्।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनका क्रममा आज नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाले यस्तो माग गरेका हुन्।

महामन्त्री थापाले नेपाली काँग्रेसभित्र इमानदार र कर्तव्यनिष्ठ धेरै व्यक्ति रहे पनि दलले त्यो पुँजी प्रयोग गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे। थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताए।

महामन्त्री शर्माले पार्टीलाई उत्पादनमा लगाउनुपर्ने नेताका हरेक पक्षमा साथ दिन जनसंगठन र पार्टीलाई क्रियाशील बनाउन आग्रह गरे। उनले संकल्पका साथ उत्साही भई अघि बढ्न आग्रह गरे।

महामन्त्री थापाले निर्वाचनमा समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा इमानदार नेता पछाडि परेको बताए। उनले प्रदेश संरचना खर्चिएको भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।​

यसैगरी शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सतर्क हुनुपर्ने बताएका छन्। उनले हिजोको अवस्थामा देशको विकासका लागि राजसंस्थाले गरेका काम र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गर्नुपर्ने जिम्मेवारी आएको बताए।

साथै उनले अहिले पुराना र नयाँ दलहरूले ‘मिशन २०८४’ का नाममा गरेको कार्यक्रम नेपाली काँग्रेसका लागि जरुरी नभएको बताए।

पार्टीका अर्का नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली काँग्रेस वडादेखि आमचुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताए। उनले यसका लागि अहिलेबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह पनि गरे। उनले काँग्रेस एक ढिक्का भए कसैको सहारा लिनु नपर्ने पनि बताए। नेता कोइरालाले काँग्रेस परिवर्तन भए मात्र देश परिवर्तन हुने बताउँदै काँग्रेस परिवर्तन हुन नेताहरूले त्याग गर्न सक्नुपर्नेमा जोड दिए।

मुलुकमा भ्रष्टाचार र दण्डहीनता बढेको भन्दै नेता कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म काँग्रेसले विश्राम लिन नहुने बताए। उनले कृषि उत्पादन बढाउन सके मात्रै रोजगारी सृजना हुने र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै युवा पलायन रोकेर स्वदेशमै कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए।

पार्टी केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले पार्टी बनाउन युवाको साथ लिनुपर्ने बताए। उनले गुटबन्दीका कारण संगठन वा देश नबन्ने बताउँदै गुटको पछि भन्दा पनि संगठन वा देशका लागि काम गर्न नेतृत्वलाई आग्रह गरे।

सम्मेलनमा प्रदेशका ७५० भन्दा बढी प्रतिनिधि सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.