|

सल्यान : सल्यानको दार्माका भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि विभिन्न राजनीतिक दलले स्वयंसेवक परिचालन गरेका छन्।

जिल्लामा क्रियाशील राजनीतिक दलहरू पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउने र अस्थायी घरटहरा निर्माणमा जुटेका हुन्।

भग्नावशेष हटाउने, शौचालय बनाउने, खुला आकाशमुनि बसेकाहरूका लागि अस्थायी टहरा बनाउन जुटेको नेकपा माओवादी केन्द्र दार्मा गाउँकमिटी अध्यक्ष दुर्गा मल्लले जानकारी दिए।

गाउँपालिकाबाट मात्र भूकम्प प्रभावित क्षेत्रमा ३ सय स्वयंसेवक परिचालन गरिएको उनले बताए। उनले भने, ‘भूकम्पबाट बढी प्रभावित क्षेत्रलाई दृष्टिगत गरी पहिलो चरणमा ३ सय स्वयंसेवक परिचालन गरिएको छ।’

नेपाली काँग्रेस दार्माले पनि पहिलो चरणमा २२ जना स्वयंसेवक परिचालन गर्ने भएको छ। वडा नं. ५ को आला र तल्लो बछेलामा गएर भग्नावशेष हटाउने र अस्थायी टहरा बनाउने नेपाली काँग्रेसका रमेश केसीले बताए। उनले भने, ‘पहिलो चरणमा दुईवटा टोलको जिम्मा लगेका छौँ। जनशक्ति बढ्नेबित्तिकै अरू टोल पनि थप्दै जान्छौँ।’

यसैगरी नेपाल कम्युनिस्ट पार्टीले ४० जना स्वयंसेवक परिचालन गरेको छ। आफ्नो पार्टीले पनि दुईवटा टोलको जिम्मा लगेको नेकपाका जिल्ला सेक्रेटरी मदन सीले बताए।

भूकम्पप्रभावित क्षेत्रमा माओवादी केन्द्र सल्यानले अन्य पालिकाबाट थप दुई स्वयंसेवक परिचालन गर्ने भएको छ। परिचालित स्वयंसेवकले एक हप्ता प्रभावित क्षेत्रमा काम गर्ने उनले बताए।

गत कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पबाट दार्मा गाउँपालिकामा १ हजार २७९ घरमा क्षति पुगेको थियो। दुई महिनामा १ हजार अस्थायी घरटहरा र ६ सय शौचालय निर्माण गरिसक्ने लक्ष्य लिइएको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.