|

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो।

जिल्ला अदालत काठमाडौंले पटक-पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको छ।

गत कात्तिक २३ गते सुनुवाइ गर्दै सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइसकेका छन्। सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएकोमा पटक-पटक सर्दै आएको पेसी आजका लागि पुनः तोकिएको हो।

सन्दीपले बलात्कार गरेको भन्दै २०७९ भदौ २१ मा बालिकाले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया थालेको थियो।

त्यति वेला सन्दीप राष्ट्रिय क्रिकेट टोलीका कप्तान थिए।  अनुसन्धान प्रक्रिया शुरू भएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बन गरेको थियो।

गत कात्तिक १८ मा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर, उच्च अदालत, पाटनले त्यसलाई उल्टाएको थियो। उच्च अदालतले केही शर्त राखेर २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसमा विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्दा प्रहरीलाई खबर गर्नुपर्नेलगायत सर्त थिए।

उनलाई रिहा गर्ने आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालय र शर्त विरुद्ध सन्दीप सर्वोच्च पुगेका थिए। त्यसपछि गत फागुन १५ मा उच्चको आदेश सदर गर्दै विदेश जान अनुमति दिने आदेश गरेको थियो।

त्यसका आधारमा उनी राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न आवतजावत गरिरहेका छन्। यसअघि उनी क्रिकेट खेल्न विदेशमा रहेका कारण सुनुवाइ प्रक्रिया पनि रोकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.