|

काठमाडौं : इजरायलले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रमा गरेको भीषण आक्रमणमा ३ सय बढीको मृत्यु भएको छ। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमासबीच एक अर्कालाई धम्की दिने शिलशिला बढ्दा इजरायली सेनाले गाजामा भारी मात्रामा बम वर्षा गरेको हो। 
लगभग ध्वस्त भइसकेको उत्तरी गाजामा इजरायली सेनाले पुनः ठूलो मात्रामा बम वर्षा गरेको अल जजिराले उल्लेख गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको मृत्यु भएको पुष्टि भएको र साढे ५ सय बढी घाइते भएको बताएका छन्। 

दुई महिनादेखि जारी गाजा–इजरायल लडाईँमा हालसम्म १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। जसमध्ये अधिकांश बालबालिका र महिला छन्।  यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले इजरायल–गाजा युद्ध अन्त्यको निर्णय अमेरिकाले गर्न नसक्ने प्रष्टीकरण दिएका छन्। 

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा गाजामा युद्धविरामका लागि गरिएको प्रस्तावविरुद्ध भिटो प्रयोग गरेपछि अमेरिकाको आलोचना भइरहेको छ। अरब देशहरुबाट बढेको आलोचनाका बीच विदेशमन्त्री ब्लिंकनको यस्तो प्रष्टीकरण आएको हो। 

ब्लिंकनले अमेरिकाले तेल अभिवलाई सल्लाह मात्रै दिन सक्ने भन्दै लडाईँको विषय उनीहरुमा निहित रहेको प्रष्टोक्ति दिएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.